युद्धको त्रासले भाग्न खोज्ने दुई नेपाली रुसी जेलमा!

रमेश भारती १५ मंसिर २०८० १५:०९
250
SHARES
युद्धको त्रासले भाग्न खोज्ने दुई नेपाली रुसी जेलमा! ड्युटीमा खटिएका रुसी सैनिक। तस्बिर - गेट्टी इमेजेज्

काठमाडौँ– दुई नेपाली युवक रुसी सैनिक जेलमा रहेको पाइएको छ। अवैध रूपमा पुगेका उनीहरू रुसी सेनामा भर्ती भएका थिए। सैन्य तालिमकै क्रममा युद्धको त्रासले भागेर छिमेकी देश पोल्यान्ड प्रवेश गर्न लाग्दा उनीहरूलाई रुसी प्रहरीले पक्राउ गरी त्यहाँको सेनालाई जिम्मा लगाएको खबर आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले बताए। यसरी जेलमा पुगेका युवकको नाम र ठेगाना भने खुलाइएको छैन।

रुसी प्रहरीले पक्राउ गरेकामध्ये एकजनालाई १० र अर्कोलाई १५ वर्षको जेल सजाय तोकिएको छ। अन्य २ जनालाई समेत भगाउन सहयोग गरेका युवकलाई १५ वर्ष र आफूमात्रै भाग्न खोजेका युवकलाई १० वर्षको जेल सजाय तोकिएको छ। यूएईमा रहेका नेपालीले फोनमार्फत रुसको सैनिक जेलमा दुई जना नेपाली रहेको जानकारी गराएको श्रम मन्त्रालयका ती अधिकारीले बताए। उक्त सूचनापछि मन्त्रालयले यूएईस्थित नेपालीलाई दूतावासलाई यस विषयमा थप बुझ्न  निर्देशन दिएको छ।

दुई जना नेपाली सैनिक जेलमा भएको सूचना आए पनि उनीहरू कहाँका नेपाली हुन् भन्ने आधिकारिक जानकारी नभएको मस्कोस्थित नेपाली दूतावासका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार यसबारे विस्तृत विवरण लिने काम भइरहेको छ। सेटिङमा प्रवेश गरी सेनामा आफूखुसी भर्ती हुने गरेका कारण जानकारी प्राप्त गर्न नसकिएको ती अधिकारी बताउँछन्।

रुसी सेनामा भर्ती भएका नेपालीले मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब पाउँछन्। यस्तै जीवन बिमाबापत झन्डै १ करोड ८० लाख रुपैयाँ पाउने व्यवस्था रहेको रुसी सेनामा प्रवेश गरेका युवाले बताएका छन्। युद्धका कारण रुसले सैनिक सेवामा ५ वर्षे अवधि राखेर करार गर्ने गरेको छ। त्यसैले एकपटक रुसी सेनामा भर्तीका युवा पाँच वर्ष नपुगेसम्म फर्किन पाउँदैनन्।

नेपाली युवाले सार्वजनिक गरेको जानकारीअनुसार रुसले युवालाई भर्ती गरेपछि सैनिक क्याम्पमा तालिम दिन्छ। अनि युक्रेनको सिमानामा युद्धमा खटाउँदै आएको छ। युद्धमा खटिनेहरू १५ दिन मोर्चामा संलग्न हुन्छन् भने १५ दिन क्याम्पमा आराम गरेर बस्न पाउँछन्। रुसमा हाल ३ देखि ५ हजार नेपाली भर्ती भएको हुन सक्ने अनुमान छ। तर ती सबै नेपाली व्यक्तिगत भिसा र अवैध रूपमा त्यहाँ पुगेका हुन्।

नेपालीहरू एजेन्टमार्फत विभिन्न देश हुँदै रुस पुग्ने गरेका छन्। नेपाली युवाले सीधै रुस जाँदा एजेन्टलाई ८ देखि १२ लाख रुपैयाँसम्म बुझाएको उजुरी आएको वैदेशिक रोजगार विभागले जनाएको छ।  अवैध रूपमा त्यहाँ नेपाली गएको विषयमा छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति समेत गठन गरेको छ।

श्रम स्वीकृति तथा विभिन्न तरिकाले नेपालबाट रुस पुगेका युवालाई रुसी सेनाले सुरुमा त्यहाँको राहदानी दिएर राष्ट्रियता फेरिदिने गरेको त्यहाँ पुगेका नेपालीले बताउने गरेका छन्। रुसी भाषामा सम्झौता गराउने गरेका कारणले धेरै नेपाली लोभ र नबुझी सम्झौता गर्दा फस्ने गरेका छन्। रुस सेनामा भर्ती हुन गएर फर्केका नेपाली युवाले त्यहाँको भाषा बुझ्न नसक्दा धेरै नेपाली युद्धका क्रममा फस्ने र घाइते हुने गरेको बताउने गरेका छन्।

नेपालबाट युवा रुस जाने विषय नेपाल सरकारलाई जानकारी नभएको भने होइन। तर सम्बन्धित निकायले यस विषयमा चासो नदिएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन्। युद्धमा युक्रेनका पक्षबाट अत्याधुनिक ड्रोनले आक्रमण गर्दा मारिने क्रम बढ्दो छ। त्यसमा रुसी सेनामा गएका नेपाली युवा पनि पर्न थालेका छन्।

रुस-युक्रेन युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको कात्तिक २९ गते मृत्यु भएपछि नेपालीहरु रुसी सेनामा भर्ना भएको औपचारिक रूपमा पुष्टिसमेत सरकारले गरेको छ।

प्रकाशित: १५ मंसिर २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =