गोविन्द केसीले घोषणा गरे अनसन

हिमाल प्रेस २९ मंसिर २०८० १३:२१
46
SHARES
गोविन्द केसीले घोषणा गरे अनसन

काठमाडौँ- स्वास्थ्य क्षेत्रका माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार बेलुकादेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन्।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका हुन्।

त्यस्तै सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने उनको माग छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक-पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरू कार्यान्वयन नभएकाले सत्याग्रह बस्नुपरेको उनको भनाइ छ।

केसीले १०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रमहरू सुरु गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै उनले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्न एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने लगाएतका माग राखका छन्।

प्रकाशित: २९ मंसिर २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =