एकीकृत समाजवादीले पारित गर्‍यो २० बुँदे प्रस्ताव

हिमाल प्रेस १४ पुष २०८० ७:४१
2
SHARE
एकीकृत समाजवादीले पारित गर्‍यो २० बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक २० बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ। बैठकले एक वर्षको अवधिमा वर्तमान सरकारले जनताका पक्षमा गरेका राम्रा प्रयासको सराहना गरेको छ।

कृषि क्षेत्रमा दिने कर्जालाई सहज बनाउँदै यस क्षेत्रको आधुनिकीकरण गरी उत्पादन वृद्धि तथा बजारीकरणलाई उच्च प्राथमिकता दिन बैठकले माग गरेको छ।

बैंकिङ कर्जाको अनुपातमा कृषि कर्जाको अंश अत्यन्त न्यून रहेकाले यस क्षेत्रमा कर्जा वृद्धि गरी कृषि अर्थतन्त्रको पूर्वाधार तयार गर्न बैठकले आग्रह गरेको छ।

मुलुकमा कृषि क्षेत्रको सुधार गरी देशको आर्थिक वृद्धि गरी रोजगारी सृजना गर्न तथा जनताले उत्पादन गरेका उपजको न्यूनतम समर्थन मूल्यमा खरिद गरी ब्राण्डिङ गर्न बैठकले सुझाव दिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेपाल दूर सञ्चार प्राधिकरणको स्वीकृति बिना सेयर न्यून मूल्यांकन गरी बिक्री गर्ने र एनसेलको स्वामित्व नेपाल सरकारमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन तथा सहकारी क्षेत्रका समस्या समाधान गरी जनताको निक्षेप सुरक्षण गर्न बैठकले आग्रह गरेको छ।

नेकपा समाजवादीले विप्रेषण तथा पर्यटनक्षेत्रलाई थप व्यवस्थित गर्नुपर्ने, व्यापारमा आएको गिरावटले बैंकिङ कर्जा न्यून भई तरलतामा भएको वृद्धि व्यवस्थापन गर्नुपर्ने, पूँजी बजारमा देखिएको अस्थिरता, मुद्रास्फीति व्यवस्थापन गर्न सरकारले वित्त नीतिमा परिमार्जन गरी अर्थतन्त्रलाई गतिशील बनाउन सरकारलाई सुझाएको छ।

साथै उक्त पार्टीले जाजरकोट भूकम्पपीडितलाई सुरक्षित आवास व्यवस्थापनलगायत अन्य आवश्यक सहयोग समयमै उपलव्ध गराउन अनुरोध पनि गरेको छ।

बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रहरुमा भएको अतिक्रमणको विरोध गर्दै अतिक्रमित भूमि गराउन नेपाल सरकारले प्रभावकारी कदम चाल्न जोडदार माग गरेको छ भने आतंकवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको माग गरेको छ।

प्रकाशित: १४ पुष २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =