घोराही सिमेन्टले १५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २ माघ २०८० १३:३३
घोराही सिमेन्टले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। दाङको घोराहीमा शनिबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

घोराही सिमेन्टले आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को मंसिरसम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिए।

आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) दुई करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल कम्पनीको अधिकृत पुँजी छ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी तीन अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई चार अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ।

त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्दलाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन्। योसँगै कम्पनीको संस्थापक समूहमा पाँचजना सञ्चालक भएका छन्।

प्रकाशित: २ माघ २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =