कसले रोक्ला लोसपा विभाजन?

किरण पौडेल १८ पुष २०८० ६:५३
120
SHARES
कसले रोक्ला लोसपा विभाजन? राजेन्द्र महतो र महन्थ ठाकुर।

काठमाडौँ- दुई नेताबीचको जुँगाको लडाइँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विवादको उत्कर्षमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबी मतभेद पार्टीको तल्लो देखिएपछि पार्टी विभाजन हुने त हैन भन्ने शंका बढेको लोसपाका कार्यकर्ताहरू बताउँछन्।

महतोले सार्वजनिक रूपमा ठाकुरप्रति विषवमन गरिरहेका छन्। उनी १० दिन लामो मधेश यात्रा गरेर काठमाडौँ फर्किएका छन्। पार्टीमा उत्पन्न विवादका विषयमा अध्यक्ष ठाकुर भने मौन छन्। तर उनी निकट नेताहरूले पार्टी विभाजन गर्न खोजिएको भन्दै महतोप्रति आक्रोश पाखिरहेका छन्।

महतो निकट नेताहरूका अनुसार उनी आफ्ना निकटस्थसँग परामर्शमा छन्। विभिन्न जिल्ला गएर महतोले ठाकुर पक्षलाई आलोचना गरे। सरकारबाट तत्काल फिर्ता भएर आन्दोलनमा जानुपर्ने उनको माग थियो। ‘उहाँले १० दिनमा १० जिल्ला घुम्नुभयो। यसबारे मधेश आन्दोलनबारे गम्भीर क्षणमा आएको अभिव्यक्ति दिनुभयो,’ महतो निकट मानिने किशोर गुरुले भने, ‘उहाँले मधेशप्रति राज्यले गरेको दमनविरुद्ध आन्दोलन गर्नुपर्ने बताउनुभएको छ।’

ठाकुर पक्षले भने महतोले पार्टी हितविपरीत अभिव्यक्ति दिएको बताउँदै आएको छ। लोसपा महासचिव सुरेन्द्रकुमार झा भन्छन्, ‘उहाँ (महतो) जत्तिको नेताले त्यस्तो अभिव्यक्ति दिन मिल्दैन। यसको अर्थको महतोजीले आफ्नै घरमा आगो लाउँदै हुनुहुन्छ।’

नेतृत्वको आलोचना गर्न थालेपछि ठाकुर पक्ष महतोलाई अनुशासनको कारबाही गर्ने तयारीमा छ। झाले पनि महतोलाई कारबाही हुने संकेत गरेका छन्। ‘उहाँ(ठाकुर)लाई केही न केही त गर्नैपर्ने भयो’, झा भन्छन्।

ठाकुर-महतो विवाद लामो समयअघिकै हो। ठाकुर पक्षले महतो पक्षका नेतालाई केन्द्रीय समितिमा नतानेको भन्दै विवाद सतहमा आएको थियो। २५ मंसिरको केन्द्रीय समिति बैठकमा पनि महतोसहितका नेता सहभागी भएनन्। महतोले लोसपामा पूर्वकांग्रेसीहरूको वर्चस्व रहेको आरोप लगाएका थिए।

लोसपा अध्यक्ष ठाकुर कांग्रेसबाट मधेशवादी दलमा आएका हुन्। महतोले ठाकुरलाई नै इंगित गर्दै भनेका थिए, ‘सबैको पार्टी बनाउनुपर्छ। मधेश आन्दोलनका लागि कांग्रेसले नभएर मधेशवादी बनेको हो। अब फेरि कांग्रेसलाई बढवा दिने?’

संस्थापन पक्षले भने अब लोसपामा पूर्वकांग्रेस र पूर्व सद्भावना (सद्भावना पार्टी) नरहेको बताएको थियो। ‘पहिलो जसपा (जनता समाजवादी) हुँदासम्म पार्टीमा धेरै धार/गुट थिए। अब सिंगो पार्टी छ,’ महतो पक्षीय नेता एवं लोसपा केन्द्रीय सचिव मनिष मिश्रले भने, ‘यस्ता कुरामा अनावश्यक टक्कर लिनुहुन्न।’

महतो सद्भावना पार्टीका संस्थापक हुन्। उनी सद्भावनाबाट राष्ट्रिय जनता पार्टी (राजपा) र जसपा हुँदै अहिले लोसपामा आएका हुन्। मधेशी दल कमजोर भएको भन्दै केही वर्षअघि ६ पार्टी मिलेर राजपा बनेको थियो। तत्कालीन तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष थिए ठाकुर। त्यहीँबाट ठाकुर-महतो एक भएका थिए।

जसपा बनाउँदा पनि ठाकुर-महतो एकै ठाउँमा थिए। जब उपेन्द्र यादवले जनता समाजवादी पार्टीमा एकाधिकार जमाउन थाले त्यसविरुद्ध आवाज उठाउन ठाकुर-महतो एक भए। यादवसँग बस्न नसक्ने भन्दै उनीहरूले छुट्टै पार्टी (लोसपा) बनाए। पछिल्लो समय त्यही लोसपामा पनि विभाजन आउन खोजेको छ। अहिलेसम्म दुवैपक्ष पार्टी विभाजन हुन्छ भन्न चाहँदैनन्। ‘पार्टीभित्रको तिक्तता मिल्छ भन्नेमा आशावादी छु,’ महतो निकट किशोर गुरु भन्छन्।

ठाकुर निकट मनीष मिश्र पनि पार्टी विभाजन भइहाल्छ भन्न नमिल्ने बताउँछन्। ‘आउँदा दिनमा एकै ठाउँमा बस्ने वातावरण मिल्छ भन्नेमा आशावादी छु’, उनले भने।

ठाकुर पक्षले लखेटेको आरोप

महतो पक्ष पार्टी मिल्छ-मिल्दैन सार्वजनिक गर्न चाहेको छैन। तर ठाकुर पक्षले विभाजन ल्याउन खोजेको आरोप महतो पक्षको छ। सोमबार मात्रै लोसपाको लुम्बिनीस्तरीय प्रदेश सम्मेलन थियो। सम्मेलनमा ठाकुर पक्षलाई आमन्त्रण नगरेको आरोप लागेको छ। ‘हामीलाई सम्मेलनमै बोलाइएन। यो पार्टी हाम्रो होइन?’ महतो पक्ष एक नेताले भने। संस्थापन पक्ष भने सम्मेलनमा सबैलाई निमन्त्रणा गरेको बताउँछ।

सम्मेलनमा काठमाडौँबाट महन्थ ठाकुरलगायतका नेता जाने तयारी थियो। खराव मौसमका कारण उनीहरू जान सकेनन्। पार्टी सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो। ठाकुर पक्षीय नेताले निमन्त्रणा नभएको भन्दै सम्मेलनमै विरोध गरेका थिए।

के चाहन्छन् ठाकुर-महतो?

ठाकुर-महतोबीच संवाद हुन छाडेको छ। महतो पक्षीय नेताहरू ठाकुरसँग छलफल गर्न चाहँदैनन्। ठाकुर पक्ष नेताहरू महाधिवेशनसम्म ठाकुर अध्यक्ष रहनुपर्ने पक्षमा छ। तर महतो पक्ष भने तत्काल अध्यक्ष परिवर्तन गर्नुपर्ने अडानमा छ। लोसपाको महाधिवेशन पनि अनिश्चित छ।
महाधिवेशनअघि विधान अधिवेशन राख्ने तयारी छ,। महतो यही बीचमा अध्यक्ष बन्न चाहन्छन्। ‘ठाकुरजी वृद्ध हुनुभयो। अब कहिलेसम्म अध्यक्ष बन्ने?’ महतो निकट गुरु भन्छन्।

ठाकुर पक्ष महतोको प्रस्ताव मान्न तयार छैनन्। उनीहरू अनुभवी र त्यागी नेता भन्दै ठाकुरलाई नै अध्यक्ष बनाउन चाहन्छन्। महतो पक्ष पछिल्लो समय ठाकुरसँग भन्दा पनि दोस्रो स्तरका नेतासँग आक्रोशित छ।

महतोप्रति अनुशासनको कारबाही गर्ने भनिएपछि महतो पक्षीय नेता झनै आक्रोशित छन्। ‘अनुशासनको कारबाही कसका लागि?’ महतो निकट एक नेता भन्छन्, ‘मधेशको पक्ष बोल्नुपर्छ भन्दा कारबाही! यो हुनै सक्दैन।’ महतोले आफूमाथि संस्थापनले विभेद गरेको बताउने गरेका छन्।

यही गुनासोसहित पार्टी नेतृत्व हत्याउने दाउमा महतो छन्। अहिले पार्टीमा उनको दोस्रो वरीयता छ। सरकारमा सहभागी भए पनि लोसपालाई खास फाइदा नपुगेको तर्क उनको छ। अहिले श्रम रोजगार मन्त्रालय लिएर लोसपा सरकारमा गरेको छ। मन्त्री शरद्सिंह भण्डारी ठाकुर निकट नेता हुन्। मधेश प्रदेश सरकारमा पनि लोसपा सहभागी छ।

पछिल्लो समय महतोले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्छ भन्नुको कारणचाहिँ केही दिनअघिको अदालतको फैसला हो। मधेश प्रदेश सदस्य एवं लोसपा नेतासमेत रहेका अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएको थियो। शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जोडिएका थिए।

अदालतले एमाले नेता एवं सांसद लक्ष्मी महतो (कोइरी) लाई भने सफाइ दिएको छ। यो अदालती आदेशबाट महतोपक्ष बिच्किएको छ। महतो आफूहरूप्रति अन्याय भएको भन्दै सरकार छाडेर आन्दोलनमा जानुपर्ने बताउँछन्।

‘मधेश आन्दोलनलाई आपराधिक देखाउने काम भएको छ। यो सरासर अन्याय छ,’ सप्तरीस्थित राजविराजको पत्रकार सम्मेलनमा महतोले भने, ‘झापा विद्रोह र जनयुद्धलाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई आपराधिक मान्ने! यो मान्य हुँदैन।’

महतोले मधेशमा नयाँ शक्ति जन्मिने बताएका थिए। संस्थापन पक्ष नेता भने महतो आफैँले पार्टी छाड्ने संकेत गरेको बताउने गरेका छन्। यही विषयले संस्थापनमा संशय आएको छ।

प्रकाशित: १८ पुष २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =