रुसी सेनाबाट फर्कन ४० भन्दा बढी नेपालीको आवेदन

रमेश भारती १० माघ २०८० १६:१४
54
SHARES
रुसी सेनाबाट फर्कन ४० भन्दा बढी नेपालीको आवेदन प्रतीकात्मक तस्बिर

काठमाडौँ- रुसमा रहेका दुई सय ५० भन्दा बढी नेपालीले स्वदेश फर्किन आवेदन दिएका छन्। यसरी निवेदन दिनेमा ४० जनाभन्दा बढी रुसी सेनामा कार्यरत रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार उनीहरूले मस्कोस्थित नेपाली दूतावासमा इमेलमार्फत आवेदन दिएका हुन्।

‘रुसी सेनामा भर्तीमा भएका नेपालीले स्वदेश फर्किन दैनिक मस्को दूतावासमा फोन र इमेल गर्दै आएका छन्। त्यहाँको सेनामा भर्ती भएका ४० जनाभन्दा बढी नेपालीले आवेदन दिएको जानकारी दूतावासले गराएको छ’, ती अधिकारीले भने।

स्वदेश फर्कन चाहने अन्यमा रोजगारी, अध्ययन र भिजिट भिसामा त्यहाँ पुगेका नेपाली छन्। रोजगारी, अध्ययन र अन्य कामका लागि बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किन मस्कोस्थित नेपाली दूतावासमा आवेदन दिइरहेको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। उनले यति संख्यामा आवेदन दिएका छन् भन्ने विवरण यकिन नभएको बताए।

रुसमा रहेको नेपाली फर्काउने र आवेदनका विषयमा बुझ्न सम्पर्क गर्दा मस्कोस्थित नेपाली दूतावासका द्वितीय सचिव सुशील घिमिरेले फोन उठाएनन्।

सरकारले रुसमा रहेका नेपाली फर्काउन कूटनीति पहल गरिरहेको दाबी गरेको छ। परराष्ट्रमन्त्री एनपी साउदले यस विषयमा गम्भीर भएर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताउँदै आएका छन्। असंलग्न आन्दोलनको शिखर सम्मेलनका क्रममा युगान्डा पुगेका बेला पनि मन्त्री साउदले रुसका उपपराष्ट्रमन्त्री सर्गेई भेर्सेनीसँग भेट गरी रुसी सेनामा रहेका नेपालीलाई फिर्ता गर्न आग्रह गरेका थिए। यसैगरी उनले मृतकको शव स्वदेश फिर्ता ल्याउनका लागि पहल गरिदिन पनि अनुरोध गरेका थिए।

तर रुसी सरकारले त्यसमा ध्यान दिएको छैन भने सेनामा नेपाली भर्ती गराउने प्रक्रिया पनि रोकेको छैन। त्यहाँको राष्ट्रपति कार्यालयले रुसी सेनामा नेपाली भर्ना भएको विषयलाई अस्वीकार गरेको छ। रुसमा मरेका नेपालीको शव र क्षतिपूर्ति माग गर्दै परराष्ट्र मन्त्रालयले तीनपटक पत्राचार गरे पनि रुसी पक्षले प्रतिक्रिया दिएको छैन।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी दिएका थिए। मस्कोस्थित नेपाली दूतावासले एक हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरेको छ।

रुसी सेनामा भर्ती भएका नेपाली कतार, भारत यूएई र युरोपबाट त्यहाँ पुगेका हुन्।  रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुग्दैछ। अहिले पनि यी देशबीच युद्ध चलिरहेको छ।

रुसी सेनामा भर्ती भएका १३ जना नेपालीको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत नेपालीका अनसुार युक्रेन आक्रमणमा मरेका नेपालीको शव भेटिँदैन। युद्ध भएको क्षेत्रमा आगो लाग्छ। त्यही भएर रुसी सेनामा भर्ती भएर मरेका नेपालीको शव भेटन् मुस्किल हुने गरेको छ। रुसमा रहेका नेपालीका अनुसार रुसी सेनामा भर्ती भएका तीन सयभन्दा बढी नेपाली घाइते भइ उपचारत छन्। रुसमा १० हजारभन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ।

प्रकाशित: १० माघ २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =