राप्रपा र प्रसाईलाई एकै ठाउँमा उभिन पूर्वराजाको सुझाव

हिमाल प्रेस १८ पुष २०८० ११:५५
248
SHARES
राप्रपा र प्रसाईलाई एकै ठाउँमा उभिन पूर्वराजाको सुझाव

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रवादी महाअभियान चलाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एकै ठाउँमा उभिन सुझाव दिएका छन्। पूर्वराजाले राप्रपाका शीर्ष नेताहरू र प्रसाईलाई भिन्नाभिन्नै भेट गरी यस्तो सुझाव दिएका हुन्।

राप्रपाका एक नेताले पूर्वराजाले राजावादी शक्तिलाई एकै ठाउँमा उभ्याउन प्रयास गरिरहेको बताए। दुवैको एजेन्डा राजसंस्था र हिन्दु राज्य भएकाले एउटै कित्तामा उभिन सुझाव दिएको ती नेताको दाबी छ।

यसबीचमा पूर्वराजाले प्रसाईलाई पनि डाकेर राप्रपासँग सहकार्य गर्न सुझाव दिएका ती नेताले बताए। प्रसाईले भने पूर्वराजासँगको भेटका विषयमा आफूले तत्काल केही बोल्न नमिल्ने बताए। उनले भने, ‘पूर्वराजाले के विषयमा छलफल गर्नुभएको हो, त्यो उहाँको विषय हो। मलाई अहिले यसबारे केही बोल्न मिल्दैन।’

प्रसाईको आयोजनामा फागुन १ गते वसन्तपुरमा पूर्वराजाको हातबाट दियो बाल्ने कार्यक्रम हुँदैछ। पूर्वराजाले राप्रपा अध्यक्ष लिङदेनसहितका शीर्ष नेतालाई उक्त कार्यक्रममा सहभागीस् हुन अप्रत्यक्ष दबाब दिइरहेको ती नेताले जानकारी दिए। यस विषयमा पूर्वराजाले राप्रपाका दोस्रो पुस्ताका नेतासँग गोप्य छलफल गरिसकेको ती नेताको दाबी छ।

ती नेताको बुझाइमा पूर्वराजा ज्ञानेन्द्र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिन्तित छन्। उनले भने, ‘त्यसैले उहाँले राजावादी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गर्न थाल्नुभएको हो।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, धवलशमशेर राणा, दीपक सिंह र रवीन्द्र मिश्रलाई बुधबार पूर्वराजालाई लन्च बैठकमा बोलाएका छन्।  ‘पूर्वराजाले राप्रपाका ५ जना शीर्ष नेतालाई लन्चमा बोलाउनुभएको हो। तर के उद्देश्यले बोलाउनुभएको हो, त्यसबारे जानकारी भएन’, उनले भने।

राप्रपाले मंसिर ९ गते पूर्वराजालाई झापाको एक कार्यक्रममा अभिनन्दन गरेको थियो। मेडिकल व्यवसायी प्रसाईले गत वर्ष फागुनमा राजा परिवारका सबै सदस्य झापाको मेची पुलमा लागेर महाअभियान सुरु गरेका थिए।

राप्रपाको गत साता बसेको केन्द्रीय समिति बैठकले पनि हिन्दु राज्य र राजावादी शक्तिहरू एकै स्थानमा उभिने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =