नियात्रा

आमायाङ्ग्री र पाँचपोखरीबाट हिमाली सौन्दर्य नियाल्दा

अमृतप्रसाद पौड्याल ७ पुष २०८० १०:५२
108
SHARES
आमायाङ्ग्री र पाँचपोखरीबाट हिमाली सौन्दर्य नियाल्दा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने पाँचपोखरी। तस्बिर : अमृतप्रसाद पौडेल

२०८० असोज १२ गते शुक्रबार करिब सवा बाह्र बजे आठ जनाको हाम्रो डफ्फा शिक्षण अस्पताल, महाराजगन्जबाट बोलेरो फोडब्लूडीमा बसी मेलम्चीतर्फ प्रस्थान गर्‍यो। चाबहिल, जोरपाटी हुँदै साँखु बजार पार गरेपछि पालुबारीका हरिया खेत हेर्दै हामी जहरसिंह पौवा छिचोल्दै मेलम्चीतिर सोझियौँ। हाम्रो उद्देश्य थियो, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा अवस्थित आमायाङ्ग्री पिक स्पर्श गर्नु र सोही जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोताङमा पर्ने पाँचपोखरीमा डुबुल्की मार्नु।

हाम्रो टोली करिब दुई बजे मेलम्ची बजारमा पुगेको थियो। मेलम्ची बजार दुईवटा नदीको सङ्गममा छ- मेलम्ची र इन्द्रावती। लाङटाङ क्षेत्रबाट उत्पत्ति भएको मेलम्ची सप्तकोशीमा मिल्ने सबैभन्दा पश्चिमको नदी हो। अर्को इन्द्रावती पाँचपोखरी क्षेत्रबाट उत्पत्ति भई मेलम्ची बजारमा आएर मेलम्ची नदीसँग जोडिन्छ। त्यसपछि इन्द्रावतीको रूप लिएर बग्ने यो नदी दोलालघाट पुगेपछि सुनकोशीमा परिणत हुन्छ।

मेलम्ची बजारको एउटा होटलमा केहीबेर आराम गरेर खाजा एवं चियाले भोक मारेपछि हाम्रो यात्रा मेलम्ची नदीको किनारैकिनार तार्केघ्याङतिर लाग्यो। थोरै पिच र अधिकांश बगरझैँ देखिने कच्ची बाटोमा बोलेरभित्र बसी यात्रा नापिरहेका हामी करिब २५ मिनेटपछि मेलम्ची खानेपानीको सुरुङ रहेको अम्बाथानतर्फ जाने बाटोलाई बायाँ छोड्दै उकालो उक्लिन थाल्यौँ।

दुई ठूला पहाडको बीचमा बगेकी मेलम्चीलाई जतिजति माथि पुगिन्छ, पछिल्तिर फर्किएर हेर्दा उतिउति आकर्षक देखिँदै थियो। बाक्लो झाडीको बीचमा घुम्ती र मोडहरूले सुसज्जित बाटो कतै ग्राभेल, कतै चुच्चा ढुंगा थिचेर बनाइएका, कतै बालुवा र माटोको मिश्रण थिए। चराका चिरबिर र ससाना खोल्सामा सफा पानी बगेको छङछङ आवाजले कच्ची बाटोमा भइरहेको अप्ठ्यारोपन भुलाउँदै प्राकृतिक आनन्द भइरहेको थियो।

साँझ पाँच बजे हामी तार्केघ्याङ पुग्यौँ। देब्रेतिर मेलम्ची गाउँ र मेलम्ची घ्याङ, ठिक त्यसकै तल पश्चिम उत्तरबाट बग्दै आएको याङ्ग्रीखोला, लहरै रहेका सेता रङ पोतिएका ससाना चैत्य, बन्दै गरेको ठूलो तार्केघ्याङ र केही घरले भरिपूर्ण बस्ती निकै रमणीय थियो।

हामी होटल याङ्ग्री पिकको सिँढी चढ्दै भित्र प्रस्थान गर्‍यौँ। हामीलाई त्यहाँ तातोपानी, कालो चिया, उसिनेको आलुले सत्कार गरियो। ती परिकारको स्वाद लिँदै हामी केहीबेर आँगनमै गफियौँ। चिसोको मात्रा बढेपछि आगो बाल्ने चुलो र लामो पाइप चिम्नी रहेको भित्री कोठामा गयौँ। खाना खाने कोठामा पनि आगोे बलिरहेको चुलोमाथि चियादानीमा पानी उम्लिरहेको थियो। वरिपरि टेबल र बेन्च लहरै बसेर खाना खायौँ।

सोही समयमा एकअर्का एक विदेशी पाहुना त्यहाँ आइपुग्नुभयो। उमेरले अलि वृद्ध देखिने उहाँ रुसबाट आउनुभएको रहेछ। नेपाली भाषामै भलाकुसारी गर्दैगर्दा उहाँले ‘तपाईँहरू पनि धार्मिक भ्रमणमा आउनुभएको हो?’ भनेर सोध्नुभयो। उहाँ मेलम्ची क्षेत्रको कुनै गुम्बामा भगवान् बुद्धको आराधनाका लागि केही दिन बस्न भनेर आउनुभएको रहेछ। युद्धग्रस्त रुसका नागरिकले शान्तिका लागि नेपालको हिमाली क्षेत्र रोज्नु पक्कै पनि खुसीको कुरा थियो।  साथमा नेपाली सहयोगीसमेत रहेछन्।

बिहान साढे चार बसे उठ्ने र पाँच बज्दा आमायाङ्ग्रीका लागि हिँड्ने योजना बनाई हामी यात्राको पहिलो रात सुत्न गयौँ। भोलिपल्ट बिहान करिब ४ः५० मा हामी आमायाङ्ग्रीको डाँडोतर्फ लाग्यौँ। सबैजनाले आआफ्नो झोलामा केही खानेकुरा, पानी, छाता, रेनकोट बोकेका थियौँ। अँध्यारै थियो। मोबाइल र टाउकोमा बाँधेको टर्चलाइटको प्रकाशले चिप्लो, साँघुरो एवं दायाँबायाँ झाडी र बुट्यानका बीचमा रहेको बाटो पहिल्याउँदै हिँड्न थाल्यौँ। एक घण्टा निरन्तर उकालो लागेपछि बिहानको उज्यालो किरणले हामीलाई मार्गदर्शन गर्न थाल्यो। अँध्यारोमा पदमार्गलाई अन्दाजमा नापिरहेका हामी रूखपात, झाडी, बुट्यान हुँदै हिँड्दा जुका लाग्ने प्रबल सम्भावना रहन्थ्यो।

अघिल्लो दिन होटलका साहुजीले जुकाबाट बच्न पानीमा खैनी भिजाएर जुत्तामा लगाउनुपर्ने सल्लाह दिनुभएको थियो। उहाँले एक पाकेट खैनीसमेत दिनुभएको थियो। हिँड्ने बेलामा हामी सबैले खैनीपानीले जुत्ता पुछपाछ गरेका थियौँ। बाटोमा दुईचारवटा जुकाले मुख बाएको देखेपछि एकले अर्काको जुत्ता हेर्दै हामी अगाडि बढ्यौँ।

अलि माथि पुगेपछि खुला ठाउँ आयो। त्यहाँ एकछिन सुस्तायौँ। आफूले बोकेर ल्याएको बोतलको पानी पिउँदै दुईचारवटा फोटा खिच्यौँ। हाम्रो यात्रा जारी रह्यो। साढे ६ बजे हामी करिब ३२०० मिटरको उचाइमा रहेको झुमोथाङ पुग्यौँ। त्यो आमायाङ्ग्रीको ‘बेस क्याम्प’ रहेछ। टी हाउस बाहिरै राखिएको मेचमा झोला बिसायौँ र जुकाले आक्रमण गरेको छ कि भनेर आआफ्ना जुत्ता फुकालेर हेर्न थाल्यौँ।

हामीमध्ये दुईजनाको जुत्ताभित्र पसी जुकाले बिहानी नास्ता गरिसकेछ। झोलामा बोकेको काजु, किसमिस खाँदै र फोटो खिच्दै कुर्सीमै बसिरह्याैँ। उक्त टी हाउसका साहुजीबाट पिकमा पुग्न अझै दुई घण्टा लाग्ने जानकारी प्राप्त भयो। त्यहाँसम्म पुग्न शरीरलाई ऊर्जा चाहिने भएकाले होटलमा उपलब्ध तरकारी, उसिनेको अण्डा र चिया खायौँ। खाजाको लागत केही महँगो थियो। त्यस प्रकारको पर्यटकीय स्थानमा महँगो हुनु स्वाभाविक हो।

रूखपात, ससाना बुट्यान र झाडीको बीचबाट हाम्रो यात्रा उकालो लाग्यो। केही वर्षअगाडि बनेका ढुंगाका सिँढी मर्मत गर्ने बेला भएको रहेछ। कतै बालुवा ढुंगाका गेग्रान पनि थियो। फोटा खिच्दै, स्याँस्याँ गर्दै, एकछिन रोकिँदै, गफ गर्दै, आफू हिँडेर आएको बाटो फर्केर हेर्दै सुस्तसुस्त गतिमा पाइला सारिरह्यौँ। बिहानको मनोरम समयमा चराचुरुंगीको आवाज, रुखपातको हरियालीले थकाइ बिर्साउँदो रहेछ।

डाँडाकाँडामा रहेका प्राकृतिक मनमोहकताले साँच्चै नेपाललाई धनी बनाएको छ भन्ने आभास महसुस भयो। आमायाङ्ग्रीको मन्दिरभन्दा १०० मिटर जति तल पुग्दा उत्तरबाट लहरै हँसिलो मुहारमा रहेका हिमाल आँखाअगाडि आइपुगे। त्यो दृश्य देखेपछि हामीले सबै कष्ट बिर्सियौँ ।

त्यहाँ एकछिन आराम गर्‍यौँ। सुन्दर हिमशृंखलालाई मोबाइलमा कैद गरी सामूहिक फोटा खिच्यौँ। वरिपरि रहेका जुगल हिमाल, लार्के हिमाल, पाँचपोखरीको डाँडो, सिन्धुपाल्चोकको चौतारा र काभ्रेको धुलिखेलको डाँडा पनि देखिँदो रहेछ। त्यहाँबाट हामी पिकतिर उकालो लाग्यौँ।

सिँढीमार्गमा म र कालीप्रसादजी अरूभन्दा अगाडि थियौँ। दाहिनेतर्फ भित्तोको ढुंगाको चेपबाट भुर्रर चरो उडेको देखियो। हामी दुवै ‘डाँफे-डाँफे’ भनी करायौँ। हाम्रा लागि त्यो एक प्रकारको सौभाग्य थियो।

बिहान नौ बजे हामी लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत हेलम्बुमा अवस्थित करिब ३७०० मिटरको उचाइमा रहेको प्रसिद्ध आमायाङ्ग्री जाङदोपल्री गुम्बाको आँगनमा पुग्यौँ। त्यो आँगन हाम्रो यात्राको त्यस दिनको उच्चतम बिन्दु थियो। वरिपरि हेर्दा नौ डाँडा पार गरी त्यहाँ आइपुगेको महसुस भयो। उत्तरतर्फ लहरै मिलेर बसेका हिमशृंखला, पूर्वतर्फ पाँचपोखरी चुचुरो, दक्षिणतर्फ धुलिखेलको डाँडो, पश्चिमतर्फ लाङटाङको पहाडबाट मेलम्ची नदीमा मिसिने अनेकन् खोल्सा बगिरहेका दृश्य अवलोकन गर्‍यौँ। आमायाङ्ग्रीको मूर्तिलाई बाहिरबाटै दर्शन गरी लगभग आधा घण्टा बिताइ तल झर्न थाल्यौँ।

जाँदा चार घण्टा लगेको बाटो फर्कँदा केही चाँडो त हुने नै भयो तर पनि बालुवा, गेग्रान र सिँढी भएकाले सुस्तरीसुस्तरी सावधानका साथ ओर्लियौँ। करिब १०ः४५ मा बिहान चिय नास्ता खाएको झुमोथाङमा आइपुग्यौँ। होटल सञ्चालकसँग गुम्बा बन्द रहेकाले भित्र जान नपाएको जानकारी गरायौँ। उहाँले भन्नुभयो, ‘ए त्यो गुम्बाको व्यवस्थापक मै हुँ, साँचो त मैसँग छ।’

केही मिनेट त्यहाँ आराम गरी फर्कन लाग्दा तातोपानी मागी खायौँ। तातोपानी दिने बहिनीलाई पैसा पर्छ कि भनेर सोध्दा ‘पानी खुवाउनु पाउनु त हाम्रा लागि सौभाग्य हो नि’ भनी सहृदयता देखाउनुभयो। उच्च स्थानमा रहने पर्यटकीय क्षेत्रमा निःशुल्क सेवासुविधा विरलै पाइन्छ। तर हेलम्बु क्षेत्रमा त्यस्तो सुविधा पाएपछि मनमनै खुसी हुँदै हामी अगाडि बढ्यौँ।

शनिबार दिनको सबा बाह्र बजे हामी तार्केघ्याङमा रहेको होटलमा आइपुग्यौँ। अघिल्लो दिन बेलुका खाना खाने बखतमै भोलिपल्टका लागि स्थानीय निगुरोलगायतका तरकारी खाने सल्लाह भएको थियो। होटलमा आएर केहीबेर आराम गर्‍यौँ। नुहाइधुवाइ गरी खाना खाएर दिनको करिब १ः३५ मा हामी होटलबाट बिदा भयौँ। अनि बोलेरोमा बसेर मेलम्ची बजारतर्फ लाग्यौँ।

करिब चार बजे हामी मेलम्ची बजारमा पुग्यौँ। अब हाम्रो यात्रा अर्को प्रसिद्ध पर्यटकीय स्थल पाँचपोखरीतर्फ थियो। पाँचपोखरीका लागि छिम्ती जान मेलम्ची बजारको दहिनेतर्फ बगिरहेको इन्द्रावतीको किनारैकिनार अगाडि बढयौँ। हामी चढेको बोलेरो अविरल बगिरहेको इन्द्रावतीलाई देब्रे पार्दै उत्तरतर्फ लाग्यो।

मेलम्ची नगरपालिका सकिनेबित्तिकै हामीलाई पाँचपोखरी थाङपाल गाउँपालिकाको कलात्मक द्वारले स्वागत गर्‍यो। सडक कतै पानी जमेको हिलो, कतै रोडाढुंगाको कच्ची, कतै ढलान त कतै पिच थियो। छिम्तीमा रहेको होटल पाँचपोखरी पुग्दा साँझको साढे सात बजेको थियो।

होटलको कोठामा झोला बिसाई हातखुट्टा धोएपछि स्फूर्ती महसुस भयो। उसिनेको आलु र कालो चिया खाँदै बिहान कति बेला पाँचपोखरीका लागि उकालो लाग्ने हो भन्ने विषयमा छलफल गरियो। बिहान सात बजे हिँड्दा ठिक हुने रायमा सहमति भएपछि खाना खाएर सुत्यौँ।

आइतबार बिहान सात बजे चियानास्ता खायौँ। सोही बाटो फर्कने भएकाले झोलामा रहेका कम प्राथमिकताका केही सामान त्यही होटलमा जिम्मा लगयौँ। अनि १८७४ मिटरको उचाइमा रहेको छिम्तीबाट १७.८ किमि दुरीमा रहेको पाँचपोखरीका लागि हाम्रो पाइला अगाडि बढे। देउरालीमा रहेका झरनाले हामीलाई परैबाट स्वागत गरिरहेको थियो। नियालेर हर्दा झरनालाई आकर्षक बनाउन पाइप राखिएको रहेछ। जसको नाम ‘ड्रागन कृत्रिम झरना’ रहेछ। गडगडाएर दक्षिणतर्फबाट आएको ह्युंगर झरना र हुंगर खोलामाथि रहेको झोलुंगे पुल तर्दै हामी देउरालीको उकालोमा बनेको ढुंगाको सिँढी उक्लन लाग्यौँ। ठाडै उकालो भएकाले सिँढी उक्लन हामी डाँडापाखामा नियमित नहिँडेका सहरियालाई केही गारो हुनु त स्वाभाविक रह्यो तर पाँचपोखरीको लक्ष्यले त्यस्ता कठिनाइ ओझेलमा थिए।

सिमसिम पानी पर्न थालेकाले शीतल महसुस भयो। छाता र रेनकोट ओढेर अघि बढ्दा बाटामा जुका पनि भेटिन थाले। सीधा अगाडि देखिएको पहाडको टुप्पोमै पुग्नुपर्ने भएकाले क्रमशः उचाइ बढ्दै थियो। हिँडाइको गति घट्न थाल्यो। हरिया पाखा, रूख, बाटोमा चिप्लने सकिने भिजेको माटो, ढुंगाका सिँढी, ग्राभेलका ससाना टुक्राले सुसज्जित पदयात्रामा दुईजना र तीन जनाको समूहमा अगाडिपछाडि हुँदै यात्रा निरन्तर अघि बढ्यो। पहाडबाट गडगडाउँदै झरेको सेतो स्वच्छ पानी बगिरहेको खोलाको काठे साँघु तर्दै केही घण्टाको हिँडाइपछि हामी पाँचपोखरी थाङपाल-३ टुपीडाँडामा रहेको २७२० मिटर उचाइको ब्रोङदोगाङमा पुग्यौँ। यहाँबाट पाँचपोखरीको दुरी १२.०१ किमि लेखिएको थियो।

नीलो जस्ताले छाएका काठका ससाना घरमा होमस्टे बनाइएको रहेछ। होमसस्टेमा रहेका कुर्सीमा झोला बिसायौँ। साहुजी छिरिङ तामाङसँग कालो चिया अर्डर गर्‍यौँ। कालो चियासँग झोलामा रहेका बिस्कुट, दालमोठ, काजु, पास्ता, बदाम, किसमिस खाएर केहीबेर आराम गर्‍यौँ।

खोलाको गडगडाहाट, हरियाली, चराचरुंगीको चिरबिरले पदयात्रालाई रमणीय बनाएको थियो। फर्कँदै गरेका यात्रुहरूसँग कहिले पुग्नुभयो? कहाँबाट फर्किनुभयो? अब कति माथि छ? प्रश्न सोध्दै यात्रालाई निरन्तरता दिइरह्यौँ। अधिकांश पदयात्री भर्खरका युवायुवती थिए। कोही त निकै कष्टका साथ पाइला सार्दै गरेका भेटिँदा लाग्थ्यो हामीले पनि त्यस्तै सास्ती बेहोर्नुपर्ने त होइन?

केही समयको हिँडाइपछि पहाडबाट झरेको ताँगुखोला आयो। त्यहाँको झोलुंगे पुल पार गरेपछि एकछिन सुस्तायौँ। अनि ठाडो उकालोमा रहेको सिँढी उक्लिन थाल्यौँ। एक घण्टाको यात्रापछि एउटा खर्क भेटियो। त्यहाँ नीलो जस्ताले छापेको छाप्रोमा बस्यौँ। पानी परिरहेको थियो। वरिपरि कुहिरो लागेको थियो। कुहिरोमा पनि टी हाउस परिसरमा फहराइरहेको राष्ट्रिय झण्डा निकै आकर्षक देखियो।

३४४० मिटर उचाइमा रहेको तपखर्क हुँदै हिँड्दा एक हुल भेडाबाख्राको बथानसँग जम्काभेट भयो। साँझ पाँच बजे हामी ३७०० मिटरको उचाइमा रहेको पाँचपोखरी थाङपाल गाविसको नेसोमपाटीमा पुग्यौँ। त्यहाँ ससाना टहराजस्ता देखिने घर गुजमुज्ज रहेछन्। तिनैमध्येको एउटा घरमा रहेको ‘होटल भ्यु डाँडा’ मा त्यस दिनको यात्रा बिट मार्ने योजना बन्यो। अनि तातोपानी र कालो चिया खाएर भलाकुसारी गर्न थाल्यौँ।

पश्चिमतर्फका पहाडी शृंखला लालीमय देखिन थाल्यो। केही बादल र केही खुलेको पहाडको बीचबाट अस्ताउन लागेको सूर्यलाई बिदाइ गरिरहेको क्षणको मनमोहक दृश्य देख्यौँ। होटलमा सोलार ब्याट्रीबाट बत्ती बालिएको थियो। मोबाइल चार्ज गर्न भनेर १ घण्टा जेनेरेटर चलाई अतिथिलाई सुविधा दिने चलन रहेछ। बेलुकाको खाना खाई ओढ्नेमा गुटुमुटु भई हामी सुत्यौँ।

सोमबार बिहान पाँच बजे उठेर झोलामा केही कपडा, छाता, पानी र खानेकुराहरू बोक्यौँ। बाँकी सामान होटलमै छाडी हामी ५ः३० मा पाँचपोखिरीतिर उकालो लाग्यौँ। अगाडि बढेपछि पानी पर्न थाल्यो। भित्र पसिना, बाहिर पानी। यात्रा रोमाञ्चक थियो। कोही रेनकोट ओढ्दै त कोही छाता बोक्दै स्याँस्याँ गर्दै आठ बजे त्यस खण्डको अलिक ठाडो र अप्ठेरो पहरामा रहेको स्थानमा पुग्यौँ।

एकछिन सुस्ताउन मन लागेर एउटा छाप्रोभित्र छिर्‍यौँ। लामा दाइ आगो बालेर बसिरहुनभएको रहेछ। तातो पानी खायौँ। कालो चिया बनाउन लगायौँ। भुटेर लगेको चम्पा पिठोको गेडा (गहुँ) केही तातो बनाएर खायौँ। त्यहाँबाट लौरिबिनाको टुप्पोमा पुग्यौँ। ढोकाजस्तो बनावटमा रहेको उक्त स्थानबाट उत्तरतर्फ हेर्दा पाँचपोखरी परिसर देखिने रहेछ ।

हामीले नौ बजे ४२०० मिटरको उचाइमा पाँचपोखरीको आँंगनमा पाइला टेक्यौँ। पाँचैवटा पोखरी वरिपरि व्यवस्थित देखिने लहरै ढुंगाका सिँढी, दुईचारवटा ससाना घर रहेछन्। शौचालयको व्यवस्था रहेछ। एउटा खाली ठाउँमा शिलालेखमा पाँचपोखरीको इतिहास र पौराणिक महत्त्व झल्कने व्यहोरा कुँदिएको रहेछ। शिलालेखमा उल्लेख भाग्यमानीले मात्र देख्न सक्ने एक जोडी हाँस देखिन्छ कि भनी चनाखो भयौँ।

बादल र कुहिरोले छेक्ला भनेर फोटो खिचिहाल्नुपर्छ भनेर हामीले हेलिप्याड रहेको थुम्कामा गई मनग्गे फोटो खिच्यौँ। बौद्ध र हिन्दू धर्मको साझा संगमस्थल रमणीय पाँचपोखरी एक अनुपम तीर्थस्थल रहेछ। पानी परिरहेका कारण अत्यधिक चिसो महसुस भइरहेको थियो।

पाँचपोखरीमध्येको एक पोखरीको पानीले हातमुख धोयौँ। प्रसिद्ध इन्द्रावती नदीको मुहानको उद्गमस्थल रहेको महादेव मन्दिरअगाडिको कुण्डमा हामीमध्ये तीनजनाले डुबुल्की मार्‍यौँ। सबैजनाले महादेवको मन्दिरमा पूजा गर्‍यौँ। चिसो भगाउन चिया खान एक टहराभित्र छिर्दा सौभाग्यवश चौँरी गाईको दूध प्राप्त भयो। प्रतिगिलास २५० रुपैयाँ तिरेर स्वादैसँग दूध खायौँ।

साँच्चिकै प्रकृतिको अनुपम उपहार रहेको पाँचपोखरीको सुन्दरतामा हामी मन्त्रमुग्ध भयौँ। पोखरीको डिलमा लहरै बनेको बाटोमा फोटो खिच्दै हिँड्यौँ।

पाँचपोखरी क्षेत्रमा रुसको साइबेरियाबाट पाहुनाका रूपमा आउने चरासमेत आउने रहेछ। उच्च भेगमा पाइने सस्याना बुट्यानमा फुलेका रातो तथा पँहेलो फूलले पोखरीवरिपरिको वातावरणलाई मनमोहक बनाइरहेको थियो। वरिपरि बादलले ढाकेका कारण पाँचपोखरीबाट हिमशृंखलाको मनमोहक दृश्य हेर्ने मौका भने मिलेन। त्यसैले हामी उत्तरतर्फ रहेको जुगल हिमशृंखला भ्यु प्वाइन्टतर्फ उक्लिएनौँ।

१०ः५१ बजे पाँचपोखरीको आँगनलाई मनभरि सजाउँदै नेसोमपाटि फर्कियौँ। होटलमा आई आआफ्ना झोला बोकी तल झर्न थाल्यौँ। हामीसँग उही प्राकृतिक छटा, उही सुन्दरता, खोलाको कलकल, चराचुरुंगीको चिरबिर थिए। मनोरम ताँगुखोलामा निर्मित झोलुंगे पुल तरेपछि ढ्यांग्रो बजाउँदै साधनामा दौडिरहेका झाँक्रीलाई नजिकबाट नियाल्यौँ। त्यस दिनको हाम्रो बास टुपीडाँडामा भयो। भोलिपल्ट अर्थात् मंगलबार छिम्तीबाट मेलम्चीतर्फ हानियौँ। अघिल्लो शनिबार रात परेका कारण हेर्न नपाएका धेरै ठाउँलाई हामीले बोलेरोभित्रबाटै उज्यालोमा अवलोकन गर्‍यौँ।

कोटगाउँ, राइथाने जस्ता गाउँ रहेको उक्त स्थान उपत्यकाको झल्को दिने गरी बसेको र हरिया डाँडाको बीचमा पहँेलो धान लहलहाएका फाँटले आँखालाई मनग्य आनन्दको अनुभूति दिइरहको थियो। झण्डैझण्डै मुहानदेखि सँगैसँगै ल्याएको इन्द्रावतीलाई उत्तरतर्फबाट आएकी मेलम्चीसँग दोभानमा भेट गराइदिई हामी आठजना हिँड्न्तेहरू कालीप्रसाद रोयसारा, सुनिल पोखरेल, डा. उमेश खनाल, डा.प्रेम  बसेल, डा. गेहराज दहाल, डा.गोपाल सेडाई, डा.सुशील पौडेल र म अमृत पौडेललाई चालक श्री लामाले सकुशल काठमाडौँमा झारिदिनुभयो।

     

प्रकाशित: ७ पुष २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =