टिप्पणी

आउनुपर्ने ब्लिकेन, किन जाँदैछन् साउद?

'सहसचिव स्तरका भ्रमणलाई हामी उच्चस्तरको किन भनिरहेका छौँ?'

हिमाल प्रेस २ कार्तिक २०८० १५:५५
122
SHARES
आउनुपर्ने ब्लिकेन, किन जाँदैछन् साउद?

काठमाडौँ – नेपाल सरकारले कैयौँ प्रयास गर्दा पनि अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिकेन नेपाल भ्रमणमा नआउने भएपछि परराष्ट्रमन्त्री एनपी साउद आफैँ अमेरिका जाने भएका छन्। परराष्ट्रमन्त्री ब्लिकेनलाई नेपाल भ्रमण गराउन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले निरन्तर प्रयास गरेका थिए। तर ब्लिकेन नेपाल नआउने निश्चित भएपछि फेरि पनि मन्त्री साउद अमेरिका भ्रमणमा जान लागेका हुन्।

निकै गोप्य राखेर तयारी गरिएको साउद भ्रमणको सबै प्रक्रिया पूरा भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन्।

सन् २०१८ डिसेम्बरमा प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री रहँदा उनले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए।ज्ञवालीको औपचारिक भ्रमणपछि प्रधानमन्त्री स्तरमा भ्रमण हुने भनिएको थियो। तर त्यो भएन। त्यसैले यसपटक अमेरिकाबाट नेपाल भ्रमण हुनुपर्ने थियो। कूटनीतिक वृत्तमा कि अमेरिकाका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणमा आउनुपर्ने अन्यथा यताबाट जानैपर्ने भए प्रधानमन्त्री स्तरको भ्रमण हुनुपर्ने विषयमा आवाज उठेको छ।

ज्ञवालीको भ्रमण त्यति फलदायी बनेको थिएन। कुनै पनि मुलुकले कमजोर परराष्ट्रमन्त्रीलाई भ्रमणमा ल्याउन पाए आफू माथि पर्न सक्ने आकलन गरेर यस्ता भ्रमण गराउँछन्। अधिकांश देशले अब्बल र भाषामा दख्खल राख्ने परराष्ट्रमन्त्रीलाई सकेसम्म टार्छन्। अमेरिकाले ज्ञवालीलाई त्यस्तै व्यवहार गरेको थियो।

डा. नारायण खड्का परराष्ट्रमन्त्री हुँदा उनले अमेरिकाका परराष्ट्रमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयास गरेका थिए। तर उनी सफल भएनन्। सन् २०१८ मा नेपालबाट अमेरिकाको औपचारिक स्तरमा परराष्ट्रमन्त्री स्तरीय भ्रमण भइसकेको छ। अब फेरि नेपालबाटै उता के त्यस्तो भ्रमण गर्न आवश्यक रह्यो? बरु नेपालबाट प्रधानमन्त्री स्तरमा भ्रमण गराउनुपर्ने हो।

अमेरिकाबाट नेपालमा सहायक मन्त्री स्तरको भ्रमण बाक्लै भइरहेका छन्। त्यसलाई नेपाली अधिकारीहरूले उच्चस्तरको भ्रमण भनिरहेका छन्। केही सञ्चारमाध्यमले पनि अमेरिकाबाट लगातार भ्रमण भनिरहेका हुन्छन्। तर त्यो कुन स्तरको भ्रमण भन्ने विषयमा ध्यान दिएको पाइँदैन। सहसचिव तहमा भएका भ्रमणलाई कसरी उच्चस्तरको भन्नु? अमेरिकाबाट नेपालमा राजनीतिक नेतृत्व तहको भ्रमण हुन सकेको छैन। एमसीसी कम्प्याक्ट नेपालमा नै छ। त्यही कारण एमसीसीका तर्फबाट नेपाल भ्रमण हुनु स्वाभाविक हो।

कूटनीति र दुई पक्षीय मामिलाबारे जानकार भनिएका राजदूत खत्रीले पनि नेपालबाट अमेरिकातर्फ नभई अमेरिकाबाट नेपालतर्फ भ्रमण गराउनुपर्ने थियो। तर त्यसो गराउन नसकेपछि उनले आफ्नो लाजगाल पचाउन नेपालबाटै भ्रमण गराउन लागेका हुन्। अन्तर्वार्ता दिनु, बोल्नु र मैदानमा उत्रेर काम गर्नुमा फरक देखिँदै छ खत्रीमा पनि।

एक कूटनीतिज्ञ भन्छन्, ‘हामी भ्रमणका लागि निकै लचिलो छौँ। कोही आउन लाग्दा पनि ठिकै बोलाउँदा पनि ठिकै। त्यसको दूरगामी असर अनि पालो के हो कस्तो हो हेर्दैनौँ।’

राजदूत हुन नपाएका परराष्ट्र सचिव भरतराज पौड्याल मन्त्री खुसी बनाउने कसरतमा छन्। कांग्रेसको भागमा रहेको क्यानडामा नेपाली राजदूत पद रिक्त छ। मन्त्री साउदलाई खुसी बनाएर पौड्याल  त्यहाँको राजदूत बन्ने दाउमा रहेको मन्त्रालयकै अधिकारीहरू बताउँछन्। सोही कारण उनी जसरी पनि साउदलाई अमेरिका भ्रमण गराउन सक्रिय भएका हुन्।

राजदूत खत्रीले अमेरिका गएपछि कुनै देखिने प्रकारको काम गर्न नसकेर आलोचना खेप्नुपरिरहेको छ। त्यसैले नेपालबाट भए पनि अमेरिका भ्रमण गराएर चोखिने प्रयासमा उनी छन्। यद्यपि साउदले गर्न लागेको अमेरिका भ्रमण एजेन्डाविहीन छ। अनि प्रश्न उठेको छ- संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालले के त्यस्तो आइपरेर अमेरिका भ्रमण गरी छिमेकलाई सन्देश दिन खाजेको हो?

नेपालले अमेरिकाबाट भ्रमण गराउन सकेमा राम्रो हुने थियो। अमेरिकाले नेपाललाई राम्रो दृष्टिले हेर्छ। विकासका लागि पहल पनि गर्छ तर नेताहरू व्यक्तिगत स्वार्थमा पर्ने हुनाले पनि यस्ता भ्रमणमा नेपालका तर्फबाट बढी पहल हुन्छ। राजनीतिक नेतृत्वले यस्ता विषयमा खासै चासो दिएको पाइँदैन। प्रतिपक्षी पनि मौन छन्।

अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिकेन।

परराष्ट्रमन्त्रीका रूपमा ज्ञवाली अमेरिका भ्रमणमा जाँदा डोनाल्ड ट्रम्प राष्ट्रपति र माइकल पम्पियो परराष्ट्रमन्त्री  थिए। त्यही कारण अहिले नेपालबाट जान परेको भए फरक कुरा। किनभने साउदले जो बाइडेन प्रशासनका परराष्ट्रमन्त्री एन्टोनी ब्लिकेनसँग वार्ता गर्नेछन् अर्थात् उनको कुरा यिनले सुन्नेछन्।

अमेरिकाले भने इजरायल-प्यालेस्टिन युद्धको कारण देखाएर भ्रमण मिति सार्न प्रस्ताव गरेको छ। तर नेपाली पक्षले यसलाई अस्वीकार गरेको छ। इजरायल युद्धको कारण देखाएर अमेरिकी पक्षले ‘हामी त्यता केन्द्रित छौँ, भ्रमण मिति केही समय पर सारौँ’ भन्दा पनि परराष्ट्र सचिवले अस्वीकार गरिरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।

परराष्ट्रमन्त्री साउद राष्ट्रसंघीय गत महिना महासभामा सहभागी हुन न्युयोर्क पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनको साथमै रहेकाले मन्त्री साउद ओझेलमा परेका थिए। महासभामा प्रधानमन्त्री गएपछि परराष्ट्रमन्त्री जान आवश्यक थिएन। नेपालको कर्मचारी र राजनीतिक दुवै तहमा विदेश भ्रमण गर्न पाएपछि छोड्नै हुन्न प्रवृत्तिका कारण साउद पनि न्युयोर्क पुग्नु अस्वाभाविक होइन।

छिमेकी भारत र चीनको भमण गरिसकेका प्रधानमन्त्री प्रचण्डले अमेरिकामा पनि आफ्नै तरिकाले भ्रमण गर्नुपर्ने थियो। प्रधानमन्त्रीको तहमा भ्रमण गरेर तेस्रो छिमेकीका रूपमा रहेको अमेरिकालाई विश्वासमा राख्न सक्नुपर्ने थियो। तर त्यसमा ध्यान नपुगेर हो वा आत्मविश्वास नबढेर हो उनले साउदलाई पठाउन लागेका छन्।

भारत र चीनको बीचमा रहेकै कारण पनि नेपाललाई अमेरिकाले महत्त्व दिँदै आएको छ। तर नेपाल अमेरिकासँग सहकार्य गर्ने र फाइदा लिने काममा चुकेकाे छ। अमेरिका भ्रमण त गर्ने तर त्यो भ्रमणको उद्देश्य के भन्नेमा परराष्ट्र मन्त्रालय अलमलमा छ। अमेरिकाले नेपालको अलमल बुझेर मिति सारौँ भन्दा पनि परराष्ट्र मन्त्रालयले अस्वीकार गरिरहेको छ। अर्को कुरा, मौकामा भ्रमण नगरे  फेरि जान नपाउने हो कि भन्ने चिन्ताले पनि परराष्ट्रमन्त्रीले भ्रमणको तयारी गर्न निर्देशन दिएका हुन सक्छन्।

प्रकाशित: २ कार्तिक २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =