प्रदेश सञ्चार ऐन ल्याएर पारित गराउने गृहकार्यमा मुख्यमन्त्री कार्की

हिमाल प्रेस ९ पुष २०८० १६:१९
38
SHARES
प्रदेश सञ्चार ऐन ल्याएर पारित गराउने गृहकार्यमा मुख्यमन्त्री कार्की

इटहरी- कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन्।

मुख्यमन्त्री निवासमा भेटघाटका लागि सोमबार पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तिका लागि बहस चलाउन आग्रह गरेका हुन्।

‘प्रदेश सरकारलाई काननु बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानुन, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ’, उनले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसदमाथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन?’

प्रदेशलाई संस्थागत गर्न, संविधान कार्यान्वयको, संसदमा संविधान कार्यान्वयनको बारेमा आवाज उठ्यो कि उठेन त्यस बारेमा पत्रकार महासंघले बहस गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो। ‘पत्रकार महासंघ इन्स्टिच्युट हो। सरकारलाई यो राम्रो र यो नराम्रो पत्रकार महासंघले भन्नुपर्छ। खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘पत्रकार र पत्रकार महासंघ सरकारको अंग नै भएकाले सरकारको कामकाज प्रभावकारी बनाउन भूमिका निर्पाह गर्नु आवश्यक छ।’

पत्रकारले प्रदेश सरकारले गरेका राम्रो कामको प्रचार र कमीकमजोरीप्रति खबरदारी गर्ने दायित्वबाट पञ्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो।  ‘प्रदेश सरकार पत्रकारको अधिकार संरक्षणका साथै वृत्ति विकासमा सदैव तत्पर रहन्छ। त्यसैले ढुक्क भएर निष्पक्ष रूपमा कलम चलोस्’, उनले भने, ‘प्रदेश सरकारले चालु प्रदेशसभाको अधिवेशनमा नै सञ्चार ऐन ल्याएर पारित गराउँछ।’

प्रकाशित: ९ पुष २०८० १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =