प्रधानाध्यापकलाई मोबाइल बुझाएपछि मात्र हाजिर गर्न पाइने

हिमाल प्रेस २६ पुष २०८० १२:२३
2.9k
SHARES
प्रधानाध्यापकलाई मोबाइल बुझाएपछि मात्र हाजिर गर्न पाइने सांकेतिक तस्बिर

काठमाडौँ- केही साताअघि धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले पालिकाभित्रका केही विद्यालयमा अनुगमन गरे। अनुगमनका क्रममा केही शिक्षक कक्षाकोठामा पस्नेबित्तिकै बाहिर निस्किएर मोबाइलमा कुरा गर्न थालेको देखेपछि विद्यार्थी पनि हल्ला गरिरहेको देखे।

ढुंगानाले हिमाल प्रेससँग भने, ‘शिक्षक कक्षाकोठामा पस्नेबित्तिकै मोबाइलमा घण्टी बज्दो रहेछ। बाहिर निस्किएर कुरा गर्दा पाँच-दस मिनेट त्यत्तिकै सकिँदो रहेछ।’ त्यतिमात्र होइन, कतिपय शिक्षक त विद्यार्थीलाई कक्षाकार्य गर, यो पाठ पढ भनेर आफूचाहिँ मोबाइलमा चलाएर बसेको पाइएको उनले बताए।

अनि प्रमुख ढुंगानाले केही विद्यालयका प्रधानाध्यापकसँग यसबारे सरसल्लाह गरे। उनीहरूबाट पनि यस्तै कुरा आयो, नेट चलाउँदाचलाउँदा शिक्षक कक्षामा समयमा नपुग्ने, पिरियड नसकी निस्कने, ४०, ४५ मिनेटमा शिक्षकहरू आधाभन्दा बढी नेटमै व्यस्त हुँदा पठनपाठनमा अवरोध आएको छ। त्यसपछि ढुंगाना विद्यालय समयमा शिक्षकलाई मोबाइल चलाउन कडाइ गर्ने निर्णय पुगेका छन्।

सोहीअनुसार नगरपालिकाको शिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा मोबाइल फोन नचलाउने व्यवस्था गर्न प्रधानाध्यापकलाई निर्देशन दिएको छ। निर्देशनअनुसार खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोन चलाउन पाउँदैनन्। शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्नुपर्छ।

प्रधानाध्यापकहरूलाई पालिकाका शिक्षा अधिकृत प्रकाश दत्तले पठाएको पत्रमा उल्लेख छ, ‘खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने,सम्पूर्ण शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने।’

ढुंगानाले भने, ‘हामीले सबै विद्यालयमा इन्टरनेट पुर्‍याएका छौँ। प्रायः शिक्षकलाई ल्यापटप पनि उपलब्ध गराएका छौँ। इन्टरनेट नदिएर पनि भएन।’ उनले शिक्षकको पनि अधिकारका कुरा भएकाले खाजाको समयमा चलाउन दिइने निर्णय भएको बताए। उनले प्रधानाध्यापकलाई मोबाइल बुझाएपछि मात्रै हाजिर गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए।

पालिकाले शिक्षण सिकाइका लागि शिक्षकले अनिवार्य ल्यापटप प्रयोग गर्न आग्रह गरेको छ। पालिकाअन्तर्गतका प्रायः सम्पूर्ण विद्यालयमा इन्टरनेट सेवा र माध्यमिक विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन भइसकेको ढुंगानाले जानकारी दिए। उनले भने, ‘ल्यापटप वितरण भइसकेको सन्दर्भमा ल्यापटप प्राप्त शिक्षक र विद्यालयले शैक्षिक तथा प्रशासनिक कार्यका लागि अनिवार्य ल्यापटप प्रयोग गर्न नगरपालिकाले निर्देशन दिएको छ।

विद्यालयमा कुनै पनि किसिमको पत्रु खाजा, सुर्तीजन्य पदार्थ र मदिरा निषेध गर्ने पालिकाको निर्देशन कार्यान्वयन गराउन पनि प्रधानाध्यापकलाई निर्देशन दिएको छ।

शिक्षक र विद्यार्थीको समन्वयमा विद्यालय हाताभित्र कम्तीमा साताको दुई दिन सरसफाइ गर्ने गराउने व्यवस्था मिलाउन पालिकाले निर्देशन दिएको छ। त्यसैगरी पालिकाले शिक्षक र विद्यालय कर्मचारीको पोसाकको विषयमा पनि ध्यानाकर्षण गराएको छ। विद्यालय, विद्यालयका कार्यक्रमबाहेक अन्यन्त्र पोसाक नलगाउन पालिकाले सचेत गराएको छ।

ढुंगानाले बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिइएको जानकारी दिए। उनले भने, ‘भौतिक संरचना प्रायः निर्माण भइसकेका छन्।’ आफूले शैक्षिक सुधारका लागि पनि विशेष पहल गरिरहेको उनको भनाइ छ। ‘विद्यार्थीसँग मेयर भनेर उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न थालिएको छ। विद्यार्थीको रुचि र आवश्यकता के छन् भन्ने कुरा आफैँले बुझ्न थालेको छु।’

यस क्रममा विद्यार्थी, अभिभावक र विद्यार्थीलाई सँगै राखेर समस्या समाधानका लागि पहल गर्ने र शिक्षकका कुनै कमजोरी छन् भने विद्यार्थीले खुला रूपमा भन्ने वातावरण बनाएको ढुंगानाले जानकारी दिए। उनले भने, ‘शिक्षक, विद्यार्थी र अभिभावकले नगरपालिकाबाट के अपेक्षा गरेका छन्, त्यसलाई पनि सम्बोधन गर्ने गरी तत्काल निर्णय गर्ने प्रबन्ध मिलाएका छौँ।’ सयभन्दा बढी विद्यालय रहेको नीलकण्ठ नगरपालिकामा साढे सात सयभन्दा बढी शिक्षक कार्यरत छन्।

प्रकाशित: २६ पुष २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =