राजदूत, वाणिज्यदूत तथा अवैतनिक वाणिज्यदूत

मोहनकृष्ण श्रेष्ठ ३ माघ २०८० ८:०१
196
SHARES
राजदूत, वाणिज्यदूत तथा अवैतनिक वाणिज्यदूत

चारपाँच सय वर्षअघिसम्म राज्यहरूबीच कुनै निश्चित सिमाना हुँदैन थियो। आफ्नो मुलुकको सिमाना बढाउन अर्को राज्यले आक्रमण गरिरहन्थ्यो। बलियाले निर्धालाई निचोर्ने काम भइरहन्थ्यो। यस्तो क्रम विदेशी भूमिहरूमा मात्र नभई हाम्रो आफ्नै मुलुकमा पनि थियो। २२/२४ राज्यहरू एकआपसमा मिलेर बसेका थिएनन्। सम्बन्धमा समयसमयमा दरार पैदा हुन्थ्यो। आफू बलियो हुनासाथ कमजोरमाथि हमला गर्थे।

सन् १६४८ मा वेस्टफालिया सहरमा एउटा अन्तर्राष्ट्रिय सम्झौता सम्पन्न भयो। तत्पश्चात् सिमानासहितको सार्वभौम राज्यहरू खडा भएको मानिन्छ। बिस्तारै राज्यहरूले एकआपसका सर्वाधिकार सम्पन्न व्यक्तिका रूपमा राजदूतहरू नियुक्त गरी आदानप्रदान गर्न थाले। उति बेला राजदूतहरूलाई युध्द वा शान्तिसम्झौता घोषणा गर्ने अधिकारसम्म दिइन्थ्यो। अहिले अन्तर्राष्ट्रिय परिस्थितिमा यस्तो अवस्था छैन। राज्यको क्षेत्र विस्तार गर्नका लागि युध्द गर्ने अवस्था पनि छैन। तर एउटा अपवादका रूपमा २४ फरवरी २०२२ मा सुरु भएको युध्द अझै अन्त्य भएको छैन।

राज्यलाई प्रतिनिधित्व गर्ने राजदूत पदलाई असाधारण मानिन्छ। एउटा राष्ट्रको राष्ट्राध्यक्षले अर्काे राष्ट्रको राष्ट्राध्यक्षलाई अति विशिष्ट तवरमा सम्बोधन गरी राजदूतको नियुक्ति गरिन्छ। सो ओहदाको प्रमाणपत्र गन्तव्य राष्ट्रको राष्ट्राध्यक्षलाई बुझाएपश्चात् राजदूतको काम सुरु हुन्छ। सक्षम, उच्च नैतिकता तथा कामकाजमा चुस्त राजदूतले आफ्नो देशका हित प्रवर्धन गर्नुका साथै आफू प्रमाणित राष्ट्र तथा आफ्नो देशको सम्बन्धलाई थप मजबुत बनाएका उदाहरण पाइन्छन्। त्यस्तै कर्तव्यबोध नभएका राजदूत भएमा तिनको क्रियाकलापले राष्ट्रकै बेइज्जत गरेका घटना पनि छन्।

२४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएपश्चात् अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रको विस्तारले विश्वमा शान्ति तथा स्थायित्व कायम गर्न अनवरत रूपमा काम गर्दै आएको छ। आउने पुस्तालाई युध्दको विभीषिकावाट वचाउन यो विश्व संस्था सार्वभौम अधिकारविहीन भए तापनि सतत प्रयत्नशील छ।

कूटनीतिमा राजदूतपछि अर्काे महत्त्वपूर्ण पद कन्सुल हो। कन्सुलहरूले खासगरी विदेशमा रहेका आफ्ना नागरिकलाई हेरविचार गरी सहयोग गर्ने जिम्मेवारी बोकेका हुन्छन्। कुनै पनि देशले अन्य देशको प्रमुख सहरमा आफ्नै वजेट खर्च गरी राजधानीमा राजदूतावासका अतिरिक्त महावाणिज्यदूतावासहरू खोल्न सक्दछन्। यसका लागि होस्ट सरकारको स्वीकृति चाहिन्छ।

उदाहरणका लागि नेपालले हालसम्म चीनको ह्लासा, हङकङ र ग्वान्जाओ, भारतको कोलकाता, सउदी अरेबियाको जेद्दा तथा न्युयोर्कमा महावाणिज्यदूतावास खोलेको छ। त्यहाँ महावाणिज्यदूत, वाणिज्यदूत (Consul) तथा अन्य कर्मचारी पनि कार्यरत रहन्छन्। यस्ता कर्मचारीको सम्पूर्ण तलबभत्ता र सेवासुविधा सरकारी बजेटबाटै व्यहोरिन्छ।

कूटनीतिमा अर्काे एउटा पद पनि छ। त्यो हो Hon. Consul जसलाई नेपाली भाषामा अवैतनिक वाणिज्यदूत भनिन्छ। समयसमयमा पत्रिकामा आउने विभिन्न समाचारहरूमा यो पदलाई विभिन्न नाम दिइएको पाइन्छ। खासमा भन्नुपर्दा Honorary Consul पदलाई अवैतनिक वाणिज्यदूत नै भन्नुपर्दछ। यो पद पनि कूटनीतिको महाग्रन्थ सन् १९६१ को भियना अभिसन्धिमा वर्णित छ। यस पदका बारेमा धेरै व्याख्या भने गरिएको छैन।

अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्न चाहेको मुलुकले मित्रराष्ट्रको उपयुक्त नागरिकलाई रोज्ने र होस्ट सरकारले स्वीकृति दिएमा नियुक्त गर्ने हो। साथै होस्ट सरकारले यो पदमा नियुक्त हुने व्यक्तिलाई सामान्य सुविधा दिन्छ। तर केकस्ता सुविधाहरू दिने भन्ने होस्ट सरकारकै तजबिजमा भर पर्दछ।

खासगरी धेरै मुलुकमा अवैतनिक वाणिज्यदूतलाई होस्ट सरकारहरूले कूटनीतिको एउटा पाटोका रूपमा लिए तापनि खास कुनै सुविधा भने दिएका छैनन्। सुविधाका बारेमा कुनै एकरूपता छैन। प्रत्येक राष्ट्रको राजधानी सहरमा अवैतनिक वाणिज्यदूतको एउटा क्लब र डिन हुने व्यवस्था छ। साथै विश्वभरिका यस्ता क्लबहरूको संगठनको छाता संंस्थाका रूपमा ब्रसेल्समा एउटा अन्तर्राष्ट्रिय अवैतनिक वाणिज्यदूतहरूको संस्था स्थापित छ।

अवैतनिक वाणिज्यदूत कुनै पनि एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रतिनिधि भने हो। निजको कार्यालयमा नियुक्त गर्ने मुलुकको झण्डासम्म राख्न पाउने अधिकार हुन्छ। राजदूतावास नभएको अवस्थामा यस्ता दुत नियुक्त हुने हुँदा अवैतनिक वाणिज्यदूतले दुई देशबीच विभिन्न अवसरमा सहजीकरण गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्छन्। राजदूतावास स्थापना गर्दा खर्च बढी लाग्ने भएकाले कतिपय मुलुकहरूले अवैतनिक वाणिज्यदूतको नियुक्ति गरी काम चलाएको पनि देखिन्छ। कतिपय परिस्थितिमा यस्तो कदमलाई उपयुक्त पनि मान्न सकिन्छ।

यसका साथै यस पदमा नियुक्ति पाउने उपयुक्त व्यक्ति भएमा निजले दुई देशबीचको सम्बन्ध वढाउन राम्रो भूमिका खेल्न पनि सक्छ। तर अनेक हथकण्डा अपनाएर सो पदमा नियुक्ति लिने, त्यस पश्चात् निष्क्रिय रहने व्यक्ति पर्‍यो  भने नियुक्ति गर्ने देश तथा होस्ट सरकारलाई पनि कुनै फाइदा हुँदैन। दुवै देशलाई फाइदा हुने गरी सक्रिय भूमिका खेल्नपर्ने अवैतनिक वाणिज्यदूत जस्तो व्यक्तिले आफ्नो गहन जिम्मेवारी बुझ्न जरुरी हुन आउँछ।

मैले जुन २०१० देखि अगस्ट २०१४ सम्म फ्रान्समा नेपालको राजदूतको जिम्मेवारी सम्हालेँ। ग्रिस, मोनाको, पोर्चुगल तथा स्पेनका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी थियो। फ्रान्सको रुवांमा अवैतनिक वाणिज्यदूत डा. डिडियर वर्नाड, तुलुजमा जेरार्ड बोमो, एथेन्समा इमानुयल काराभेलाकिस, मोन्टेकार्लाेमा अलेक्जान्डर मोगादम, लिस्बनमा मकरबहादुर हमाल तथा पोर्टाे सहरमा म्याडम मारिया तेरेसा ड क्रुज, बार्सेलोनामा लामो समयदेखि लुइस बेल्भिस नेपाली अवैतनिक वाणिज्यदूतका रूपमा कार्यरत छन्।

सहयोगी तथा भद्र स्वभावका लुइसले ११८ पटक नेपालको भ्रमण गरिसकेका रहेछन्। सम्भवतः नेपालको धेरै पटक भ्रमण गर्ने विदेशीहरूमा उनी नै प्रथम हुनुपर्दछ। तुलुजमा मि बोमोले आफ्नो कार्यालय समेत राख्न सकेका थिएनन्। वृद्ध हुनुका साथै पुरा परिवारमा एक्लै परेकाले उनले सो पदबाट राजीनामा दिन नचाहेको र विगतमा पेरिसमा राजदूतावासका लागि महत्त्वपूर्ण योगदान दिएको कुरालाई कदर गरिदिन नम्र भएर अनुरोध गरिरहन्थे। धर्मसंकटमै पारेका थिए उनले।

फ्रान्स तथा अन्य चार मुलुकमा कार्यरत हाम्रा अवैतनिक वाणिज्यदूतहरूले आआफ्नो किसिमले नेपाललाई सघाउँदै आएका थिए। नेपालको हित प्रवर्धन गर्ने आफ्नो जिम्मेवारी बुझेका थिए। २७ मे २०१४ का दिन पेरिसमा उनीहरू सबैलाई बोलाई एउटा बैठक आयोजना गरियो। सम्भवतः त्यो नै नेपाली अवैतनिक वाणिज्यदूतहरूको प्रथम बैठक थियो। हामीले नेपालको परिस्थितिका बारेमा जानकारी गरायौँ।

साथै उनीहरूलाई पनि पालोपालो वोलेर आफ्ना कुरा राख्ने अवसर दियौँ। सबैले एकै स्वरमा नेपाल एउटा प्राकृतिक रूपमा सुन्दर देश भई जनता पनि निकै सहयोगी स्वभावको धारणा व्यक्त गरे। साथै नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको कुरा औँल्याए। आवश्यक पर्ने पूर्वाधार विकास हुनुपर्ने धारणा पनि राखे। भोलिपल्ट गणतन्त्र दिवस मनाउँदा उनीहरू सबैलाई निमन्त्रणा गर्‍यौँ, जुन झन् सकारात्मक बन्यो।

फरक अनुभव

जनवरी २०१४ मा इटालीको पारिवारिक भ्रमणमा जाँदा रोममा नेपालको अवैतनिक वाणिज्यदूत पाउलो नुगारीसँग भेट भयो। उनले आवश्यक सहयोग दिएर हाम्रो भ्रमणलाई सहजीकरण गरिदिए। पछि बुझ्दा उनीप्रति हाम्रो राजदूसतावास तथा इटालीमा रहेका नेपालीहरूको निकै सकारात्मक अभिव्यक्ति पाएँ। नेपाल प्रवर्धन गर्ने प्रत्येक काममा राजदूतावासलाई सघाउनेदेखि नेपालीहरूलाई सक्दो सहयोग गर्न कहिल्यै पछि नपर्ने उनको स्वभाव रहेछ।

अर्काेतर्फ सन् २००५ मा सरकारी कामले केन्याको राजधानी नैरोबी पुगेको थिएँ। लामो समयदेखि नेपालको अवैतनिक वाणिज्यदूत पदमा कार्यरत जोसेफ कारुरीलाई धुइँपत्ताल गरी खोज्न पर्‍यो। पछि उनी म बसेको होटेलमा भेट गर्न आए। मैले उनलाई तपाईँको कार्यालय कहाँ छ र नेपालको प्रवर्धनका लागि काम केके गर्नुहुन्छ भनेर सोधेँ। उनले तपाईँको सरकारका तर्फबाट कुनै पनि प्रकारको आर्थिक सहयोग नपाएकोले केही पनि गरेको छैन भनी जवाफ फर्काए। यस्तो अवैतनिक वाणिज्यदूतसँग पनि भेटेँ।

हाल काठमाडौँमा विभिन्न ६० मित्रराष्ट्रहरूको अवैतनिक वाणिज्यदूत कार्यरत छन्। यस पदमा नियुक्ति पाएका व्यक्तिहरूमा अलि विशेष खालको परिस्थिति देखिन्छ। कुनै वर्गविशेषको र पारिवारिक विरासतजस्तो देखिने गरी पनि नियुक्ति भएका देखिन्छन्। जथाभाबी नियुक्ति दिने पद होइन यो। यसमा अडेर व्यवसाय गरेको पनि समाचार आइरहेको हुँदा यसमा सरकार सचेत हुनुपर्छ। किनभने कूटनीति ख्यालठट्टा हुँदै होइन।

नेपालले विभिन्न देशका राजधानी तथा अन्य सहरमा गरी ५२ जना अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ। एउटै देशका विभिन्न ठूला सहरमा विभिन्न व्यक्तिहरू नियुक्ति भएका छन्। यो कुनै अस्वाभाविक कुरा होइन। राजदूतावास खोल्ने अवस्था नहुँदा अवैतनिक वाणिज्यदूत नियुक्ति गरे पनि निकै सहयोग पुग्न सक्छ। अतः नेपालले पनि आउने दिनमा यस्तो नीति अख्तियार गर्नु उपयुक्त हुनेछ। तर यो पदमा नियुक्ति पाउने व्यक्ति भने आर्थिक रुपमा सक्षम भई त्यहाँको राज्य सरकारसँग पहुँच राख्नने उपयुक्त व्यक्ति हुनैपर्छ। यो वेतन तथा अन्य कुनै सुविधा पाउने पद होइन।

काठमाडौँमा हाल धेरै देशका अवैतनिक वाणिज्यदूतहरू नियुक्ति भएका छन्। यताका केही वर्र्षहरूमा अवैतनिक वाणिज्यदूत हुने व्यक्तिहरूको लर्काे लामै देखिएको छ। तर एकाधलाई छोडी धेरैजसो निष्क्रिय देखिन्छ। हाम्रो सरकारले अन्य देशहरूको तुलनामा उनीहरूलाई केही बढी सुविधा दिएकै हो।

विदेशी राजदूतले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्ने अवसरमा अवैतनिक वाणिज्यदूतलाई पनि सँगै जान दिने प्रचलन छ। नीलो प्लेटमा झन्डा फरफराएर हिँड्न पाउनुलाई शानकै रूपमा लिन सकिन्छ।

पेरिसमा वर्षको तीनचार पटक मात्र राजदूतले गाडीमा झन्डा  हालेर फ्रेन्च सरकारले आयोजना गरेको कार्यक्रममा जान पाइन्छ। अन्य समयमा राजदूतले आफ्नो सरकारी गाडीमा झन्डा फरफराएर हिँड्न मनाही गरिएको छ। पेरिस बसाइताका एकपटक एकजना मन्त्री पुगेका थिए। गाडीमा झन्डा फरफराएको नदेखेपछि घुमाउरो पाराले मलाई प्रश्न गरे। मैले यही जवाफ दिएपछि उनी ठण्डा भएका थिए।

अवैतनिक वाणिज्यदूतलाई दुई सरकारको विश्वास जितेको व्यक्तिका रूपमा लिन सकिन्छ। आफूलाई नियुक्त गर्ने सरकारको हित प्रवर्धन गर्नु निजकोे प्रथम कर्तव्य हुन आउँछ भने दुई देशको बीचमा सेतुका रूपमा काम गर्नु उनको अर्काे महत्त्वपूर्ण जिम्मेवारी हो। दुई देश बीचमा पर्यटन, व्यापार, लगानी प्रवर्धन तथा अन्य सम्भावित क्षेत्रहरूको पहिचान गरी प्रवर्धन गर्नु अवैतनिक वाणिज्यदूतको प्रमुख कार्य हुन्। हाल काठमाडौँमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूले यी जिम्मेवारी निर्वाह गर्न कतिसम्म सफल भएका छन् भन्ने लेखाजाखा आफैँले गरेमा वेश हुन्छ।

सरकारले पनि आउने दिनमा यसतर्फ ध्यान पुर्याउन जरुरी हुन्छ। कुनै योगदान दिन नसक्ने व्यक्तिलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्न स्वीकृति दिनु समय खेर फाल्नु र कूटनीतिलाई मजाक बनाउनुबाहेक अरू केही हुँदैन। बरु क्रियाशील व्यक्तिलाई नियुक्त गरेमा निजबाट दुई मुलुकबीचको आपसी सम्बन्धलाई सुदृढ बनाउन यथेष्ठ योगदान पुग्न सक्छ। यस सम्बन्धमा समयसमयमा मूल्यांकन हुनुपर्दछ। हाम्रा राजदूतहरूलाई नियुक्त भई विदेश जानुपूर्व Terms of Reference दिइएजस्तै उनीहरूलाई पनि यस्तै प्रक्रियाका केही कार्यादेश दिन आवश्यक देखिन्छ।

केही वर्षअगाडि किर्गिस्तानको अवैतनिक वाणिज्यदूतले नीलो प्लेटवाला गाडी प्रयोग गरी कालोबजारीमा संलग्न रहेकोमा पक्रिएको सनसनीपूर्ण खबर बाहिरियो। कोभिडको त्रासले जनता लकडाउनमा कुण्ठित भएर बसेको अवस्थामा अत्यावश्यक स्वास्थ उपकरणको समेत कालोबजारी गर्ने कस्तो दुष्ट स्वभाव? त्यो पनि नामुद उद्योगपति, व्यापारीबाट। त्यो त हदै भएन र? साह्रै नै निन्दनीय तथा तुच्छ काम भयो।

ती वाणिज्यदूतले निजविरुध्द सरकारले तुरुन्तै आवश्यक कदम चाल्यो, जुन सराहनीय थियो। अवैतनिक वाणिज्यदूतको गलत कदमले निजलाई नियुक्त गर्ने देशलाई पनि लज्जित बनाएको हुनुपर्दछ भने निजलाई स्वीकृति दिने हाम्रो सरकारलाई पनि नमज्जा लागेको हुनुपर्दछ। अतः आउने दिनमा यस पदमा कार्यरत सबैले आफनो जिम्मेवारी तथा दायित्वको ख्याल राख्न जरुरी छ। आफूले पाएको पदको गरिमा धान्न नसक्नेले कुनै पनि राष्ट्रको प्रतिनिधि हुन खोज्नु प्रत्युत्पादक हुन सक्छ।

[श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत हुन्।]

प्रकाशित: ३ माघ २०८० ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =