रुसी सेनामा नेपाली, सेटिङमा पुगेर आफूखुसी भर्ती

रमेश भारती १३ मंसिर २०८० १४:४८
164
SHARES
रुसी सेनामा नेपाली, सेटिङमा पुगेर आफूखुसी भर्ती रुसी सेनामा कार्यरत रहेको बताउने नरेन्द्र श्रेष्ठले फेसबुकमा पोस्ट गरेको तस्बिर ।

काठमाडौँ– युद्धग्रस्त क्षेत्रमा काम गर्न जाँदा बढी तलब पाइने आसमा रुस पुगेका युवाहरू आफूखुसी  रुसी सेनामा भर्ना भइरहेको पाइएको छ। सरकारले रुस जाने विद्यार्थी र कामदारका हकमा भिसा रोकेको छैन। कामदार भिसामा रुस गएका नेपाली युवा सेनामा भर्ती भएर ज्यान गुमाउन थालेपछि  उनीहरू आफूखुसी भर्ना भएको खुलासा भएको हो।  तीन महिना अवधिमा रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ। यसरी मारिनेहरू व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर रुस पुगेका हुन्।

मस्कोस्थित नेपाली दूतावासका अनुसार युक्रेनसँगको युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको कात्तिक २९ गते मृत्यु भएको हो। उनीहरू रुसी सेनाको सहयोगीको जिम्मेवारीमा कार्यरत थिए।

नेपाली दूतावास नेपाली युवा रुसी र युक्रेनी सेनामा कसरी भर्ती भइरहेका छन् भन्नेबारे बेखबर छ। रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले भने, ‘नेपालबाट रोजगारी र अध्ययनका लागि आएका विद्यार्थी सेनामा भर्ती हुँदा रहेछन्। यसरी आएका नेपाली सेनामा भर्ती भएको सूचना पाउन हामीलाई कठिन छ।’ सोही कारण मृत्यु भएका तीन नेपालीबारे थप विवरण प्राप्त हुन सकेको छैन। उनका अनुसार रुस र युक्रेनी सेनामा गरी हालसम्म २ सय बढी नेपाली भर्ती भएको अनुमान छ।

मस्कोस्थित नेपाली दूतावासले तीन नेपाली कहाँ र कसरी मारिए भनेर केही खुलाएको छैन। शव कहाँ छन् भन्ने जानकारी पनि दूतावासले दिएको छैन। यस विषयमा परराष्ट्र मन्त्रालयले पनि औपचारिक रूपमा कुनै जानकारी दिएको छैन।

राजदूत तुलाधरले रुसी सेनामा नेपाली भर्ती हुने क्रम र त्यसको अवस्थाबारे रुस र युक्रेनका सम्बन्धित अधिकारीहरूसँग जानकारी लिने काम भइरहेको बताए। साथै नेपाली मारिएको घटनाबारे पनि सोधखोज भइरहेको छ। तुलाधरले भने, ‘रोजगारीका लागि रुस आएर यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या ठूलै संख्या रहेको सूचना आएको छ। भौगोलिक रूपमा रुस ठूलो भएका कारण नेपालीहरू बसेको ठाउँ र रोजगारीको भिसामा आएका युवा कसरी सेनामा भर्ती भइरहेका छन् भन्ने पत्ता लगाउन समस्या छ।’ राजदूत तुलाधरले रुसी अधिकारीसँग नेपाली युवालाई सेनामा भर्ती प्रक्रिया रोक्न आग्रह गरिएको बताए।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रुस सेनामा भर्ती भएर मृत्यु भएका नेपालीका बारेमा जानकारी लिने काम भइरहेको बताइन्। उनका अनुसार रुसी सेनामा नेपाली भर्ती भई मारिएका युवाका विषयमा खोजी गर्न मस्कोस्थित नेपाली दूतावासलाई जिम्मेवारी दिइएको बताइन्।

रुस-युक्रेन युद्ध जारी रहेकै बेला व्यक्तिगत रूपमा त्यसतर्फ जाने नेपालीको संख्या बढिरहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। विभागका महानिर्देशक मदन दाहालले नेपाली युवालाई रुसी सेनामा भर्ती हुन अनुमति नरहेको बताए। उनले व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली युवा रुस गइरहे पनि त्यहाँको सेनामा भर्ती भएको विषयमा जानकारी नभएको बताए। ‘प्रमाणसँगै कम्पनीको पत्र आएपछि व्यक्तिगत भिसा रोक्न सकिँदैन। सबै प्रमाण लिएर आएको भिसा दिनुपर्ने कानुनी व्यवस्था छ’, उनले भने। नेपालले बेलायत र भारतबाहेकका देशमा नेपाली नागरिकलाई सैनिक सेवाका लागि अनुमति दिएको छैन।

४ महिनामा ३ सय युवा रुस पुगे

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष म्यानपावर कम्पनीमार्फत एक जना पनि नेपाली रोजगारीका लागि रुस गएका थिएनन्। चालु आर्थिक वर्ष सुरु भएको ४ महिनामा २ सय ९८ जना नेपाली रोजगारीका लागि रुस गएको विभागको तथ्यांक छ।

साउनमा म्यानपावर कम्पनीमार्फत ३१, व्यक्तिगत १८ र पुनः श्रम स्वीकृतिमार्फत ४ जना गरी ५३ जना, भदौमा म्यानपावर कम्पनीमार्फत ६१ र व्यक्तिगत ९८ गरी १ सय ५९ जना, असोजमा म्यानपावर कम्पनीमार्फत १० र व्यक्तिगत ३१ गरी ४१ जना, कात्तिकमा म्यानपावर कम्पनीमार्फत २७ र व्यक्तिगत १५ जना गरी ४१ जना नेपाली युवा रुस गएका छन्। गत आर्थिक वर्षमा व्यक्तिगत रूपमा ३ सय ८६ जना नेपाली वैदेशिक रोजगारीमा रुस गएको विभागले जनाएको छ।

कर्मचारीको मिलोमतोमा पठाइन्छ

म्यानपावर कम्पनी र एजेन्टहरूले वैदेशिक रोजगार विभाग र श्रम कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली युवालाई रुस पठाइरहेको पाइएको छ।

म्यानपावर कम्पनी सञ्चालन अनुभव भएका केही व्यक्ति र एजेन्टको गिरोहले नेपाली युवालाई युद्धग्रस्त देश रुस पठाइरहे पनि सरकारी निकाय मौन बसेको वैदेशिक रोजगारविज्ञको आरोप छ। सरकारी कर्मचारीले पैसाको प्रलोभन परी रुसमा नेपाली युवा पठाउन गिरोहलाई सहयोग गरिरहेको उनीहरूको आरोप छ।

वैदेशिक रोजगारीका लागि सामान्य फाराम भर्नसमेत अलमलिने शैक्षिक हैसियतमा रहेका युवाले व्यक्तिगत रूपमा रुसको भिसा प्राप्त गर्नु असम्भव रहेको रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् । रुस जान व्यक्तिगत भिसा प्रयोग भएको तथ्यांक हेर्दा सेटिङमै श्रम स्वीकृति जारी भइरहेको उनको दाबी छ।

रुसमा युद्धमा परी नेपालीको मृत्यु भएपछि मिलेमतोमा श्रम स्वीकृति दिने सरकारी कर्मचारीबारे छानबिन गर्नुपर्ने दबाब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई परेको छ। पछिल्लो समय भारत, यूएई र कतार हुँदै पनि नेपाली युवा रुसी सेनामा भर्ती हुन जाने गरेका छन्।

प्रकाशित: १३ मंसिर २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =