गौतम बुद्ध क्रिकेट मैदान निर्माणमा बागमती सरकारले लगानी गर्ने

हिमाल प्रेस २१ कार्तिक २०८० १७:०६
28
SHARES
गौतम बुद्ध क्रिकेट मैदान निर्माणमा बागमती सरकारले लगानी गर्ने चितनवको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट मैदान फाइल तस्बिर

चितवन- गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो।

अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो। मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशाला निर्माणको काम अघि बढाउने उल्लेख छ।

बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो।

भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ। मैदानको आकार मात्रै बनेको भन्दै उनले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए। खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायत काम यसै चरणमा हुने उनले बताए।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए। आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत् काम अघि बढाइने बताए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताइन्। यसअघि धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्दाको बाँकी भुक्तानीलगायत विषयमा संघीय सरकारले निर्णय गर्ने उनले बताइन्।

उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई सहजरूपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताए।

तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उनको भनाइ छ। भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ।

धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले २० बिघा ६ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम आर्थिक अभावमा २०७८ साउन २० गते रोकिएको थियो।

फाउण्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख रुपैयाँ ऋण कसले तिर्ने भन्ने टुंगो लाग्न सकेको छैन।

रंगशाला निर्माणमा हालसम्म फाउन्डेसनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रुपैयाँ खर्च भएको बताइएको छ। त्यसमध्ये १८ करोड ४३ लाख रुपैयाँ ऋण रहेको फाउन्डेसनको भनाइ छ। फाउन्डेसनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो। रासस

प्रकाशित: २१ कार्तिक २०८० १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =