टिप्पणी

चिनियाँ राजदूत छन्‌ले दिएको खुला कूटनीतिको सन्देश

चन्द्रशेखर अधिकारी २४ माघ २०८० १८:५०
274
SHARES
चिनियाँ राजदूत छन्‌ले दिएको खुला कूटनीतिको सन्देश

एक दशकअघिसम्म उत्तरी छिमेकी चीनको कूटनीतिक गतिविधि बाहिर देखिँदैन थियो। कतिपयले चीनको गतिविधिलाई मात्र होइन चीनलाई नै नेपालले बुझ्न नसकेको भन्थे। परराष्ट्र मामिला विज्ञको पगरी गुथेकाहरूले त नेपालले चीन बुझ्न सकेको छैन भनेर कैयौँपटक लेखे, अन्तर्वार्तामार्फत आफ्ना धारणा सार्वजनिक गरे।

ती सबै कुरा भ्रम रहेछन् भन्ने यति बेला स्पष्ट भएको छ। किनभने चिनियाँ राजदूत छन् सङले गुपचुप रहेको चिनियाँ कूटनीतिको आवरणलाई खोलिदिएका छन्। यो पनि पुष्टि भएको छ, नेपालले चीन बुझेकै थिएन भने चीनले अहिले खुला भएर कूटनीतिक गतिविधि गर्न सक्दैन थियो।

विगतमा कसैको त्रासमा नेपाली नेताले चीनलाई बढी विश्वास गर्न नसकेकै हुन्। चीनले त्यति बेला कुन राजनीतिक शक्तिलाई टेको दिएको थिएन। कुनै बेला चीनको सबैभन्दा भरपर्दो संयन्त्र नेपालको राजदरबार थियो। अन्तिममा दरबारलाई पनि चीनले साथ दिएन। त्यसैले अहिले चीनले कुनै राजनीतिक दल वा शक्तिलाई काखी च्याप्छ भनेर पत्याउन निकै कठिन छ।

हामीसँग चीनबारे धेरै ज्ञान छैन वा जानेर पनि बुझपचाउँछौँ। हाम्रा नेताले चिनियाँ नेतासँग सहज रूपमा वार्ता गर्न सक्दैनन्। चिनियाँ नेताले के भने भनेर थाहा पाउन चीनमा पढेर फर्केका दोभासे खोज्दै हिँड्नुपर्छ। परराष्ट्र मन्त्रालयमा चिनियाँ भाषामा दखल भएका कर्मचारी छैनन्। सरकारले पनि त्यस्तो जनशक्तिको आवश्यकता महसुस गरेको छैन।

भाषाकै कारण पनि होला केही वर्षअघिसम्म गुपचुप रूपमा कूटनीति अवलम्बन गर्दै आएको चीनले अहिले खुला रूपमा कूटनीति अघि बढाएको देखिन्छ। विगतमा नेपालमा होस् या अन्य मुलुकमा चीनले प्रायः आफ्नो गतिविधि बाहिर ल्याउँदैनथ्यो। चीनले दल मिलाउनेदेखि नेपालको ठूला परियोजनामा काम गर्नेसम्म गर्न थालेपछि मात्र जानकारी पाइन्थ्यो। अहिले चिनियाँ कूटनीति शैलीमा परिवर्तन आएको छ।

हुन त कोरियन पेनन्सुयलामा राजदूत रहिसकेका याङ होउलान (२०११ जुन-२०१३ मार्च) आएदेखि नै खुला कूटनीतिमा चीन अग्रसर भएको हो। त्यसपछिका राजदूतहरू उ चुन्ताई र यु होङ खासै सक्रिय नदेखिए पनि उनीहरूको कूटनीतिक कार्य थाहा हुन्थ्यो।

होङपछि आएकी राजदूत होउ यान्छीले ट्विटरमार्फत दूतावासका गतिविधि सार्वजनिक गर्न थालिन्। सम्पदास्थलमा पुगेर ‘मोडलिङ’ शैलीमा तस्बिर खिचेर पनि उनले चर्चा बटुलेकी थिइन्। उनको कार्यकालमा आएर चिनियाँ कूटनीति पश्चिमा शैलीमा अघि बढ्न थालेको हो।

अहिलेका २२ औँ राजदूत छन् सोङ ट्विटरमा सक्रिय छन्। उनले ट्विटरमा हरेक प्रश्नको उत्तर दिएको देख्न पाइन्छ। कुनै बेला ‘झ्याल कूटनीति’ अवलम्बन गर्दै आएको चीन अहिले सामाजिक सञ्जालमार्फत सक्रिय भएको उदाहरण हो यो। यसबाट चीनले आफ्ना धारणालाई खुला रूपमा राख्न थालेको स्पष्ट हुन्छ।

विगतमा कुनै दूतावास वा ती देशसँग केही गुनासा भएमा लेखेर दूतावासको झ्यालमा रहेको बक्समा खसालिदिने वा भित्र दिइने चलन थियो। त्यसको उत्तर पनि त्यहीँ पाइन्थ्यो। अहिले सबै उत्तर सामाजिक सञ्जालमा उपलब्ध हुन थालेको छ। त्यसमा चिनियाँ राजदूत छन् अग्रपंक्तिमा छन्।

चिनियाँ राजदूत छन् स्वयं सामाजिक सञ्जालमा भिडिरहेका हुन्छन्। अस्ट्रेलियामा अध्ययन गरेर अंग्रेजी भाषामा पोख्त भएका राजदूत छनको उत्तर नियाल्दा स्पष्ट हुन्छ, चीन खुला छ, लुकेर केही गर्दैन। उनले सामाजिक सञ्जालमा चिनियाँ अर्थनीति, कूटनीति मात्र होइन चीनले अघि बढाएका अभियान पनि पोस्ट गर्दै आएका छन्। चीनले सोही माध्यमबाट यहाँको नगरिकको धारणालाई समेत नियालिरहेको छ।

छनअघिका राजदूत होउले विषयगत रूपमा पत्रकार सम्मेलनको अभ्यास गरेकी थिइन्। बेइजिङमा भएको पत्रकार सम्मेलनको सन्देश यहाँ दिने सुरुवात उनीबाटै भएको हो। चीनले पछिल्लो समयमा सरकारसँग भन्दा नागरिकसँग सीधा अन्तरक्रिया गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लैजान चाहेको देखिन्छ। चीनले सक्रिय र निष्क्रिय दुवैखाले पत्रकारलाई आफ्नो देशमा घुमाउन लैजाँदै आएको छ। कोभिडका बेला पत्रकारलाई घुमाउन लैजाने क्रममा केही कमी आए पनि अहिले महिनौँजसो चिनियाँ खर्चमा नेपाली पत्रकार चीन भ्रमणमा गइरहेका छन्। चीन नजाने त नेपाली पत्रकार नै होइन भन्ने चर्चा पनि हुने गरेको छ।

चीनले आफूलाई पारदर्शी देखाउन खोजे पनि चिनियाँ दूतावासले पत्रकारसँग भेट्ने र छलफल गर्ने गरेको देखिँदैन। त्यसैले चीनले यहाँ के गरिरहेको छ भन्ने पनि स्पष्ट हुँदैन। त्यसको कारण हो  उनीहरू नेपाली र नेपाली सञ्चारमाध्यमसँग सम्पर्कमा रहन चाहँदैनन्। पत्रकारसँग प्रत्यक्ष सम्पर्कमा नआए पनि चिनियाँ राजदूत छन ट्विटरमार्फत सानाभन्दा साना विषयलाई प्रस्ट पारिदिन्छ। यसबाट उनी नेपाली नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेको देखाउँछ।

राजदूत छन्‌ले बेल्ट एन्ड रोड इनिसियटिभसम्बन्धी समाचार ‘पिन गरेर’ (ट्विटरमा सबैभन्दामाथि) राखेका छन्। त्यो समाचार २०१९ को दोस्रो बीआरआई सम्मेलनसँग सम्बन्धित छ। उनले हरेक दिनका गतिविधि ट्विटरमा पोस्ट गरेका छन्।उनले चीनबाट नेपाल भित्रिएका इलेक्ट्रिक सवारीसाधनको बारेमा लामै लेखरे राखेका छन् भने नेपालमा चीनको नयाँ वर्ष मनाइएको र त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको कुरा पनि राखिएको छ। उनले ट्विटरमा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँले स्वागत गरेको तस्बिर राखेका छन्। लुम्बिनीमा चार्टर्ड उडानमा आएका १७० भिक्षुलाई उनी आफैँले स्वागत गरेका थिए।

नेपालमा चिनियाँ सहयोगमा बनेको विमानस्थल उपयोग नभएको भनिरहँदा राजदूत छनले त्यसको उपयोग यसरी पनि हुन्छ भन्ने सन्देश दिन खोजेको बुझिन्छ। अग्ला पिलर दिएर काठमाडौँ-मधेश द्रुतमार्गमा बनेको संरचनाको तस्बिर राख्दै छन्‌ले विकास अघि बढिरहेको स्पष्ट पारेका छन्। त्यहाँ खासै काम हुन नसकेको भन्ने विषयमा भने उनले लेखेका छन्, ‘कसैलाई औँला देखाउनुभन्दा सहकार्य गर्न आवश्यक छ।’ यसरी चिनियाँ राजदूतले विकास कार्यमा चीनको संलग्नतालाई बढी नै देखाउन खोजेका छन्।

राजदूत छन्‌ले सबै खालका प्रश्नको उत्तर दिँदै आएका छन्। त्यसमा कहिलेकाहीँ उनलाई उत्तेजित पार्न खोजेको पनि भेटिन्छ। त्यस्तो अवस्थामा उनी संयमित बन्छन्।

यसअघिका चिनियाँ राजदूत होउ यान्छीले ट्विटर ह्यान्डल सार्वजनिक गरेकी हुन्। उनले इनबक्ससमेत खुला राखेर सोध्नेको जानकारी दिन थालेकी थिइन्। राजदूत छन्‌ले पनि त्यसलाई निरन्तरता दिए पनि सबैका लागि इनबक्स खुला गरेका छैनन्।

नेपाली भाषासमेत जानेकी सक्रिय महिला राजदूत होउ यान्छी फर्केको तीन महिनापछि छन् नेपाल आएका थिए। चिनियाँ राजदूत छन्‌ले नेपालमा एक वर्ष बताएका छन्। चीन पछिल्लो समय नेपालको राजनीतिमा बिस्तारै प्रवेश गरिरहेको आरोप भने राजदूत छन्‌ले अस्वीकार गर्दै आएका छन्। यान्छीले आफ्नो कार्यकालमा वामपन्थी दल मिल्नुपर्नेमा जोड दिएकी थिइन्। उनी कुनै वामपन्थी दलको कार्यक्रममा भन्ने गर्थिन्, ‘किन नेपालमा कम्युनिस्टहरु एकै छानामुनि बस्न नरुचाएका?’

कतिपय नेताहरू चीनसँग नजिक भएर पनि नजिक नभएको देखाउन खोज्छन्। कोही चीन धाएर जाने तर बोलाएर गएको भन्ने पनि छन्। चीनको विषयमा नेपालका नेताहरूले बोल्नै नपर्ने विषय बोलिदिन्छन् भने बोल्नैपर्ने विषयमा पनि बोल्दैनन्। एक चीन नीति अवलम्बन गर्ने भनेपछि सबै स्टेटको नाम लिएर मान्य हुने र नहुने बोल्न आवश्यक हुँदैन।

नेपालका अधिकांश नेताहरू चिनियाँसँग नजिक भएर भारत रिसाउँछ भन्ने मान्यतामा छन्। भारत र चीनसँग नेपालको सम्बन्ध निकै व्यावहारीक छ। भारतसँग अलिक बढी होला चीनसँग कम। हाम्रै भाषा र रहनसहन बुझेको भारतको कूटनीतिलाई नियाल्न नसकेको नेपालले चीनको कूटनीति नियाल्नु निकै टाढाको विषय हो।

चिनियाँहरूलाई नेपालबारे सोच्ने फुर्सद पनि हुँदैन। उनीहरू सम्बन्धित डेस्कमा ‘इस्यु’ बुझेर नेपाल आउने गरेका हुन्छन्। चीन यति खुला हुँदै गर्दा पनि अझै पनि चीनको कूटनीतिक गतिविधि अधिक मानिसलाई थाहा हुँदैन। ट्विटरमा उत्तर दिँदा राजदूत छन्‌ले निकै ख्याल गरेको देखिन्छ। पछिल्लो समय चिनियाँहरू आफ्नो कुरा राख्न गर्न लागिपरेका छन्। जुन नेपालका लागि पनि राम्रो हो तर त्यसमा पनि राजनीतिक दृष्टि परेमा उनीहरू अर्को ढाँचामा अघि बढ्न सक्छन्।

नेपालको छिमेकी र मित्र चीन, भारत र अमेरिका हुन् भन्ने धारणा छ। यद्यपि जर्मनी र स्विस पनि छन्। जसले नेपालमा दूतावास राखेर यहीँबाट भिसा दिने गरेका छन्। अन्य दूतावासले यस्तो सेवा हटाएर बिचौलियालाई जिम्मा लगाएको पाइन्छ। बिचौलियालाई जिम्मा लगाउँदा भिसामा लाग्ने खर्च बढेको छ। साथै सेवा दिने स्थानमा पनि एक मुलुकको भिसा लिन भीएफएस जानुपर्ने बाध्यता छ।

आवासीय दूतावास यहीँ भएर पनि सर्वसाधारणलाई भीएफएसमार्फत तर कूटनीति, कर्मचारीका लागि भने दूतावासबाटै काम हुने गरेको छ। के दूतावास भनेका कर्मचारी र रातो पासपोर्टका लागि मात्र हो त? चीन र अमेरिकाले त्यसो गरेका छैनन्। नेपालमा अमेरिका पनि सक्रिय रहँदा चीनको चासो बढेको देखिन्छ। चीन र अमेरिकाबीच प्रतिस्पर्धा छ। यद्यपि चीनले अमेरिकालाई उछिन्न तत्काल सम्भव छैन। यस्तो अवस्थामा चीनले अवलम्बन गरेको सक्रिय कूटनीति निकै महत्त्वपूर्ण छ।

चीनलाई केही कुरा सोध्नुपर्दा समस्या थियो तर अहिले ट्विटर यसको पुल बनेको छ। राजदूत छन्‌ले चीन  विकास कार्यमा लागिपरेको देखाउन खोजेको देखिन्छ। सकभर आफ्नो कुरा भन्न नरुचाउने चिनियाँ प्रवृत्ति हो। कुनै ठूलो मियो समाउन पाए त्यहीँबाट काम हुने उनीहरूको सोचमा परिवर्तन नआएको चीन मामिलासम्बन्धी जानकारहरू बताउँछन्। त्यसमा परिवर्तन नआएसम्म जति विकास गरे पनि चीन विश्वको नेता हुन सक्दैन। विकास गर्नभन्दा टिकिरहन सहज छैन। त्यसैले चीनले विश्वको नेतृत्व गर्न अहिलेदेखि नेतागिरी सुरु गर्न आवश्यक छ। अर्को कुरा, चीनले जसरी खुला रूपमा आफूलाई प्रस्तुत गरेको छ त्यहीअनुसार छिमेकीलाई अघि बढाउनुपर्ने हुन्छ।

प्रकाशित: २४ माघ २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =