इटहरीका सामुदायिक विद्यालयमा मेन्युसहितको दिवा खाजा सुरु

हिमाल प्रेस २४ मंसिर २०८० १७:३५
194
SHARES
इटहरीका सामुदायिक विद्यालयमा मेन्युसहितको दिवा खाजा सुरु

इटहरी- इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई आज (आइतबार) देखि मेन्युसहितको दिवा खाजा कार्यक्रम सुरु भएको छ। इटहरी उपमहानगरपालिकाले टेण्डरमार्फत मासुसहितको मेन्युको खाजा खुवाउन सुरु गरेको हो।

उपमहानगरपालिकाले विद्यार्थीलाई पोषिलो खानेकुरा खुवाउन सुरु गरेसँगै आइतबार यसको शुभारम्भ गरिएको छ। जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए। शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरु गरेको उनको भनाइ छ। नेपालमै पहिलोपटक मेन्युसहित यो किसिमको खाजाको सुरुवात गरिएको उनको दाबी छ।

‘यो कार्यक्रम लागू गर्न चुनौतीपूर्ण थियो। पोषणयुक्त खाना खुवाउने उदेश्यले यो किसिमको कार्यक्रम योजना लागू गरेका हौँ,’ उनले भने, ‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्वि गर्नका निम्ति उपमहानगरले पहल गरिरहेको छ।’ यस वर्ष इटहरी उपमहानगरले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी बजेट बिनियोजन गरेको उनले बताए।

इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले तीन करोड भन्दा बढी दिवा खाजाका लागि बजेट छुट्याएको जनाएको छ।प्राथमिक कक्षादेखि कक्षा ६ सम्मका विद्यार्थीहरूलाई विद्यालयमै खाजा पकाएर खुवाउनुपर्ने नियम बनाइएको छ। इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर यो कार्यक्रमको सुरुवात गरिएको हो।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लािग इटहरी क्षेत्रभित्रका सामूदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ। तर, यो बजेट पर्याप्त नहुने भन्दै उपमहानगरपालिकाले थप तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी कुल पाँच करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो।

‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले भने, ‘यो दिवा खाजा कार्यक्रमले हामी सवै विद्यार्थीमा एकरुपता ल्याएको छ।’

इटहरीका सामुदायिक विद्यालयमा खाजा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहेपनि चाँडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुद बनाएर काम गर्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए।

यता, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यपाक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरुपता ल्याएको बताए।

यस्तो छ उपमहानगरको मेन्यु

आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ। सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउन सम्झौता भएको छ। यस्तै, बुधबार खीर र तरकारी खुवाउनु पर्ने हुन्छ। बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्ने बताइएको छ। शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनु पर्नेछ।। शाकाहारीका लागि भने मटर–पनिर र चिउरा खुवाउन पर्ने उपमहानगरले मेन्यु बनाएको छ

प्रकाशित: २४ मंसिर २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =