उम्मेदवारी दर्तापछि सिटौलाले भने : राष्ट्रसामु आएका चुनौतीको सामना गर्न पार्टीले टिकट दियो

हिमाल प्रेस २३ पुष २०८० १२:४३
28
SHARES
उम्मेदवारी दर्तापछि सिटौलाले भने : राष्ट्रसामु आएका चुनौतीको सामना गर्न पार्टीले टिकट दियो

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। आगामी माघ ११ गते हुने निर्वाचनका लागि सिटौलाले सोमबार विराटनगरमा निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बाेल्दै सिटौलाले राष्ट्रका चुनौतीको सामना गर्ने, जनताको हितमा काम गर्ने र साझा दृष्टिकोण लिएर संसद् अगाडि जानुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।

उनले भने,‘संसदमा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा काम गर्ने र साझा दृष्टिकोण लिएर संसद् अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो।’

सिटौला सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्। उनले आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको दाबी गरे।

२० जना राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्। २० सिटका लागि सत्ता गठबन्धन दलले भागबन्डा गरेका छन्। जसमध्ये निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

त्यस्तै गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चम्पादेवी कार्कीले पनि उम्मेदवारी दर्ता गरेकी छन्। विराटनगरमा आज बिहान १०:२१ मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका थिए। सिटौलाले साइत हेरेर उम्मेदवारी दर्ता गरेका थिए भने १२ बजेतिर माओवादी केन्द्रकी उम्मेदवार कार्कीले उम्मेदवार दर्ता गरिन्।

सिटौलाको प्रस्तावकमा कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा कांग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की छन्। यस्तै कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन्।

सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार कोशीमा हुन लागेको राष्ट्रियसभाको २ पदमध्ये अन्यतर्फ सिटौलाले र महिलातर्फ कार्कीले उम्मेदवारी दर्ता गरेका हुन्।

नेकपा एमालेले महिलातर्फ रुक्मिणी कोइराला र अन्यमा परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनीहरू पनि उम्मेदवारी दर्ताको तयारीमा छन्।

प्रकाशित: २३ पुष २०८० १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =