रूस जान ‘१४ लाख रुपैयाँसम्म तिर्छन्’ नेपाली युवा

रमेश भारती २२ मंसिर २०८० १८:०३
122
SHARES
रूस जान ‘१४ लाख रुपैयाँसम्म तिर्छन्’ नेपाली युवा रुसी सेना।

काठमाडौँ– वैदेशिक रोजगारीका लागि युद्धग्रस्त देश रुसमा जान नेपाली युवासँग तस्करीले १४ लाख रुपैयाँसम्म खर्च लिने गरेको पाइएको छ। एक वर्षयता नेपाली युवा जोखिम मोलेर विभिन्न माध्यम हुँदै रुसी सेनामा भर्ती हुन त्यसतर्फ गइरहेका छन्।

रुसी सेनामा भर्ती हुन जाने युवासँग रोजगार तस्करी, म्यानपावर कम्पनी र एजेन्टले १४ लाख रुपैयाँसम्म लागत खर्च लिइरहेको सूचना पाएको वैदेशिक रोजगार विभागले जनाएको छ।

रुसी सेनामा नेपालसहित भारत, थाइल्यान्ड र यूएई हुँदै जाने युवासँग रोजगार तस्करीले १४ लाखसम्म पैसा लिने गरेको उजुरी परिरहेको विभागका महानिर्देशक मदन दाहालले बताए। दाहालका अनुसार ६ महिनायता रुस पठाउने रोजगारीको प्रलोभन देखाएर नेपालभित्र र बाहिर ठगी भइरहेको छ।

नेपालबाट मात्र होइन, रोजगारदाता देशमा समेत नेपालीलाई रुसी सेनामा भर्ती गराउने भनेर ठगी कार्य भइरहेको सूचना आउने गरेको उनले बताए। ‘तस्करीले युद्वग्रस्त रुस, युक्रेन र अन्य देश व्यक्तिगत भिसामा नेपाली पठाउने काम गरिरहेका छन्। रोजगारीको प्रलोभनमा परी गएका नेपालीको मृत्युसमेत हुन थालेको छ’, उनले भने। रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएपछि सरकार गम्भीर बनेको छ। उनीहरू कसरी भर्ती भएका थिए भन्ने खुलेको छैन।

सरकारले युद्वग्रस्त देशको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति बन्द गरेको छ। यसै कारणले अब धेरै विकृति नियन्त्रण हुँदै जाने दाहालको दाबी छ। विभागका अनुसार रुसी सेनामा भर्ती गराइदिन भन्दै ठगिएका व्यक्तिले ७० वटाभन्दा बढी उजुरी गरेका छन्। उजुरीका लागि आएका पीडितसँग म्यानपावर, एजेन्ट र रोजगार तस्करीले ५ देखि ७ लाख रुपैयाँ प्रोसेसिङका नाममा पैसा लिएको विभागका अधिकारीहरू बताउँछन्।

पछिल्लो समय नेपाली युवा तस्करको प्रलोभनमा परी नेपाली युवा युद्धगस्त देश इजरायल पनि जान थालेका छन्। यसै साता प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सेटिङमार्फत पठाएको आरोपमा १२ जना तस्कारलाई पक्राउ गरेको थियो। तस्कर समूहले नेपाली युवालाई भारत, यूएई र श्रीलंका हुँदै रुसी सेनामा भर्ती गराउन पठाउँदै आएको प्रहरी अधिकारीहरू बताउँछन्। तस्करले ३६ जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर ९ देखि १४ लाख रुपैयाँ लिएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन्।

खाडीका देश र मलेसियामा महिलामाथि दुर्व्यवहार भएपछि ती देशमा जाने महिलाका लागि श्रमस्वीकृति तत्काल बन्द गरिएको छ। तर अहिले युद्ध भएको एक वर्षभन्दा धेरै समय भए पनि रुस रोजगारीमा जाने कामदारको व्यक्तिगत र संस्थागत श्रम स्वीकृति गत साता मात्र बन्द गरिएको हो। जसका कारण रुस रोजगारीमा जाने कामदारको संख्या बढेको छ। वैदेशिक रोजगार विभागको श्रमस्वीकृति प्रतिवेदनमा गत आर्थिक वर्षका सुरुका चार महिनामा सरकारी निकायबाट स्वीकृति लिएर रुस जाने नेपालीको संख्या ५३ जना थियो। चालु आर्थिक वर्षको चार महिनामा भने ३ सय ७ जना नेपाली रुस गएको विभागकै तथ्यांकमा उल्लेख छ।

पछिल्ला तीन आर्थिक वर्षमा रोजगारीका लागि रुस जान श्रमस्वीकृति लिनेको संख्या ५९ जना मात्र थियो। गत वर्ष यो संख्या बढेर ३ सय ८५ जना पुगेको विभागको तथ्यांकमा छ। विगतमा न्यून संख्यामा नेपाली नागरिक रुस जाने गरेकामा युद्ध सुरु भएपछि उच्च देखिएको छ।

एक वर्षभन्दा बढी समयदेखि युद्धरत रुस र युक्रेनी सेनामा भर्ती हुन पुगेका नेपालीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा र अन्य भिसामा जाने नेपालीलाई कामदारलाई गत वर्षदेखि ‘डिपोर्ट’ गर्दै आएको छ। गत वर्षदेखि भिजिट भिसामा नेपालीहरू कुवेत, यूएई र युरोपका देश बढी जाने गरेका छन्। भिजिट भिसामा जाने नेपालीमा शंका लागे उनीहरूलाई फर्काइने गरेको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद दाहालले जानकारी दिए।

रुसको अध्यागमनले समेत नेपालीलाई फर्काउन थालेको छ। कतिपय शंका लागेका व्यक्तिलाई विमानस्थलबाटै फर्काउने काम भइरहेको दाहालले बताए। सरकारकै कमजोरीका कारण नेपाली युवालाई तस्करले युद्वग्रस्त देश पुर्‍याउने गरेको विज्ञहरूको आरोप छ। युद्वग्रस्त देशमा जाने कामदारका हकमा युद्ध सुरु भएपछि तत्काल श्रम स्वीकृति रोक्न नसक्दा तस्करीको फन्दामा युवा पर्ने गरेको उनीहरू बताउँछन्।

प्रकाशित: २२ मंसिर २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =