विद्यालय शिक्षाले बालबालिकालाई म को हुँ भनेर नै सिकाउँदैन : प्रा.डा. लक्ष्मण ज्ञवाली [भिडिओसहित]

हिमाल प्रेस ९ माघ २०८० १६:२७
1.3k
SHARES
विद्यालय शिक्षाले बालबालिकालाई म को हुँ भनेर नै सिकाउँदैन : प्रा.डा. लक्ष्मण ज्ञवाली [भिडिओसहित]

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका प्रोफेसर प्रा.डा.लक्ष्मण ज्ञवालीले विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम २० प्रतिशतबाट बढाएर शतप्रतिशत पुर्‍याउनुपर्ने बताएका छन्।हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै डा.ज्ञवालीले पाठ्यक्रममा शतप्रतिशत स्थानीय गतिविधि राख्दा बालबालिकाको सिकाइमा सुधार हुने बताए।

उनले भने, ‘अहिले कक्षा ८ सम्मको पाठ्यक्रममा २० प्रतिशत स्थानीय कुरा राखिएको छ। म स्थानीय उपचार पद्धतिबारे पाठ्यक्रममा राख्न सुझाव दिन्छु। यस्ता विषयवस्तु प्राठ्यक्रममा समेटेर २० होइन १०० प्रतिशत स्थानीय कुरा राख्नुपर्छ।’

विद्यालय तहमा माटोलाई माया गर्ने खालको शिक्षा नपढाइएकोमा डा. ज्ञवालीले गुनासो गरे। उनले भने, ‘विद्यालयमा बालबालिकालाई आफ्नो माटोलाई माया गर्ने भावनाको विकास गरेका छौँ र? बालबालिकामा माटोको माया खोइ?’

ज्ञवालीले प्राज्ञिक क्षेत्रबाट जे कुरा गरिन्छ त्यो विद्यालय शिक्षामा नपुगेको बताए। उनले बालबालिकाका लागि खतरनाक तत्त्व स्कुल भएको पनि बताए। सोही कारण शिक्षामा नतिजा नदेखिएको उनी बताउँछन्। ‘शिक्षाले दिनुपर्ने म को हुँ, कहाँ जन्मेँ, परिवारप्रति मेरो जिम्मेवारी के हो? समुदायप्रति के हो? हामीले सोच्नुपर्नेमा विद्यालय शिक्षाले हामी वरपरको केही पनि होइन, जहाज उडेर गएपछि उततापट्टि (विदेश) अवसर छ भन्यो।’

शैक्षिक सुधारका नाममा विदेशीले नेपालमा उनीहरूकै भाषा ल्याएर अभिभावकलाई प्रभावित गरिरहेको ज्ञवालीले बताए। ‘जबजब यहाँ शिक्षामा परिवर्तनको कुरा आउँछ त्यसपछि गोरा मानिस आउँछन्। उनीहरूले उताका शब्दावली ल्याउँछन्। उनीहरूका शब्दावलीबाट यहाँका मानिस प्रभावित हुन्छन्,’ उनले भने, ‘विद्यालयबाट सुधार सुरु गर्दा पश्चिमाहरू आउँछन्। उनीहरू विश्वविद्यालय सुधार किन थाल्दैनन्? विश्वविद्यालयभन्दा माथि पुगेको मानिस उता जानेवाला छैन। पहिला त बच्चाहरूको दिमाग भुट्नुपर्‍यो नि त!’

प्रकाशित: ९ माघ २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =