काभ्रेमा प्रादेशिक गुरुकुल बनाउन महायज्ञ

हिमाल प्रेस १७ मंसिर २०८० ७:१७
4
SHARES
काभ्रेमा प्रादेशिक गुरुकुल बनाउन महायज्ञ गुरुकुलमा अध्ययनरत बटुक। फाइल तस्बिर।

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ। ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको उक्त विद्यालयको भवन हाल निर्माण थालिएको छ।

पनौती नगरपालिका–६ गोरखनाथ मन्दिर नजिक निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन बनाउन महायज्ञ आयोजना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए।

उनका अनुसार भवन निर्माण गर्न एक करोड सात लाख रुपैयाँ अनुमान गरिएको छ। पनौती–७ स्थित लायकु डबलीमा शनिबारदेखि एक हप्तासम्म सो महायज्ञ सञ्चालन गरिनेछ।

महायज्ञमा युवा पण्डित भट्टराईले नै कथा वाचन गर्नेछन्। महायज्ञअन्तर्गत शनिबार पनौती बजारमा कलशयात्राको आयोजना गरिएको छ। महायज्ञबाट संकलित सबै रकम भवन निर्माणका लागि नै खर्चिने जनाइएको छ।

यस्तै भवन निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीले सहयोग गर्न थालेका छन्। गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा दुई वर्षअघि बागमती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका थिए।

हाल पनौतीस्थित त्रिवेणीघाट सत्तलमा बटुक अध्ययन गरिरहेका छन्। बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको भट्टराईले बताए। गुरुकुलमा अध्ययनरत बटुकलाई कर्मकाण्ड र धर्ममात्रै नभई आधुनिक शिक्षाको ज्ञान,सीप प्रदान गरिने जनाइएको छ।

यस्तै उक्त गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी शिक्षालाई व्यवस्थित गर्न सोहीअनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए।

उनले भने,‘पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमै पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गरेका हौँ।’ रासस

प्रकाशित: १७ मंसिर २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =