मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्रे

हिमाल प्रेस १९ पुष २०८० १५:२२
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्रे तस्बिर: रासस

दमौली– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्रे गरिएको छ। सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा ४ किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो।

१२.५ किलोमिटर दूरीमा चाहिँ एकतर्फी कालोपत्रे सकिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी कालोपत्र गरेर गाडी सञ्चालन सहज बनाउने काम भइरहेको छ। अन्य ठाउँमा पक्की पुल निर्माण, कल्भर्ट निर्माण, डिभाइडर बनाउने कामले पनि गति लिएको छ।

पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको ४१.५ किलोमिटर छ।

आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको इन्जिनियर पाण्डकोे दाबी छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ। यो खण्डमा ६३१ घरटहरा भत्काइने छ। त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने छ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे गर्न तयारी थालिएको छ। तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे थाल्ने तयारी गरिएको हो। त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने कामभइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी गराए।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशतमात्रै छ। सडक कालोपत्रेका लागि करिब २ किलोमिटर बेसको काम सकिएको पौडेलले बताए।

इन्जिनियर पौडेलले भने, ‘जनवरीको अन्तिम वा फेबु्रअरीको सुरुदेखि कालोपत्रे हुनेछ। त्यहीअनुसार अहिले काम भइरहेको छ।’ उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन्। त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ।

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्रे गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ। पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भइ विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

विसं २०२६ मा रेखाकंन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ।

बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्ने छ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्ने छ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।
–रासस

प्रकाशित: १९ पुष २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =