कांग्रेस बैठकमा के भयो छलफल?

हिमाल प्रेस १२ पुष २०८० १९:१८
14
SHARES
कांग्रेस बैठकमा के भयो छलफल? कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार)देखि सुरु भएको छ। पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरे। शर्माले बैठकका एजेन्डा राखेसँगै बैठकमा नेताहरूले आफ्ना भनाइ राख्नेक्रम सुरु भएकोछ। खास गरी यसपटकको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कामको विवरण सुनाउनेछन्।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री  शर्माले प्रस्तावहरू राखेसँगै समुदायमा कांग्रेस अभियानको कार्ययोजनाबारे अर्का महामन्त्री गगनकुमार थापाले जानकारी गराए। जाजरकोट भूकम्पबारे सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराए।

आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले आफ्नो मन्त्रालयको रिपोर्टिङ गरे। शुक्रबार अन्य मन्त्रीहरूले पनि रिपोर्टिङ गर्नेछन्। बैठकमा सहभागी नेता कांग्रे प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले मुख्य पाँच एजेन्डा तय भएको जानकारी दिए।

उनका अनुसार माओवादी नेतृत्वको गठबन्धन सरकारबारे समीक्षा हुनेछ। त्यसैगरी पार्टीको सांगठानिक गतिविधिबारे पनि बैठकमा छलफल हुनेछ। बैठकमा आगामी फागुनका लागि तय भएको महासमिति बैठकको तयारीबारे पनि छलफल हुने विश्वकर्माको भनाइ छ।

त्यस्तै पुस १६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने राष्ट्रिय मेलमिलाप दिवसबारे पनि छलफल हुनेछ। कांग्रेस बैठकमा माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनबारे पनि छलफल सुरु भएको छ। त्यसैगरी पुस १६ गतेदेखि गर्न लागिएको ‘समुदायमा कांग्रेस कार्यक्रम’को तयारी पनि बैठकको एजेन्डामा छ।

यीनै एजेन्डाअनुसार सरकारमा रहेका मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यसमितिमा जानकारी गराउने भएका छन्। ‘पार्टी संगठन कसरी गइरहेको छ। पार्टीका जिल्लाका समस्याहरू प्रस्तुत भएका छन्’, उनले भने, ‘राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनौट गर्दा सबैलाई न्याय होस् भन्ने कुरा आएको छ। कोही दोहोरिने, कोही अन्यायमा परिरहने नहोस्।’

कांग्रेसप्रति फरक सोच ल्याउने गरी महासमितिले निर्णय पास गर्नुपर्ने कुरा पनि नेताहरूले उठाएको उनको भनाइ छ। ‘पार्टी गतिविधि सुस्त भएकाले चलायमान बनाउनुपर्छ भन्ने सुझाव आएको छ’, उनले भने, ‘सहकारीमा भएको अपचलन, अनियमितता र ठगी जस्ता विषय उठेका छन्। यो समस्या कोभिडपछि उठेको हो। कतिपय सहकारी आर्थिक मन्दीका कारण अप्ठ्यारोमा परेका थिए। तर ठूला सहकारीहरू नियतवश नै जनताको पैसा खान लागे भन्ने आएको छ।’

बिहीबारको बैठकमा दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, स्वास्थ्यमन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमति शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले आफ्नो धारणा राखिसकेका छन्।

यसपटकको कांग्रेस बैठक सामाजिक सञ्जालमा लाइभ गरिएको छैन। यसअघि लाइभ गर्का अधिकांश नेताले प्रशंसा गरेका थिए भने केही नेताले विरोध गरेका थिए। अब बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्नेछ।

प्रकाशित: १२ पुष २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =