भरतपुर भ्रमण वर्षको कार्यक्रम स्थगित

हिमाल प्रेस ६ पुष २०८० १७:२५
10
SHARES
भरतपुर भ्रमण वर्षको कार्यक्रम स्थगित

काठमाडाैँ- भरतपुर र आसपास क्षेत्रमा भौतिक पूर्वाधार निर्माण नसकिँदा ‘भरतपुर भ्रमण वर्ष-२०२४’ का कार्यक्रम तत्कालका लागि स्थगन गरिएको छ। अहिले भरतपुर छिर्ने नाकाहरूमा सडक निर्माणको अस्तव्यस्तता छ।

भरतपुरको मुख्य सहरी क्षेत्र चौबिसकोठी-पुलचोक सडक खण्डको निर्माण कार्य नसकिएको, नारायणगढ-बुटवल सडक खण्ड, मुग्लिन-पोखरा सडक निर्माणाधीन रहेको, मुग्लिन-नारायणगढ सडक दैनिक केही घण्टा बन्द गरेर पुल निर्माणको काम गर्न लागिएकाले भ्रमण वर्षको शुभारम्भ सन् २०२४ भित्रै गर्ने गरी २२ गते निर्णय हुने जनाइएको छ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेर आवश्यक तयारी गरिसकेको थियो। महानगरले काठमाडौँमा पत्रकार भेटघाटसमेत गरी भ्रमण वर्षबारे जानकारी गराइसकिएको अवस्थामा उक्त कार्यक्रम अन्तिम चरणमा आएर स्थगित गरिएको हो।

महानगरले यही पुस १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्ने गरी तयारी गरेको थियो तर आज शुक्रबार बसेको महानगरपालिकाको ८९औँ कार्यपालिका बैठकले भ्रमण वर्ष तत्कालका लागि स्थगित गरेको हो। पुस २२ गते हुने १४औँ नगर अधिवेशनले भ्रमण वर्षको नयाँ कार्यक्रम सार्वजनिक गर्ने महानगरले विज्ञप्ति जारी गरी जनाएको छ।

प्रकाशित: ६ पुष २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =