साविक विजेता संकटा पहिलो खेलमै पराजित, आर्मी सेमिफाइनलमा

हिमाल प्रेस १४ माघ २०८० १७:२५
26
SHARES
साविक विजेता संकटा पहिलो खेलमै पराजित, आर्मी सेमिफाइनलमा

पोखरा- साविक विजेता संकटा क्लबमाथि सनसनी जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। स्टार खेलाडीले भरिएको संकटा अन्ततः पहिलो खेलमै हार व्यहोर्दै घर फर्किन बाध्य भयो।

पहिलो हाफ सकिनै लाग्दा अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्दै संकटाको चुनौती ३–० ले पन्छाएको हो। २०६० सालदेखि हालसम्म १५ पटकसम्म आहारारा खेल्न आएको आर्मी ४ पटकसम्म फाइनल पुगेर पनि उपाधि चुम्न वञ्चित छ।

पोखरा रंगशालामा आइतबार दोस्रो क्वाटरफाइनलमा विभागीय टोलीको जितमा मिडफिल्डर दिनेश हेन्जनले दुई तथा फरवार्ड जिलेस्पीजंग कार्कीले एक गोल गरे।

पहिलो हाफ सकिन केही सकेन्ड बाँकी छँदा जिलेस्पीको गोलमा आर्मीले अग्रता लिएको हो। दायाँ साइडबाट कप्तान भरत खवासको क्रसमा उनले सहजै हेडमार्फत विपक्षीको गोलपोस्टको जाली चुमाए।

आर्मीले दोस्रो हाफको तीन मिनेटमै पेनाल्टीमार्फत गोलअन्तर दोब्बर पार्‍यो। दिनेशको प्रहार क्लियर गर्ने क्रममा विपक्षी रक्षक कुलदीप कार्कीको ह्याण्ड भएको थियो। ७४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनले थप गोल गर्दै जित सुनिश्चित गरे।

खेलमा फर्किन कोशिस गरेको संकटाले केही राम्रा अवसर खेर फालेको थियो। आर्मीका कप्तान भरत बाधक बन्दा संकटाले दोस्रो हाफमा गोलअन्तर कम गर्ने अवसर गुमायो। निर्धारित समय सकिनै लाग्दा आयुष घलानको प्रहार आर्मीका कीपर समित श्रेष्ठले सहजै बताए।

उता, आर्मीका लागि ५८ औं मिनेटमा दिनेशको प्रहार संकटाका रक्षक विशाल बस्नेतले ब्लक गरिदिए। ६४ औं मिनेटमा दिनेशको प्रहार क्रसबारमा ठोक्किन पुग्यो।

जितसँगै आर्मीले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सोमबार तेस्रो क्वार्टरफाइनल खेल जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

यसअघि, थ्रि स्टार क्लब अन्तिम चारमा पुगिसकेको छ। उसले आइतबार भुटानी टिम पारोलाई २–० गोलअन्तरले हराएको हो। १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २० माघमा हुनेछ। विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन्।

प्रकाशित: १४ माघ २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =