टर्‍यो शेखर-गगनको फुट

सन्तोष अधिकारी २६ मंसिर २०८० १६:३६
296
SHARES
टर्‍यो शेखर-गगनको फुट

काठमाडौँ- नेपाली कांग्रेसको इतर समूहमा देखिएको खटपट तत्कालका लागि साम्य भएको छ। पार्टीको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइराला र उनकै प्यानलबाट महामन्त्री निर्वाचित गगनकुमार थापाबीच देखिएको खटपट टरेको हो।

उनीहरूबीचको विवाद साम्य भएपछि मंगलबारका लागि कोइरालाले डाकेको आफ्नो समूहको भेला स्थगित भएको छ। कोइरालाले अनुपम फुडल्यान्डमा भेला डाकेका थिए। कोइरालामाथि जसरी पनि थापालाई सँगै लिएर जानुपर्ने दबाब बढेपछि दुई नेताबीच छलफल गराउने वातावरणको खोजी सुरु भएको थियो।

भेलाबारे कोइरालाले महामन्त्री थापासँग परामर्श नगरेपछि विवाद लम्बिएको थियो। थापा भेलामा नआउने भएपछि उक्त समूहमा फुट आउन लागेको चर्चा पनि कांग्रेस वृत्तमा भएको थियो। ‘बैठक डाक्ने निर्णय शेखर दाइले एक्लै गर्नुभयो तर जानकारी गराउन खोज्दा महामन्त्री थापासँग सम्पर्क हुन सकेन,’ कोइरला निकट एक नेता भन्छन्, ‘शेखर दाइ आफैँले पनि महामन्त्रीलाई फोन गर्नुभएको थियो। फोन अफ थियो। पछि सचिवालयबाट सचिवालयकै सदस्यलाई फोन गरियो। उताबाट महामन्त्रीसँग कुरा गरेर खबर गर्ने कुरा आयो तर केही खबर आएन।’

इतर समूह चिरा परेको खबरले कांग्रेसभित्र चर्चा पाएपछि नेता अर्जुननरसिंह केसीले दुई नेतालाई मिलाउन प्रयास गरेका थिए। केसीले दुई नेतालाई आफ्नै निवासमा बोलाएर छलफल गराएका थिए। दुई नेतालाई छलफल गराएपछि भेला बुधबारका सारिएको छ। भेलामा कोइरालासँगै थापा पनि सहभागी हुने समझदारी बनेको छ।

‘अर्जुननरसिंह दाइले सोमबार साँझ दुवै नेता (कोइराला-थापा) लाई घरमा बोलाएर छलफल गराउनुभयो। चित्त नबुझेका विषयमा कुरा गर्ने वातावरण बनाइदिनुभयो। त्यसपछि दुई नेता सँगै अघि बढ्ने वातावरण बनेको छ,’ कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘हिजोको छलफलपछि तत्काल तिक्तता सकिएको छ। बुधबार हुने भेलामा सबै नेताहरू सहभागी हुनुहुनेछ।’

केसीले दुई नेता नमिले समूह तितरबितर हुने भनेर नेताहरूलाई सचेत गराएका थिए। कोशी सरकार गठनका विषयमा कोइरालाले आफूनिकट केदार कार्कीलाई विद्रोह गर्न एकलौटी निर्देशन दिएपछि दुई नेताबीच दुरी बढेको थियो। संघीय सरकारमा इतर समूहबाट मन्त्रीको नाम पठाउँदा पनि सल्लाह नगरेपछि थापा बिच्किएका थिए।

एक नेताका अनुसार दुई नेताबीच केही समयदेखि बोलचाल भएको थिएन। ‘दुई नेताबीच बोलचाल बन्द भइसकेको थियो,’ ती नेताले भने, ‘अब दुई नेताबीचको बोलचाल नहुने क्रम पनि भंग भयो। पहिले जस्तै समूहलाई बलियो बनाएर एकअर्कालाई सहयोग गर्दै अघि बढ्ने कुरा भएको छ।’

कहिलेदेखि दुई नेताबीच दुरी बढ्यो?

२०७९ पुस ६ गते भएको संसदीय दलको नेतामा सभापतिसमेत रहेका शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका थापालाई कोइराला समूहका भनिएका नेताले भोट नहालेको आरोप कोइरालामाथि लाग्दै आएको छ। त्यतिबेला थापा २५ मत ल्याएर पराजित भए भने देउवाले ६४ मत ल्याएर निर्वाचन जिते। संस्थापन इतर समूहमा ३२ सांसद खुलेरै लागेका थिए। त्यसअघि कोइराला संसदीय दलको नेतामा भिड्ने तयारीमा थिए।

इतर समूहबाटै थापाले पनि इच्छा व्यक्त गरेका थिए। मतदानअघि  कोइरालाले थापालाई सहयोग गर्ने समझदारी बनेको थियो। संसदीय दलको नेतामा कोइराला भए सहयोग गर्ने र थापा लडे सहयोग नगर्ने भन्ने केही सांसदहरूले देउवालाई मत दिएका थिए। संसदीय दलको निर्वाचनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि थापाको पक्षमा खुलेका थिए।

संघीय सरकारमा मन्त्री पठाउँदा कोइरालाले एकलौटी निर्णय गरेपछि महामन्त्री थापा रुष्ट बनेको उनी निकट एक नेताले बताए। कोइराला आफैँले पनि सल्लाह नगरी मन्त्रीको नाम पठाएको स्वीकारिसकेका छन्। उनले सल्लाह नगर्दा केही गल्ती भएको तर थापा र आफू सँगै भएको दाबी गरेका थिए। थापा समूहले कोइरालामाथि एकलौटी तबरले उपसभापति धनराज गुरुङ, सुरेन्द्र आचार्य र डिगबहादुर लिम्बूलाई मन्त्री बनाउन सिफारिस गरेको आरोप लगाउँदै आएको छ।

कोशी प्रदेश सरकारका विषयमा यी दुई नेताबीच दुरी  झनै बढेको थियो। कोइरालाले आफूनिकट केदार कार्कीलाई एमालेको समर्थनमा विद्रोह गर्न लगाए र मुख्यमन्त्री बनाए। कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भए। केन्द्रमा भएको गठबन्धन दलको बैठकमा कोशी सरकारको नेतृत्व माओवादीलाई दिने सहमति भएको थियो। त्यसपछि कोइरालाले आफू पक्षका सांसदलाई विद्रोहको निर्देशन दिए। विद्रोह नै गर्ने भएपछि पनि कोइरालाले थापा थापालाई जानकारी गराएनन्। थापा केन्द्रमा भएको सहमति पालना गरेर राजनीतिक स्थायित्वतर्फ थिए।

एमालेको समर्थनमा कोइराला निकट कार्की मुख्यमन्त्री बन्ने पक्कापक्की भएपछि सभापति देउवाले कोइराला र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल गराएका थिए। छलफलमा गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भयो। सहमतिअनुसार एमालेसँगै गठबन्धन दलका सांसदले पनि कार्कीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए। कोशीबारे यति लामो राजनीतिक घटना हुँदा कोइरालाले महामन्त्री थापासँग सल्लाह गरेका थिएनन्।

कांग्रेसको महासमिति बैठक बोलाउने  तयारी छ। त्यसै विषयमा छलफल गर्न इतर समूहले आफ्नो पक्षका नेताको बैठक डाकेको हो। बुधबारको भेलामा महासमिति बैठक, समसामयिक राजनीतिक घटना र राष्ट्रियसभा चुनावबारे  छलफल हुने एजेन्डा छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २९ गतेलाई डाकिएको छ। बैठकले महासमिति बैठक सार्ने निर्णय गर्ने सम्भावना छ। महासमिति बैठक पुस १६ का लागि डाकिएको छ। महामन्त्री थापा र कोइराला बैठक सार्न नहुने पक्षमा छन्।

पार्टीको १५औं महाधिवेशनमा कोइराला फेरि सभापतिको उम्मेदवार बन्ने गरी तयारीमा छन्। महामन्त्री थापा पनि सभापतिको उम्मेदवार बन्ने गरी तयारीमा छन्। दुई नेताबीचको दुरी तत्कालका लागि घटे पनि ०८२ मा महाधिवेशन हुने बेलासम्म नबढ्ला भन्न सकिने अवस्था छैन।

प्रकाशित: २६ मंसिर २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =