मुग्लिन-पोखरा सडकको काम तीव्र बनाउनू : मन्त्री ज्वाला

हिमाल प्रेस ५ माघ २०८० १८:३६
8
SHARES
मुग्लिन-पोखरा सडकको काम तीव्र बनाउनू : मन्त्री ज्वाला

तनहुँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज (शुक्रबार) अनुगमन गरेका छन्। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले जानकारी लिएका हुन्।

मन्त्रालयका सचिव, महानिर्देशकसहित मन्त्री ज्वालाले उक्त खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिएका छन्। पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो। पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिए।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म छ।

मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा निर्माण हुने पुलको समेत निरीक्षण गरेका छन्। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि आर्क पुल बन्दैछ ।

पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ। उनले दुईवटा फाउण्डेसनको पाइलको काम सकिएको जानकारी दिए। हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ। पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म छ।

२०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ। रासस

प्रकाशित: ५ माघ २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =