जंगली हात्ती गाउँ छिरेपछि …

हिमाल प्रेस २१ कार्तिक २०८० १२:३२
12
SHARES
जंगली हात्ती गाउँ छिरेपछि …

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो । त्यत्तिकैमा घर हल्लिएको चाल पाए। उठेर हेर्दा जंगली हात्तीको बथानले घर हिर्काउँदै थियो। अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो।

‘रातिको ३ बजिसकेको थिएन, दस/बाह्र वटा हात्तीले घर घेरिसकेका रहेछन्’, चौधरीले भने, ‘बाहिर भाग्ने ठाउँ थिएन, परिवारकै ज्यान जोगाउने चिन्ताले सत्ताउन थाल्यो, भाग्नसक्ने अवस्था नभएपछि फोन गरेर गाउँलेलाई गुहारयौंँ।’

गाउँलेहरूले आगो बाले, हो हल्ला गरेपछि हात्तीको बथान नजिकैको सामुदायिक वनतर्फ लागेपछि ज्यान जोगिएको चौधरीले बताए। घरभित्र दुई बालबालिकासहित पाँच जना सुतेका थिए । हात्ती नजिकैको सामुदायिक वनमै रहेकाले ज्यानकै डर लागिरहेको चौधरीले बताए।

‘हात्तीले घरको भित्ता भत्काएको छ’, चौधरीले भने, ‘झन्डै टाउकोमै हात्तीले आक्रमण गर्न पाएन, खावाँको आडमा लाग्न सकेकाले ज्यान जोगियो।’ हात्तीको बथानले घरमा क्षति पुर्‍याउनुका साथै घरमा भण्डारण गरिएका झन्डै १० क्विन्टलभन्दा बढी धान खाएको छ।

घरको आँगनमा रहेको शौचालय भत्काइ दिएको छ। बारीको तरकारी बाली र तोरी बाली खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याएको छ। ‘खेतबारीको धान सिद्धिएपछि हात्तीको बथानले आहाराको खोजीमा घरनै तोड्न थालेका छन्’, स्थानीय तेजबहादुर चौधरीले भने, ‘मानवीय क्षति हुने सम्भावना बढेर गएको छ, यसलाई रोक्नका लागि स्थानीय तहले प्रभावकारी कदम चाल्नुपर्छ।’ अहिलेसम्म कोही पनि जनप्रतिनिधि क्षतिको आँकलन गर्नसमेत नपुगेको उहाँले गुनासो गरे।

बेलडाँडी गाउँका बासिन्दा हात्तीकै कारण त्रसित भएका छन्। रातिका बेला गाउँमा आवतजातवको गर्नसमेत छाडेका छन्। विगत तीन वर्षदेखि नगरपालिका क्षेत्रमा जंगली हात्तीको बथानले मानवीय क्षति पुर्‍याउँदै आएको छ।

हात्तीकै आक्रणमा परेर तीन वर्षमा नगरपालिका क्षेत्रका चार जनाले ज्यान गुमाइसकेका छन्। वन क्षेत्र हराभरा भएपछि जंगली हात्तीको बथान वर्षभरिनै सामुदायिक वन क्षेत्रमा ओहरदोहर गर्दै आएको छ।

प्रकाशित: २१ कार्तिक २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =