कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान

हिमाल प्रेस २२ पुष २०८० ११:२२
4
SHARES
कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान

कर्णाली- कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ। प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो।

शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताए। नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उनले जनाए।

‘अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौँ’, उनले भने, ‘सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ।’

नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उनको भनाइ थियो। उनका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षणकार्य सुरु गरिएको बताए। स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उनले जनाए।

प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको बताए। आठबीसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गरे।

रत्न तथा आभूषण संघ कर्णाली प्रदेश अध्यक्षमा पाण्डेय

सुनचाँदी रत्न तथा आभूषण संघ कर्णाली प्रदेश समिति अध्यक्षमा देवीकृष्ण पाण्डेय निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट निर्विरोध निर्वाचित पाण्डेयको अध्यक्षतामा १४ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो।

सोमननारायण कौशल उपाध्यक्ष, तोचेशकुमार सुनार महासचिव, हीरालाल सुनार र नरेशकुमार सचिव र जगतकुमार विश्वकर्मा कोषाध्यक्ष चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पाण्डेयले जानकारी दिए।

सदस्यमा कुमार विश्वकर्मा, कोमलसिंह विश्वकर्मा, अनिपाल पाण्डेय, कविराज न्यौपाने, दिलराम सुनार, धनबहादुर सुनार, विशाल सुनार र खगेन्द्र सुनार चयन भएको उनले जनाए। कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ।

त्यस्तै सङ्घको १७ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन भएको छ। समितिको अध्यक्षमा दिनेश घिमिरे निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष सन्तोष बराईली, प्रथम उपाध्यक्ष कमल खड्का (जूनी), द्वितिय उपाध्यक्ष गोविन्द गहतराज, महासचिव मदनकुमार सिंह, सचिव सुरेन्द्र विश्वकर्मा र कोषाध्यक्ष गणेश गौतम चयन भएका छन्।

कार्यसमिति सदस्यमा जंगबहादुर सुनार, झपेन्द्र गहतराज, नरबहादुर सुनार, राजकुमार सुनार, दीपक सुनार, नवीन लोहोनी, वीरबहादुर सुनार (प्रकाश), सुरज विश्वकर्मा र वीरबहादुर सुनार चयन भएका छन्। समितिको कार्यावधि तीन वर्षको हुने जनाइएको छ।

प्रकाशित: २२ पुष २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =