पुस्तक चर्चा

कवितामार्फत निर्भीकले कोरेको समय

विवेक विवश रेग्मी १३ माघ २०८० १४:४०
124
SHARES
कवितामार्फत निर्भीकले कोरेको समय

इटहरी- कवि निर्भीकजंग रायमाझीको पहिलो कवितासंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ बजारमा आएको एक महिना हुन लाग्यो। ७० को दशकदेखि साहित्यकर्ममा क्रियाशील निर्भीकको कवितासंग्रहमा ५० वटा कविता समावेश छन्।

कविताहरू ‘मनको आँखीझ्याल,’ ‘देश-देशाटन,’ ‘सपना देख्छ जिन्दगी,’ ‘अन्तै कतै हिँडेको थिएँ’ र ‘किस्ता किस्तामा स्मृति’ शीर्षकका पाँच खण्डमा संगृहीत छन्। विषयगत रूपमा यी कविता प्रेम, देशभक्ति, पर्यावरण र जीवनजस्ता आयममा समेटिएका छन्।

हठात् आइपुग्छ
जब प्रत्येक वर्षको बर्खा
जुरेलीलाई गुँडको सम्झना आउँछ
जसरी बुढेसकाललाई बालखकालको सम्झना आउँछ
मृत्यु शय्यामा मान्छेलाई जीवनको सम्झना आउँछ । (चटारो)

‘मनको आँखीझ्याल’ खण्डको ‘चटारो’ शीर्षकको कवितामा कविले प्रेम, जीवन र मृत्युबारे चित्रण गरेका छन्। उक्त कविताले मानिसको जीवनमा मात्रै नभई पर्यावरणमा हुर्किरहेका पक्षीलाई पनि चटारो भइरहेको कुरा उधृत गरेको छ। मृत्युशय्यामा पुगेपछि जीवनको सम्झना आउने कुरा मिहीन ढंगले चित्रण गरिएको छ। ‘चटारो’ प्रसिद्व कवि तथा गीतकार श्रवण मुकारुङलाई पनि असाध्यै मन परेको रहेछ। शुभकामना सन्देशमा मुकारुङले लेखेका छन्, ‘राम्रो कविताको शक्ति यही हो। ‘चटारो’ कवितालाई मैले विश्वविख्यात चिनियाँ कवि जिया माजिदीका छोटा कवितासँग तुलना गर्दै आफ्नो पुस्तक ‘क्वारेन्टाइन कविता’मा प्रेमपूर्वक समेटेको छु।’

निर्भीक एक वर्षयता बेलायतमा बस्छन्। त्यसअघि पत्रकारिता पेसामा आबद्ध उनले यसअघि विभिन्न पत्रपत्रिका, डिजिटल माध्यममा प्रकाशित कवितासमेतलाई संगृहीत गरी कविताको पुस्तक बजारमा ल्याएका हुन्। साहित्य कर्मसँगै पत्रकारिता पेसाले पनि कविता क्षेत्रमा स्थापित हुन सहज भएको उनको बुझाइ छ। पत्रकारिताका क्रममा कला, साहित्य, सिनेमाका विषयमा लेख्न सक्ने क्षमता भएका उनले साहित्यका शिखर व्यक्तित्वहरूको संगत, प्रेरणा र हौसलाले कविता लेखनमा निरन्तरता भएको सुनाउँछन्।

उफ् ! पतकर उडाउन सक्ने बतास
धूलो उडाउन सक्ने बतास
हुन्डरी जगाएर घर भत्काउन सक्ने बतास,
सक्छस् ! उडाएर लगिदे मेरा वियोगका स्मृतिहरू
ता कि स्मृतिबाट भाग्न मैले
बेहोसीमा बिताउन नपरोस्
प्रत्येक निर्दोष साँझ ! (बेहोसीका साँझहरू)

उनले प्रेमलाई सुन्दर ढंगबाट चित्रण गरेका छन्। थुप्रै प्रेम कविताहरू समेटेका उनको संग्रहमा नरम र सरल कविता समावेश छन्। पाठकले सहजै बुझ्ने कविता भएका कारण पनि उनको संग्रह वजनदार बनेको छ। भद्दा र पट्यारलाग्दा शब्द नरहेको, आवेगमा नलेखिएको, गुनासो र कुण्ठा नभएकाले पनि निर्भीकका कविताको वजन छ।

सुप्रसिद्ध कवि तुलसी दिवसले निर्भीकका कविताबारे भनेका छन्, ‘निर्भीकले कवितामा उठाएको विषय हामीले नसोचेको ज्यादा छ। अरूले सोचेको जस्तो, अरूले खोजेको जस्तो, अरूले चाहेजस्तो भन्दा आफूले सोचेजस्तो, अनुभूत गरेको कुरा लेख्ने कविको म मुक्तकण्ठले प्रशंसा गर्छु।’ यसबाट पनि स्पष्ट हुन्छ, निर्भीक विविध विषयलाई कवितामा उन्न सक्ने क्षमता भएका स्रष्टा हुन्।

निर्भीक कविताप्रति जिम्मेवार र गम्भीर छन्। भेटघाटका क्रममा निर्भीक भन्थे, ‘काठमाडौँमा आफूले पत्रपत्रिकामा पढ्दै आएका अधिकांश लेखक, साहित्यकार भेट्दा अनि नाटक, सिनेमा, चित्रकला सहजै हेर्न पाउँदा सुरुसुरुका दिनमा दंग परियो। एक्लै कोठामा रातभरि मन परेका संसारभरिका गीत सुनेर कल्पनामा हराउन पाउँदा स्वतन्त्रताको अनुभूत गरियो। नितान्त एक्लोपन अनुभव गर्न पाइयो। कविता लेखन र पठनले हारलाई पनि जीवनको एउटा पाटो मानेर सजिलै स्वीकार गर्ने बानी पर्‍यो। जीवनलाई घरी इन्द्रेणी त घरी अँधरो रात मान्दै, नयाँनयाँ दृष्टिले हेर्दै जीवनको सत्वलाई सम्मान गर्न सिकियो। पत्रकारिता, लेखन, अनुवाद आदि कर्मले स्रष्टाहरूको संगत गर्न पाएँ।’

माथितिर-धारिला पिरामिडजस्ता हिमशृंखला छन्
माझमा-ढाका टोपीझैँ अग्लिएका पहाड, देउराली छन्
अलि तल-आमाको काखजस्ता न्याना फाँटहरू छन्
जतनले कोर सिमानाका रेखा
तीखो कलमको एकै घोचाइले पनि दुख्छ देशको छाती। (नक्सा बनाउने हात)

उनले देशको चित्रबारे ‘नक्सा बनाउने हात’ कवितामार्फत आफ्नो देशप्रेम व्यक्त गरेका छन्। देशबारेको कविता पढ्दा वर्तमान अवस्थाबारे पनि चित्रण गरेको पाइन्छ। निर्भीक आफ्नो कविता लेखनको थोरबहुत प्रेरणा हरिभक्त कटवालबाट पाएको सुनाउँछन्।

निर्भीकले एक लेखमा लेखेका छन्, ‘यो त्यही स्कुल हो, जहाँ म सानो छँदा पनि गइरहन्थेँ। खुसी लाग्यो गाउँको यो स्कुलमा पुस्तकालय बनेछ। भवन नयाँ बनेछ। कालोपाटीको ठाउँमा ‘ह्वाइट बोर्ड’ झुण्डिएछ। त्यही पुस्तकालयमा मैले हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ भेट्टाएँ। ढुंगा खोज्दा देउता मिलेको भन्ने उखान चरितार्थ भयो। कृति त्यहीँ बसेर सरसर्ती पढेँ। पुस्तक यति मन पर्‍यो कि फिर्ता गर्न मनले मानेन। झोलामा राखेर बनेपा फर्किएँ। कटुवालका कविताहरू पढेसँगै मैले जीवनमा जे खोजेको थिएँ त्यसलाई कसै न कसैले सम्बोधन गरेको रहेछ भन्ने महसुस भयो। मलाई लाग्यो, कटुवालको रगतभरि नेपाली भाषा छ। उनी एकै हरफले, एकै लाइनले करोडौँ नेपालीको मन छुन सक्छन्।’

मर्छु कि जस्तो लाग्नेछ जुन दिन
जीवन सुरु हुनेछ खासमा त्यही दिन । (मर्छु कि जस्तो लागेको दिन)

‘सपना देख्छ जिन्दगी’ खण्डमा समावेश गरिएको उक्त कविताले जीवन र मृत्युबारे चित्रण गरेको छ। यो खण्डमा छोटा कविताहरू छन्। प्रत्येक खण्डमा एक-एक चित्र समावेश गरिएको छ। चित्रले पनि कविताबारेको चित्रण गरेको छ। उनले वर्णका आधारमा गरिने विभेदबारे पनि कविता लेखेका छन्।

जीवनको अस्तित्व थेगेर पनि हावाले
कहिल्यै खोजेन रङको पहिचान
प्यासले पनि कहिल्यै खोजेन पानीमा रङ
न भोकले खोज्यो आहारमा रङ
यता रङलाई नै आधार बनाएर
मानिसलाई वर्णले छुट्याइयो
कालो र सेतो भेद गरी
जीवनलाई सधैँ खण्डित गरियो । (रङको विरुद्धमा)

समग्रमा निर्भीकका कविताहरूले समाजमा सन्देश दिन्छ। जीवनबारे, मृत्युबारे, विभेदबारे, पर्यावरणबारे र देशबारे लेखिएका कविताहरूले निर्भीकलाई कविता लेखनमा नयाँ उचाइमा पुर्‍याउने आशा गर्न सकिन्छ। उनी बेलायत गएको केही समयपछि भन्थे, ‘मैले सधैँका लागि देश छाडेको होइन। म केही वर्षमै आउँछु र पुस्तक प्रकाशित गर्छु।’

निर्भीकले भनेजस्तै उनी विदेश गएको एक वर्षमै नेपाल आएर कविता प्रकाशन गरे। यसले नयाँ पुस्तालाई प्रेरणा पनि मिलेको छ । संग्रह पढ्दै जाँदा उनले कतै हतरोमा प्रकाशित गरेका हुन् कि भन्ने आभास हुन्छ। हुन त एउटा कविताको शक्ति अनन्त हुन्छ, जतिपटक पढे पनि प्यास मेटिँदैन। निर्भीकका कविता यसअघि पत्रपत्रिकामा पढेका कारण औसत लागेको नहुन सक्छ। जे होस्, संग्रह प्रकाशित गर्ने हिम्मत गर्ने उनलाई कविता लेखनका निम्ति अनन्त शुभकामना …।

पुस्तक : त्यसरी त कहिल्यै सोचिएन
लेखक : निर्भीकजंग रायमाझी
कविता संख्या : ५० थान
मूल्य : ३७५
प्रकाशक : कलम प्रकाशन


प्रतिक्रिया

One thought on “कवितामार्फत निर्भीकले कोरेको समय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =