सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिको निर्वाचन तालिका सार्वजनिक

हिमाल प्रेस २२ पुष २०८० १५:०६
4
SHARES
सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिको निर्वाचन तालिका सार्वजनिक

धनगढी- सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। प्रदेशसभा सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिनसभामुख भीमबहादुर भण्डारीले आइतबार प्रदेशसभा सदस्यसँग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तालगायतका काम पुरा गरिनेछ। यस्तै पुस २५ गते बुधबार दिउँसो १ बजे सभापतिको चुनाव गरिनेछ।

प्रदेशको विषयगत समिति गठन भएको एक वर्ष बढी भइसकेको छ। समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरू बस्ने गरेका छन्। जेठ ६ गते बसेको प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो।

प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन्।

सुदूरपश्चिमप्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल र एक स्वतन्त्रप्रदेशसभा सदस्य रहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार बनेको छ। एक मन्त्री र राज्यमन्त्री पाएको उन्मुक्ति पार्टीले संसदीय समितिमा दुई जना सभापति आफ्नो हुनुपर्ने दाबी गरिरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विषयगत समितिको सभापतिको दाउमा रहेको छ।

२३ गते सोमबार अपरान्ह ०५:०० बजे कार्यव्यवस्था परामर्श समितिको वैठक बस्‍ने भएकाे छ।

प्रकाशित: २२ पुष २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =