सहरमा आज

मण्डलामा ‘द जू स्टोरी’ र ‘मासिन्या’, ओजसमा ‘समय पीडा’

सुस्मिता बजगाईं १३ माघ २०८० ६:५३
176
SHARES
मण्डलामा ‘द जू स्टोरी’ र ‘मासिन्या’, ओजसमा ‘समय पीडा’

काठमाडौँ- प्रत्येक साताजस्तै आज पनि हामीले उपत्यकामा भइरहेका मञ्चनरत नाटक, प्रदर्शनरत नेपाली तथा विदेशी फिल्म, जारी चित्रकला प्रदर्शनी, पुस्तक विमोचनलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि संकलन गरेका छौँ।

काठमाडौंका थिएटरहरूमा तीन फरक विषयमा आधारित नाटक मञ्चन भइरहेको छ। मण्डला थिएटरमा ‘मासिन्या’ र ‘द जू स्टोरी’। त्यस्तै ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा ‘समय पीडा’।

कुन नाटक कस्तो छ त?

मण्डलामा ‘द जू स्टोरी’

थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि नाटक ‘द जू स्टोरी’ मञ्चन भइरहेको छ। अमेरिकी नाटककार एडवर्ड अल्बीको लेखन रहेको नाटकलाई द वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो। नाटक सजग रानाले निर्देशन गरेका छन्।

नाटकमा एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित र लैंगिक पहिचान बुझ्न नसकेका समुदायको कथा प्रस्तुत गरिएको छ। नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गरेका छन्। नाटक माघ २८ गतेसम्म मञ्चन हुनेछ।

सोमबारबाहेक साताको प्रत्येक दिन अपराह्न ४ बजे मञ्चन भइरहेको नाटक आज शनिबार भने दिउँसो साढे १२ बजे र ४ बजे गरी दुई शो हुनेछ।

‘मासिन्या’

मण्डलामै अर्को नाटक ‘मासिन्या’ पनि मञ्चन भइरहेको छ। नाटकमा तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई मुख्य विषय बनाइएको छ।

नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटक माघ ११ देखि माघ २८ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारहरूको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको अतिरिक्त शो हुनेछ।

ओजसमा ‘समय पीडा’

रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा माघ १० गतेदेखि नाटक ‘समय पीडा’ मञ्चन भइरहेको छ। रोजगारी लागि बिदेसिएका नेपालीहरू नफर्केपछि सन्तान भएर पनि बुढेसकालमा सहाराविहीन भएका वृद्ध बाआमाको दैनिकी र पीडालाई नाटकमार्फत् देखाउन खोजिएको छ।

नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो। यो कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश छ। नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन्। नाटक माघ २२ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा कलाकार विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल (डाक्टर) को अभिनय छ। साताको प्रत्येक दिन ओजसमा मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो साढे १ बजे मञ्चन हुनेछ।

भृकुटीमण्डपमा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा ‘छैटौँ नेपाल एग्रिटेक’ नामक कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ। माघ १२ देखि सुरु भएको प्रदर्शनी माघ १४ गते अर्थात् भोलिसम्म चल्नेछ। कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले राखिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल छन्।

प्रदर्शनीमा कृषिका विभिन्न विधा जस्तै- कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारेमा जानकारी पनि लिन सकिनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ। मिडिया स्पेस सोलुसन प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड प्रा.लि तथा ईटीएसआईपीएलको संयुक्त आयोजना गरेको हो।

‘नदीको राजमार्ग’ लोकार्पण

कालिकास्थानस्थित सर्वनाम थिएटरमा लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ लोकार्पण हुँदैछ। कृतिका लेखक दीपक समीप हुन्। कार्यक्रम दिउँसो २ बजे हुनेछ। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

रवि मिश्रको एकल चित्रकला प्रदर्शनी

माघ ४ गतेदेखि नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपिक्सन’ नामक कार्टुनचित्र प्रदर्शन भइरहेको छ। कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शन गरेका हुन्। मिश्रको यो पहिलो एकल प्रदर्शनी हो। प्रदर्शनी १४ गते अर्थात् भोलिसम्म चल्नेछ।

मिश्रले १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरुमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका छन्। प्रदर्शनीमा पछिल्लो पाँच वर्षमा पत्रपत्रिकामा प्रकाशित भएका र नभएका गरी ३५ कार्टुन राखिएको छ। आफूले देखेको नेपाली समाजको चित्रलाई पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेका मिश्रले प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोजेका छन्। मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्।

‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषद्मा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बीउबिजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्।

प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

‘फाइटर’ले कब्जा गरिरहेको हलमा दुई नेपाली फिल्मको सोलो प्रदर्शन

गत मंसिरदेखि नै हलमा विदेशी फिल्मकै वर्चश्व छ। उपत्यकाका हलमा यो साता विदेशी फिल्म ‘फाइटर’ले कब्जा जमाइरहेको छ। अन्यमा फिल्म ‘हनुमान’, ‘क्याप्टेन मिलर’, ‘मेरी क्रिसमस’, ‘डंकी’ र हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ चलिरहेको छ।

त्यस्तै नेपालीमा दुई साता अघि देखि डकुमेन्ट्री फिल्म ‘ढोरपाटन’ सोलो प्रदर्शन भइरहेको छ। रञ्जना सिनेप्लेक्समा ‘दिमाग खराब’को एक शो प्रदर्शनरत छ।

ढोरपाटन

वृत्तचित्र फिल्म ‘ढोरपाटन’ पुस २७ देखि फिल्म उपत्यकाको सिडिसी सिनेमाजमा साँझ ५ बजेको सोलो प्रदर्शन भइरहेको छ। फिल्म जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित छ।

युरोप र एसियाको फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ को नामले चिनिएको फिल्म राजन कठेत र सुनिर पाण्डे संयुक्त निर्देशनमा बनेको छ। राजन कठेत नै फिल्मका निर्माता हुन्।

फिल्मले पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितिसकेको छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्म सोलो प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

फाइटर

बलिउड फिल्म ‘फाइटर’ माघ ११ देखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा ४० भारतीय सेनामाथि भएको आतंकवादी हमलाको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्। यो फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म भनिएको छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा फिल्मको शो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, क्यूज सिनेमाज, सिके सिनेमाजमा बलिउड फिल्म ‘फाइटर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमा बलिउड फिल्म ‘फाइटर’ चलिरहेको अन्य हल हुन्।

हनुमान

दक्षिण भारतीय फिल्म ‘हनुमान’ माघ ५ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रशान्त बर्मा निर्देशित फिल्म पौराणिक कथामा आधारित छ। फिल्ममा तेजा सज्जा, अमृता अय्यर, विनय राय, वर लक्ष्मी, सरथ कुमार र राज दीपक शेट्टीको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाजमा दक्षिण भारतीय फिल्म ‘हनुमान’ चलिरहेको छ।

क्याप्टेन मिलर

दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ पनि पुस २७ देखि प्रदर्शनरत छ। फिल्ममा बलिउड अभिनेता धनुष मुख्य भूमिकामा छन्।

फिल्म बेलायती साम्राज्यविरुद्ध संघर्षको कथामा आधारित छ। अरुण माथेश्वरनद्वारा निर्देशित फिल्ममा धनुषका अलवा प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाजमा फिल्मको शो छ।

मेरी क्रिसमस

अर्को बलिउड फिल्म ‘मेरी क्रिसमस’ पनि पुस २७ देखि नै नेपाली हलमा प्रदर्शनरत छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा निर्देशक श्रीराम राघवन हुन्। फिल्ममा कलाकार विजय सेतुपति, कट्रिना कैफ, राधिका आप्टेलगायत कलाकारले अभिनय गरेका छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र एफक्यूब सिनेमाजमा फिल्मको शो छ।

डंकी

पुस ५ देखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रर्दशन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा फिल्मको एक शो छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम

पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ।

जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल–मतीन, एक्बर हर्डलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मलमा फिल्मको एक शो छ।

प्रकाशित: १३ माघ २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =