शिक्षकमाथि भएको प्रहरी दमनको कांग्रेसले गर्‍यो निन्दा

हिमाल प्रेस २८ मंसिर २०८० १४:२४
286
SHARES
शिक्षकमाथि भएको प्रहरी दमनको कांग्रेसले गर्‍यो निन्दा कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा धर्नामा बसेका बाराको सिम्रौनगढ नगरपालिकाका शिक्षकहरूमाथि निर्मम दमन गरेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ। एक जनाको ज्यानसमेत जाने गरी भएको उक्त घटनाको कांग्रेसले बिहीबार विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो।

नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकले ६ महिनादेखि पारिश्रमिक नपाएपछि विरोध प्रदर्शन गर्दै आएका थिए। यस क्रममा उनीहरू विगत दुई महिनादेखि सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा धर्नामा बसेका थिए।

धर्नामा बसेका शिक्षक र प्रहरीबीच बुधबार भएको झडपमा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ नन्सगरा ढाट बस्ने लक्ष्मीमुखिया विनको घटनास्थलमै मृत्यु भएको थियो। केही व्यक्तिहरू घाइते भएका छन्। कांग्रेसको विज्ञप्तिमा उल्लेख छ, ‘ शान्तिपूर्ण रूपमा धर्नामा बसेका शिक्षकमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ।’

विज्ञप्तिमा घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८० १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =