राष्ट्रियसभा निर्वाचनमा देउवाले मागेजति सिट नदिने बताएपछि शेखर-गगन समूह छलफलमा

हिमाल प्रेस २२ पुष २०८० १५:४८
22
SHARES
राष्ट्रियसभा निर्वाचनमा देउवाले मागेजति सिट नदिने बताएपछि शेखर-गगन समूह छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसको इतर समूह (शेखर-गगन) समूहले आन्तरिक छलफलमा जुटेको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सभापति शेरबहादुर देउवाले इतर समूहले मागेजति सिट दिन नसक्ने बताएपछि छलफलमा जुटेको हो।

राष्ट्रियसभा सदस्यको उमेदवार, भागबन्डालगायत विषयमा बैठकमा छलफल सुरु भएको बताइएको छ। छलफल नेता डा.शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा उक्त समूहका नेताहरू भेला भएका छन्। छलफलमा कोइरालासहित उपसभापति धनराज गुरुङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, बलबहादुर केसीलगायत नेता सहभागी छन्।

शेखर-गगनले सभापति देउवासँग केही बेरअघि छलफल गरेका थिए। छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले गठबन्धनसँगको भागबन्डामा पाउने १० सिटमध्ये ४ सिट पाउनुपर्ने विषयमा छलफल भएको थियो। सभापति देउवाले तीनभन्दा धेरै सिट दिन नसक्ने बताएपछि शेखर-गगन छलफल छोडेर उठेका थिए। देउवाले शेखर-गगनसँग छलफलकै लागि आजको कार्यसम्पादन समिति पनि सारेका थिए।

इतर समूहले यसअघि चुनाव हारेको व्यक्तिलाई राष्ट्रियसभामा ल्याउन नहुने र आफ्नो समूहलाई चार सिट पाउनुपर्ने विषय उठाउँदै आएको छ। आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ। त्यसका निम्ति सोमबार भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

त्यसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

प्रकाशित: २२ पुष २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =