राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

हिमाल प्रेस १६ जेठ २०८० ११:५२
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

दमौली- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४, भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ। पृथ्वी राजमार्ग विस्तार गर्न लागि आज (मंगलबार) बिहान उक्त सहिदगेट भत्काइएको हो।

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो। सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो।

मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ। मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ।

सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा ६.०५ प्रतिशत प्रगति हासिल भएको छ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए।

आँबुखैरेनी गाउँपालिका-१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए। ‘यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ,’ उनले भने। वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनको भनाइ छ। -रासस

प्रकाशित: १६ जेठ २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =