डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत सम्पन्न

हिमाल प्रेस २० मंसिर २०८० १५:५१
डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत सम्पन्न डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँ खण्डमा कालोपत्रे गरिँदै । तस्बिर : मिला दरै/रासस

तनहुँ– डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ। यस सडकको प्रवेश नाकाका रूपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रेको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए। दुई लेनको यस सडक आयोजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उनले बताए।

भानु–३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्रे सकिएको अधिकारीले बताए। भानु–१ को क्षेत्रमा कालोपत्रेका लागि सम्याउने र पुरानो कालोपत्रे हटाउने काम भइरहेको उनले बताए। असार मसान्तसम्ममा कालोपत्रे सकिने गरी काम भइरहेको अधिकारीको भनाइ छ।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ। यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म ८ किलोमिटर सडक कालोपत्रे गरिने अधिकारीले बताए। कूल ८ किलोमिटरमध्ये ४.५ किलोमिटर एकपटक कालोपत्र सकिएको र २ किलोमिटर दुईपटक कालोपत्रे सकिएको छ।

एमएस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ। २०७८ वैशाख २२ मा ठेक्का सम्झौता भइ २९ गतेदेखि सडक स्तरोन्नतिको काम सुरू भएको थियो।
२०८० कात्तिक २२ मा सडक खण्डको कालोपत्रे सम्पन्न गर्ने गरी ३८ करोड ९ लाख ८६ हजार ४९२ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

आयोजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रेको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो। काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ।

–रासस

प्रकाशित: २० मंसिर २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =