रिगलजस्तै रेशम पनि जेल चलान हुने सम्भावना कति?

हिमाल प्रेस २३ कार्तिक २०८० ७:३९
6
SHARES
रिगलजस्तै रेशम पनि जेल चलान हुने सम्भावना कति? फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा रेशमको जन्मकैदको सजाय मिनाहा गरिएको थियो।

सर्वोच्चले रेशमलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो। तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो। त्यसपछि आएको पूर्णपाठमा सर्वोच्चले अपराधको राजनीतीकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख गरेको थियो।

चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरेकी छन्। रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाइएको छ।

राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल ‘रिगल’ पुनः जेल चलान भएसँगै रेशमको फैसला के आउँला भन्ने चासोको विषय बनेको छ। राष्ट्रपतिबाट आममाफी पाएका रिगल अदालतको फैसलाले जेल चलान भएका थिए। चौधरीले ५ वर्ष ३ महिना सजाय भुक्तान गर्न बाँकी छ।

टीकापुर घटना २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भयो भने रिगलको संलग्नतामा चेतन मानन्धरको हत्या त्यही वर्षको असार २८ गते बाँकेको नेपालगन्जमा भएको थियो।

संयोग के भने टीकापुर काण्ड भएकै दिन रिगल प्रहरीबाट पक्राउ परेका छन्। उनको कैद अवधि सोही दिनबाट गणना सुरु भएको छ।

टीकापुर काण्डमा ८ सुरक्षाकर्मी र १ बालक मारिएका छन् भने रिगल जोडिएको काण्डमा चेतन मानन्धर एकजनाको हत्या भएको छ। तर, यी दुवै घटनामा पीडितलाई नियन्त्रणमा लिएर क्रूरतापूर्वक हत्या गरिएको छ। हत्या गर्ने पक्ष समूहमा गई हातहतियारको प्रयोग गरेका छन्।

अदालतको फैसलालाई आधार मान्ने हो भने टीकापुर घटना अझ बढी गम्भीर छ। रिगल २०७२ भदौ ७ देखि २०८० असोज ३ सम्म गरी ८ वर्ष २५ दिन कैद बसे भने रेशम चौधरीले त्यति पनि बस्नुपरेन।

प्रतिनिभि सभाको चुनाव जितिसकेपछि २०७४ फागुन १५ अदालतमा आत्मसमर्पण गरेका रेशम २०८० जेठ १५ गतेसम्म कैद बसे।

५ वर्ष ३ महिनामै उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी पाए। यसरी हेर्दा १४ वर्ष ९ महिना उनले मिनाहा पाए।

अर्थात्, रेशमले ३५ प्रतिशत मात्र सजाय काटे। ६५ प्रतिशत छूट पाए। ठूलो अपराधमा ठूलै छुट पाएको देखिन्छ।

प्रकाशित: २३ कार्तिक २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =