जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

हिमाल प्रेस १९ पुष २०८० १२:२८
20
SHARES
जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

जनकपुरधाम- भारतको अयोध्यामा भगवान रामको नवनीर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार यात्रा अयोध्याका लागि प्रस्थान गरेको छ।

जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको हो।

आज राति भार यात्रा वीरगन‍्जमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा सो भार यात्रा अयोध्या पुग्ने छ। अयोध्या पुगेको भोलीपल्ट भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए।

यता भारत यात्रालाई विदाई गर्दै मधेशका मुख्यमन्त्री यादवले आफ्नै कार्यकालमा भगवान रामको नवनिर्मित मन्दिर र माता सीताको ससुरालीमा घरवासको भार पठाउन पाउँदा गौरवान्वित महशुश भईरहेको बताए।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ। यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ।

भार यात्रामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भगवान रामको घर अर्थात मिथिलाकी चेली माता सीताको नवनीर्मित घरमा गृहप्रवेश कार्यक्रममा यहाँबाट कोसेली लिएर जान पाउँदा जनकपुरधामवासी मात्रै नभई सम्पूर्ण मिथिलावासी गद्गद् रहेको बताए।

जनकपुरधाम निस्किएको भार यात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ। मलंगवाबाट बारास्थित गढीमाइ दर्शनपछि वीरगन्जमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ। वीरगन्जमा वास बसेको भोलिपल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा गरिने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ पुष २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =