सेख हसिना र बंगलादेशी लोकतन्त्रको भविष्य

हिमाल प्रेस २१ कार्तिक २०८० १५:५५
92
SHARES
सेख हसिना र बंगलादेशी लोकतन्त्रको भविष्य बंगलादेशी प्रधानमन्त्री सेख हसिना। तस्बिर साभार : टाइम

महँगो देखिने सिल्क सारीमा सेख हसिना बैठक कोठामा आइपुगिन्। कैलो कपाल भएकी यी ७६ वर्षीया नेता बंगलादेशी राजनीतिको टुप्पोमा छिन्। यिनकै नेतृत्वमा त हो, बंगलादेश सामान्य जुट निर्याकर्ताबाट द्रूत गतिमा आकार बढाइरहेको अर्थतन्त्र भएको। करिब १७ करोड जनसंख्या भएको बंगलादेश आजको दिनमा एसिया प्रशान्त क्षेत्रमा उच्च आर्थिक वृद्धिदर भएका देशमध्येको एक हो। बंगलादेशी अर्थतन्त्र यो रफ्तारमा हुर्किन थालेको लगभग एक दशक भयो।

सेख हसिना पहिलो पटक बंगलादेशको प्रधानमन्त्री भएको वर्ष हो, सन् १९९६। त्यसबेला उनको कार्यकाल सन् २००१ सम्म चल्यो। उनले सन् २००९ मा फेरि त्यही पदमा पुनरागमन गरिन्। अब त उनको नाममा कीर्तिमान बनेको छ, सबैभन्दा लामो समय सरकार प्रमुख बनेको।

सुन्दा अचम्म लाग्न सक्छ, उनले मारागेट थ्याचर र इन्दिरा गान्धी जस्ता प्रख्यात नेताभन्दा बढी पटक निर्वाचन जितेकी छन्। उनी फेरि निर्वाचनमा विजयी हुन चाहन्छिन्। बंगलादेशमा आउँदो जनवरीमा आमनिर्वाचन हुँदैछ। ‘म ढुक्क छु, बंगलादेशी नागरिक मेरो साथमा छन्,’ सेख हसिना आत्मविश्वास व्यक्त गर्छिन्, ‘उनीहरू नै मेरा शक्ति हुन्।’

यत्तिका वर्ष सेख हसिनालाई बंगलादेशी राजनीतिमा कसैले पछार्न सकेको छैन। प्रयास नभएको भने होइन। अरू त अरू उनको ज्यान लिने प्रयास पनि भएको छ। त्यो पनि १९ पटक। पछिल्ला दिनमा उनले नयाँ चरणको संकट सामना गर्नुपरिरहेको छ। किनभने त्यहाँको विपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी) सडक आन्दोलनमा छ। सुरक्षा फौजसँग बीएनपीका कार्यकर्ता दिनहुँ झडप गरिरहेका छन्। यस बीचमा सयौँ बीएनपी कार्यकर्ता समातिएका छन्। सार्वजनिक सवारीसाधन मात्र होइन प्रहरीकै गाडी पनि जलाइएका छन्।

आन्दोलनरत बीएनपीले धम्की दिइरहेको छ, निर्वाचन बाहिष्कारको। उसो त यो पार्टीले पछिल्ला दुई निर्वाचन (२०१४, २०१८ मा) निर्वाचनमा भागै लिएको थिएन। यसपालि पनि त्यही सिलसिला जारी रहला? भन्न सकिँदैन। बीएनपीले सरकार विघटनको पनि माग अघि सारेको छ। बीएनपी चाहन्छ, निर्वाचन गराउन नयाँ सरकार बनोस्। हुन त नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न सेख हसिनालाई कानुनी बाध्यता छैन।

यो डेढ दशक बंगलादेशमा जसरी सत्ता चलाइएको छ, त्यो देखेर यसो भन्नलाई धक मान्नै पर्दैन, बंगलादेश अधिनायकवादको कब्जामा छ। अधिनायकवादको नेतृत्व अवामी पार्टीकी सेख हसिनाले गरेकी छन्। उनको सरकारले गराएको पछिल्ला दुई निर्वाचनको आलोचना देशभित्र मात्र भएको होइन। निर्वाचन गराएको तरिका ठिक भएन भनेर अमेरिका र युरोपियन युनियनले पनि भनेकै हुन्। विश्वभर हुने निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरूले पनि बंगलादेशको आलोचना गरे।

सेख हसिना नेतृत्वको सरकारमाथि फर्जी मतदाता, मतपेटिका साटिएको आदि आरोप लागे। खासमा निर्वाचनबाट आएको नतिजा त्यस्तै थियो, शंका गर्न मिल्ने। सन् २०१४ को निर्वाचनमा ८४ प्रतिशत मत पाएकी उनले त्यसपछिको मतदानमा ८२ प्रतिशत मत प्राप्त गरेकी थिइन्। अहिले पनि उनीमाथि शंका गर्ने प्रशस्त ठाउँ छन्। दुई पटककी प्रधानमन्त्री तथा सेख हसिनाकी मुख्य प्रतिद्वन्द्वी खालिदा जियालाई नजरबन्दमा राखिएको छ। खालिदा जियामाथि भ्रष्टाचारको मुद्दा छ। उनीमाथि जेजे आरोप छन्, तीमाथि सन्देह छ। शंकास्पद मुद्दा खालिदा जियामाथि मात्र छैन, पार्टीका अन्य नेताकार्यकर्तामाथि पनि छ। के भनिन्छ भने बीएनपीका नेताकार्यकर्तामाथि देशभर करिब ४० लाख मुद्दा छन्।

यति मात्र कहाँ हो र! पत्रकार र नागरिक अगुवामाथि पनि सरकारी निकाय र सुरक्षाकर्मीबाट निरन्तर दुर्व्यवहार भइरहेको छ। विश्लेषकहरू भन्छन्, आगामी निर्वाचनमा अवामी लिग स्वतः विजयी हुने सम्भावना छ। यसले हसिनालाई तानाशाहमा रूपान्तरित गर्नेछ।

‘राज्यका सबै निकाय सत्तारूढ दलको कब्जामा छ। सुरक्षा फौज मात्र होइन, न्यायपालिकामाथि उसले कब्जा छ,’ ९३ वटा मुद्दा खेपिरहेका बीएनपीका महासचिव मिर्जा फाखरुल इस्लाम अलामगिरको दाबी छ, ‘जबजब हामी सरकारको विरोध गर्छौँ तबतब उनीहरू हामीलाई दबाउन अनेक प्रयास गर्छन्।’

बंगलादेश चानचुने देश होइन। विश्व राजनीतिमा यसको महत्त्व असीम छ। बंगलादेश संयुक्त राष्ट्रसंघ शान्तिसेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने देश हो। बंगलादेशी सेना अमेरिकाको हिन्द प्रशान्त कमान्डसँग निरन्तर संयुक्त अभ्यास गर्छ। बंगलादेशी डायस्पोरा पनि कम आँक्न मिल्ने खालको छैन। एसिया, युरोप र अमेरिकाभर छरिएका बंगलादेशीले व्यापारदेखि कला क्षेत्रमा नाम कमाएका छन्।

सेप्टेम्बर १९९४ मा सरकारको विरोधमा आयोजित दोस्रो चरणको ट्रेन मार्चमा समर्थकहरूलाई अभिवादन गर्दै हसिना। तस्बिर : रोयटर्स

बंगलादेशलाई अमेरिकाले पनि त्यत्तिकै प्राथमिकतामा राखेको छ। बंगलादेशमा सबैभन्दा धेरै लगानी गर्ने देश अमेरिका हो। बंगलादेशी निर्यातकर्ताका लागि अमेरिका सर्वाधिक ठूलो बजार हो। फेरि हसिना आफैँ पनि अमेरिकी नेतृत्वको पश्चिमा जगत्का लागि मित्र हुन्। युक्रेनमाथि हमला गरेको रुसको चर्को आलोचना गरेर उनले पश्चिमाको परीक्षा पनि उत्तीर्ण गरिन्। उनले जस्तो आलोचना विकासशील देशका कमै सरकार प्रमुखले गरेका छन्। छिमेकी म्यानमारबाट १० लाख रोहिंग्यालाई प्रवेश दिँदा पश्चिमाले हसिनाको तारिफ गरेका थिए।

परिस्थिति सधैँ एकैनासको किन हुन्थ्यो र? समय बदलिँदो छ। आजको दिनमा अमेरिका हसिनासँग तर्सिन थालेको छ। असन्तुष्ट छ भन्दा फरक पर्दैन। अमेरिकाले आफ्नो असन्तुष्टि देखिने गरी जाहेर पनि गरिसक्यो, पछिल्ला दुई लोकतान्त्रिक सम्मेलनमा हसिनालाई निम्तो नदिएर। गत मेमा त अमेरिकाले आगामी निर्वाचन धमिलो बनाउनमा संलग्न हुने बंगलादेशीलाई भिसा नदिने घोषणा गर्‍यो। अमेरिकी निर्णयलाई लिएर हसिनाको प्रतिक्रिया थियो, ‘अमेरिका बंगलादेशमा लोकतन्त्र मास्न चाहन्छ, मलाई जबरजस्ती हटाउन चाहन्छ।’ त्यसपछि ढाकामा अमेरिकी राजदूतले जवाफ दिए, ‘बंगलादेशी राजनीतिमा अमेरिका कसैको पक्ष लिँदैन।’

अमेरिका त्यही शक्ति हो जो हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव रोक्न चाहन्छ। यो अभियानलाई बलियो बनाउन अमेरिकालाई अवश्य पनि बंगलादेशको साथ चाहिन्छ। तर के बंगलादेशको आन्तरिक राजनीतिलाई नजरअन्दाज गरेर भए पनि अमेरिका उसलाई आफूनजिक राख्न चाहला त?

‘लोकतन्त्र अमेरिकी विदेश नीतिको अंग हो। अमेरिका कुनै पनि देशमा लोकतन्त्र कमजोर भएको हेर्न चाहँदैन। यस्तोमा बंगलादेश अमेरिकी नीतिका लागि परीक्षा हो। बंगलादेशमाथि दबाब बढाउनु अमेरिकाका लागि खतरा हुनसक्छ। किनभने अमेरिकासँग चिढिएर हसिना जे गरेर हुन्छ सत्ता बचाउने उपायमा लाग्न सक्छिन्,’ अमेरिकी थिंक ट्याङ्क विल्सन सेन्टरमा दक्षिण एसियासम्बन्धी शोध गर्ने माइकल कुगेलमन भन्छन्।

बंगलादेशका लागि हसिना चौथो पटक प्रधानमन्त्री बन्नुको अर्थ के हो? यसको जवाफ फरकफरक आउँछ। यहाँ भनिहालौँ बहुमत अमेरिकीलाई बंगलादेशबारे धेरै कुरा थाहा छैन।

हसिनाको राजनीतिक चरित्रको आलोचना भइरहे पनि उनको नेतृत्वमा बंगलादेशले आर्थिक फड्को भने मारेको छ। कुनै समय आफ्ना नागरिकलाई दुई छाक खुवाउन संघर्ष गर्ने बंगलादेश अहिले खाद्यान्न निर्यातकर्ता बनिसकेको छ। सन् २००६ मा बंगलादेशको जीडीपी सात अर्ब १० करोड अमेरिकी डलर बराबरको थियो। सन् २०२२ को आँकडाअनुसार बंगलादेशी अर्थतन्त्रको आकार चार सय ६० अर्ब अमेरिकी डलर बराबरको हो। दक्षिण एसियामा भारतपछिको दोस्रो ठूलो अर्थतन्त्र बंगलादेश सामाजिक सूचांकमा पनि अघि बढेको छ। बंगलादेशमा ९० प्रतिशत बालिकाले प्राथमिक शिक्षा पूरा गरेका छन्।

विश्वका ठूलाठूला उत्पादक बंगलादेश सरिरहेका छन्। दक्षिण कोरियाली कम्पनी सामसुङले चीनमा भइरहेका कैयौँ उत्पादनका लागि अब बंगलादेशको भर गर्न थालेको छ। ‘हामीले साँच्चै लामो यात्रा तय गरेका छौँ। अब हामीले लोकतन्त्रलाई बलियो बनाउन ध्यान दिन जरुरी छ। मानवअधिकार र वाक् स्वतन्त्रताजस्ता विषयमा पनि सुधार आवश्यक छ,’ सत्तारूढ दलका सांसद मोहम्मद अली अराफत भन्छन्।

बंगलादेशले सामना गरिरहेको अर्को चुनौती हो, जलवायु परिवर्तन। हिमालयबाट बगेर आउने नदीले बंगलादेशलाई दिने दुःख बढ्दो छ। त्यसैगरी वर्षा र आँधीको चपेटामा पनि बंगलादेश पर्ने गरेको छ। बाढीका कारण बंगलादेश बर्सेनि एक अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोर्छ। बढिरहेको समुद्री सतहको डर त छँदैछ। यी तमाम चुनौतीसँग लड्न आफ्नो देशलाई विकसित देशहरूको सहयोग आवश्यक रहेको प्रधानमन्त्री हसिना बताउँछिन्। जलवायु परिवर्तनका असरसँग जुध्न बंगलादेशलाई विकसित देशहरूले सन् २०२५ भित्रमा करिब एक सय खर्ब अमेरिकी डलर सहयोग गर्नुपर्ने हसिनाको भनाइ छ। ‘हामीलाई बाचा होइन पैसा चाहिएको छ। विकसित देशहरू बाचा त गर्छन्, तर सहयोग गर्दैनन्,’ हसिना भन्छिन्।

बंगलादेशीको जीवनमा पानीको प्रभाव उच्च छ। राजनीति भने रगतमा लतपतिएको छ। यो यस्तो देश हो, जहाँ पछिल्लो आधा शताब्दीमा दुई परिवारले मात्र सत्ता चलाएको छ। ती परिवारका दुई महिला सधैँ आमनेसामने हुने गरेका छन्। एक पक्षको नेतृत्वमा हाल हसिना छिन्। जो बंगलादेशको पहिलो राष्ट्रपति सेख मुजिबुर रहमानकी छोरी हुन्। सन् १९७५ को सैन्य ‘कु’ मा मुजिबुरको हत्या भएको थियो। त्यसबेला मुजिबुरको परिवारका १७ जना मारिएका थिए। मुजिबुरको परिवारमा त्यस नरसंहारबाट हसिना मात्र बचिन्, किनभने उनी त्यसबेला युरोपमा थिइन्।

विपक्षी नेतृ खालिदा जिया।

उता अर्को पक्षकी नेतृ खालिदा जिया बीएनपीका संस्थापक जियाउर रहमानकी श्रीमती हुन्। जियाउर बंगलादेशी सेनाको प्रमुख थिए। सैन्य ‘कु’ पछि बंगलादेशमा उनै जियाउरले शासन गरेका थिए। सन् १९८१ मा उनको पनि हत्या भयो।

यी दुवै परिवार एकअर्काको खेदो खन्छन्। बंगलादेशको स्वतन्त्रता आन्दोलनमा आफ्नो बढी योगदान रहेको दाबी गर्छन्। हसिना बीएनपीलाई आतंकवादीहरूको पार्टी मान्छिन्। बीएनपी सैन्य शासनले जन्माएको पार्टी भएकाले ऊ लोकतन्त्रमा विश्वास नगर्ने हसिनाको आरोप रहँदै आएको छ। ‘खालिदा जियाको शासन सैन्य तानाशाहको जस्तो थियो,’ हसिनाको आरोप थियो। सन् २०१८ मा निर्वाचन हुन नदिन बीएनपीका कार्यकर्ताले हिंसात्मक गतिविधि गरेको उनको दाबी छ।

उता बीएनपी भने हसिनाले बंगलादेशमा लोकतन्त्र मारेको आरोप लगाउँछ। बीएनपी नेतृत्वलाई राजनीतिमा टिक्न नदिन अवामी लिगले अनेक तिकडम गरेको आरोप पनि छ। तर सत्य के हो भने दुवै पक्षले आफू सरकारमा हुँदा एकअर्कालाई सिध्याउने रणनीति अपनाउने गरेका छन्। ‘सडक हिंसा बंगलादेशी राजनीतिको हिस्सा रहँदै आएको सत्य हो। हरेक ठूला पार्टीले हिंसालाई बढावा दिँदै आएका छन्,’ ह्युमन राइट्सकी मीनाक्षी गांगुली भन्छिन्।

हसिना आफ्नो सरकार निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउँछिन्। यसका लागि पारदर्शी मतपेटिकाको व्यवस्था गरिएको, राष्ट्रिय परिचयपत्रलाई मतदातापत्रसँग जोडिएको र बायोमेट्रिक तथ्यांकको सहारा लिइएको उनको भनाइ छ। आफ्नो डीएनएमा लोकतन्त्र रहेकाले निर्वाचनमा धाँधली भएको आरोप व्यर्थ भएको उनको जिकिर छ।

पिताको हत्यापछि हसिनाले तत्कालीन पश्चिम जर्मनीको राजदूतको घरमा शरण लिएकी थिइन्। त्यसपछि दुवैलाई भारत सरकारले शरण दिएको थियो। हसिनालाई अन्ततः सन् १९८१ मा बंगलादेश फर्कन दिइएको थियो। त्यसबेला अवामी लिगका हजारौँ कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। स्वदेश फर्किएपछि हसिना लोकतन्त्र र निष्पक्ष निर्वाचनका लागि लडिन्। ‘त्यसबेला हामीले निकै संघर्ष गर्नुपर्‍यो। मतदान र खाद्यान्नको अधिकारका लागि लामो समय सडक आन्दोलन गर्नुपर्‍यो,’ हसिना विगत सम्झिन्छन्।

त्यसपछिको चार दशकमा बंगलादेशमा निकै परिवर्तन भएको छ। अहिले बीएनपी आफू लोकतन्त्र बचाउन संघर्ष गरिरहेको दाबी गर्छ। बिनाकुनै डर सरकारको आलोचना गर्ने वातावरण नरहेको बीएनपीका कार्यकर्ताको भनाइ छ। ‘खाली निर्वाचनका दिनमात्र निष्पक्षता आवश्यक परेको होइन। समग्र प्रक्रिया निष्पक्ष हुनुपर्छ,’ अमेरिकी राजदूत हास भन्छन्।

सन् १९९१ देखि २००८ को बीचमा बीएनपी र अवामी लिगले पालैपालो सरकार चलाए। त्यसपछि अवामी लिगले एकछत्र राज गरेको हो। तर निष्पक्ष निर्वाचन हुने हो भने बंगलादेशमा सत्ता परिवर्तन असम्भव होइन।

‘आज बंगलादेशी नागरिकले सास्ती भोग्नुपरिरहेको छ,’ रिक्सा चलाएर दैनिक चार सय टाका (३.५० अमेरिकी डलर) कमाउने एक रिक्साचालक भन्छन्, ‘हो, हसिनाको परिवारले यो देशलाई गुन लगाएको छ। तर हसिनाका पिताले आज हामीलाई गर्जो टार्न सहयोग गर्न सक्छन् र?’

बंगलादेशी राजनीतिको यथार्थ यही हो, जो सत्तामा पुग्छ उसले विपक्षीलाई दबाउँछ नै। हसिना सत्ताबाहिर रहिन् भने उनी र उनको दलमाथि सरकारले दमन गर्नेछ। ‘यही कारण अवामी लिग अहिले डराएको छ,’ ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका कार्यकारी निर्देशक जिल्लुर रहमान भन्छन्।

बंगलादेशी सरकार र सुरक्षा फौज यत्तिको दमनकारी कसरी हुन पुग्यो? यसको जवाफ खोज्न जुलाई १, २०१६ मा फर्कनुपर्ने हुन्छ। त्यस दिन बिहान ९ः४० बजे पाँच हतियारधारी ढाकाको होली बेकरी छिरेका थिए। यो बेकरी ढाकाको गुल्सान क्षेत्रमा थियो। यो यस्तो क्षेत्र हो जहाँ विदेशी नियोगसँगै विदेशी संस्थाका कार्यालय छन्। अल्लाहु अकबर भन्दै बेकरीभित्र छिरेका हतियारधारीले त्यहाँ रहेका विदेशी नागरिकमाथि अन्धाधुन्ध गोली चलाएका थिए।

उक्त घटनाको प्रत्यक्षदर्शीका अनुसार ती हतियारधारीले विदेशीका कारण स्थानीय संस्कृति धरापमा परेको भन्दै गोली चलाएका थिए। बन्धक बनाइएकाहरूलाई कुरानका पंक्ति सोधिएको थियो। नजान्नेलाई गोली हानिन्थ्यो। अन्ततः ढाका प्रहरीको ‘अपरेसन’ पछि बन्धक छुटे। तर विदेशी नागरिकसहित २२ निहत्थाको ज्यान जोगिएन। सँगै दुई प्रहरी पनि मारिए। ती पाँच हतियारधारीको त मृत्यु भयो नै। प्रहरीसहित अरू ५० घाइते भए।

यो घटना त्यतिबेला भयो जति बेला इस्लामिक चरमपन्थी संगठन आईएसआईएसको प्रभाव उत्कर्षमा थियो। होली बेकरीमा भएको आक्रमण पनि आईएसआईएससँग जोडियो। त्यसअघि आईएसआईएससँग आबद्ध हतियारधारीले बंगलादेशमा एक वर्षभित्र करिब ३० आक्रमण गरिसकेका थिए। उनीहरूको निसानामा हिन्दु, प्राज्ञिक व्यक्तित्व, धर्मनिरपेक्ष पक्षधर, स्वतन्त्र विचारक आदि पर्थे। बंगलादेशमा आईएसआईएसको डर यति बढ्यो कि रेस्टुरेन्टहरूले विदेशी ग्राहकलाई छिर्नै दिन छाडे।

बंगलादेशलाई इस्लामीकरण गर्ने व्यक्ति हुन्, जियाउर रहमान। इस्लामीकरणको सुरुवात सन् १९७७ बाट भएको हो। आज पनि उनको दल बीएनपी इस्लामिक संगठनहरूसँग नजिक छ। यही कारण अल्पसंख्यकहरू अवामी लिगलाई समर्थन गर्छन्। ‘अवामी लिगको विपक्षमा कैयौँ इस्लामिक दल छन्। तीमाथि हसिना सरकार कडा रूपमा प्रस्तुत हुने गरेको छ, प्रतिआतंकवादको नीतिलाई बहाना बनाएर,’ विल्सन सेन्टरका कुगेलमन भन्छन्।

बंगलादेशी प्रहरीले बीएनपीको आन्दोलनमा पनि हस्तक्षेप गरिरहेको छ। प्रहरीले गरिरहेको हस्तक्षेपको प्रतिक्रिया पक्कै कडा हुने अधिकारकर्मी गांगुली बताउँछिन्।

विपक्षी बीएनपीमाथि प्रहरीको लाठी मात्र बजारिँदै छैन। अदालतले पनि हसिनाको आलोचना गर्नेहरूलाई निसानामा पार्दै आएको छ। गत सेप्टेम्बर १५ मा दुई मानवअधिकारकर्मीलाई जेलचलान गरिएको थियो। प्रहरीबाट बेपत्ता पारिएका र इनकाउन्टरमा मारिएकाबारे खोजी गर्ने ती दुई मानवअधिकारकर्मीलाई दुई वर्षका लागि जेल हालिएको हो। हसिना सरकारको विरोध गर्ने पत्रकार, विद्यार्थीलगायतलाई पनि अदालतले जेल हाल्ने गरेको छ।

कतिसम्म भने नोबेल शान्ति पुरस्कार पाएका मोहम्मद युनुसलाई पनि सरकार र अदालतले दुःख दिएका छन्। उनलाई पटकपटक पक्राउ गरिएपछि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित एक सय ७० प्रबुद्ध व्यक्तिले हसिनालाई खुलापत्र लेखेका थिए। युनुसमाथि एक सय ७४ मुद्दा दायर गरिएका छन्। श्रमिक ऐनको उल्लंघन, भ्रष्टाचार, मुद्रा अपचलनलगायत युनुसमाथि लागेका आरोप हुन्।

हसिना के भन्छिन् भने उनी प्रधानमन्त्री भएपछि खाद्यान्न, कपडा, शिक्षा, स्वास्थ्य, रोजगारीमा बंगलादेशी नागरिकको पहुँच बढेको छ। ‘यसका लागि मैले धेरै काम गरेकी छु, गरिरहेकी छु,’ हसिना भन्छिन्। हसिनाले जेजस्तो दाबी गरेकी छन्, यसको धरातल बलियो छैन।

फ्रिडम हाउसका अनुसार हालको बंगलादेश पूर्ण लोकतान्त्रिक देश होइन। कतिले यसो पनि भन्छन्, लोकतान्त्रिक अभ्यासको कुरा छाडिदिऊँ, बंगलादेशको अर्थतन्त्र त हसिनाले बलियो बनाएकी छन्।

तर बंगलादेशको अर्थतन्त्र अझै पनि कृषि, सस्ता गार्मेन्ट उत्पादन र रेमिट्यान्समा निर्भर छ। बंगलादेशले बर्सेनि दुई अर्ब ५० करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याउँछ। रेमिट्यान्सका कारण पनि बंगलादेशलाई निकै राहत हुने गरेको छ। तेल र खाद्यान्नको मूल्य अकासिँदा बंगलादेशीलाई सहारा रेमिट्यान्सको छ।

हसिनाको लामो शासनकालमा भ्रष्टाचार पनि बढेको छ। ट्रान्सपरेन्सी इन्टरन्यासनलका अनुसार सबैभन्दा धेरै भ्रष्टाचार हुने १८० देशमध्ये बंगलादेशको स्थान १४७ औँ हो। यो सूचीमा बंगलादेश र इरानको स्थान बराबर छ भने तालिबान शासित अफगानिस्तान जम्मा एक स्थान तल छ। बंगलादेश सन् २०२६ मा अति कम विकसित देशबाट विकासशीलमा बढुवा हुँदैछ। यसमा हसिना गर्व गर्छिन्। तर यहाँ बिर्सन नहुने तथ्य के छ भने त्यसबेला एसियाका तीन देश (म्यानमार, अफगानिस्तान र क्याम्बोडिया) मात्र अति कम विकसित देशको सूचीमा रहनेछन्।

बंगलादेशका लागि ढाकामा रहेको सुकुमबासीको ठूलो संख्या अर्को चुनौती हो। तर ढाकाबाहिर भने स्थिति यस्तो नरहेको हसिनाको दाबी छ। यहाँ प्रश्न उठ्छ, हसिनाले दाबी गरेजस्तो ग्रामीण भेगमा बंगलादेशी नागरिकको स्थिति ठिकठाक रहेको भए किन उनीहरू प्रत्येक दिन दुई हजारको संख्यामा आआफ्नो थातथलो छाडेर ढाका पुग्छन्?

बंगलादेशमा अहिले दोहोरो अंकको मुद्रास्फिति छ। जसले सामान्य नागरिकको जीवनयापन कठिन बनाउँदै लगेको छ। घट्दो विदेशी मुद्रा सञ्चितिका कारण व्यापारीले दुःख पाइरहेका छन्। ‘यहाँ व्यापार गर्न सजिलो छैन। त्यही भएर अमेरिकी कम्पनीहरू लगानीका लागि अन्य एक दर्जन देशमा केन्द्रित भइरहेका छन्। यस्तोमा बंगलादेश सचेत हुन जरुरी छ,’ अमेरिकी राजदूत हास भन्छन्।

रोहिंग्या शरणार्थीलाई शरण दिएकाले विश्व राजनीतिक मञ्चमा बंगलादेशको कद बढेकै हो। म्यानमारबाट लखेटिएको यो समुदायलाई शरण दिएकाले बंगलादेशलाई विश्व समुदायले मानवअधिकार उल्लंघनको घटनामा गनगन गर्न चाहेन। ‘तर घरेलु राजनीतिमा हसिना सरकारको ज्यादती बढेको बढ्यै भएपछि भने पश्चिमा चुप लागेर बस्न सकेनन्,’ गांगुलीको बुझाइ छ।

निर्वाचन आउनै लाग्दा बंगलादेशमाथि पश्चिमा जगत्को दबाब बढ्दो छ। सुरक्षा व्यवस्था कायम गर्ने नाममा बंगलादेशी प्रहरीको दमन पनि बढेको छ। यसको सीधा असर रोहिंग्यामाथि परेको छ। ‘अहिले हामीमाथि म्यानमार फर्कने दबाब छ। हामी मरौँ कि बाँचौँ! बंगलादेशलाई केही मतलब छैन। उनीहरू बस् ठाउँ खाली गर्न चाहन्छन्,’ ५४ वर्षीय रोहिंग्या शरणार्थी सोरिफ हुसेन भन्छन्।

गत डिसेम्बरमा प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका विपक्षी कार्यकर्ता। तस्बिर : एएफपी

रोहिंग्याका विषयमा आफू गम्भीर रहेको बताउँछिन्, हसिना। ‘करिब ६ वर्ष म र मेरो बहिनी बंगलादेशबाहिर शरणार्थी भएर बसेका थियौँ। यसकारण शरणार्थी हुनुको पीडा मलाई थाहा छ,’ हसिना भन्छिन्। तर व्यवहारमा उनी फरक छिन्। उनको सरकार शरणार्थीलाई औपचारिक शिक्षा लिन दिँदैन। न त दैनिक रोजगारीको अनुमति दिन्छ। बरु रोहिंग्यालाई गरिएको स्वागतको म्याद अब सकिएको छ।

‘रोहिंग्या शरणार्थी हाम्रा लागि बोझ हुन्। हो, हामीलाई संयुक्त राष्ट्रसंघ र अन्य संस्थाले सहयोग गरिरहेका छन्। तर रोहिंग्यालाई म्यानमार फर्काएर त्यहीँ पनि जीवनयापन गर्न सहयोग गर्न सकिन्छ,’ हसिनाको भनाइ छ।

हुन पनि रोहिंग्या समस्या बंगलादेशले समाधान गर्नुपर्ने होइन। उसले सक्दा पनि सक्दैन। यो समस्या त विश्व समुदायले हल गर्नुपर्ने हो। तर अमेरिका बंगलादेशप्रति नकारात्मक हुन थालेसँगै रोहिंग्या समस्या हल हुने सम्भावना पातलिँदैछ। फेरि इतिहासमा फर्कने हो भने महत्त्वपूर्ण घडीमा अमेरिका बंगलादेशको साथमा थिएन। बंगलादेशको स्वतन्त्रताको लडाइँमा अमेरिका पाकिस्तानको साथमा थियो। त्यसबेला अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका लागि पाकिस्तान सबैभन्दा महत्त्वपूर्ण मित्र थियो।

इतिहास बिर्सिएर बंगलादेशले अमेरिकासँग मित्रता गाँसेकै हो। यसो गर्दा बंगलादेशले भारत र रुसलाई बिर्सिएन। चीनसँगको सम्बन्ध पनि बलियो छ। खासमा बंगलादेशले यी सबै शक्तिसँग सन्तुलित सम्बन्ध राख्न सकेको छ। यसो गर्न सकेकोमा बंगलादेशको प्रशंसा गर्नैपर्छ। आजको दिनमा पनि बंगलादेश र रुसबीच जनस्तरमा सम्बन्ध छ।

पछिल्ला दिनमा वासिङ्टनको दबाबका कारण बंगलादेश मस्को र बेइजिङसँग थप नजिक पुग्ने परिस्थिति खडा भएको छ। संयुक्त राष्ट्रसंघमा युक्रेन युद्धमाथि भएको मतदानमा अनुपस्थित भएर बंगलादेशले यसको छनक दिइसकेको छ। ‘हामीले एकपल्ट रुसविरुद्ध मतदान गर्‍यौँ। अर्कोपल्ट मत दिएनौँ। हामी यो मुद्दामा प्रस्ट छौँ,’ हासिना भन्छिन्।

ढाकाले लिएको रणनीतिको सन्देश स्पष्ट छ, उ कसैलाई चिढ्याउन चाहँदैन। एकातिर बंगलादेश प्रतिबन्धित रुसी जहाजलाई आफ्नो बन्दरगाहमा प्रवेश दिँदैन भने अर्कातिर रुसी विदेशमन्त्रीलाई ढाकामा स्वागत गर्छ, रुसी सरकारी कम्पनीलाई आणविक भट्टी निर्माणको जिम्मा दिन्छ। गत अक्टोबरमा त रुसले बंगलादेशलाई युरेनियम आपूर्ति नै गर्‍यो। युक्रेन युद्धलाई लिएर बंगलादेशले कुनै पक्षको समर्थन गरेको छैन। ‘यो युद्ध रोकिनुपर्छ। पुटिनले हमला रोक्नुपर्छ। अमेरिकाले युक्रेनलाई उक्साउन बन्द गर्नुपर्छ। युद्ध जारी राख्न हतियार र पैसा दिनु हुँदैन। बरु पैसा युद्धबाट पीडित बालबालिकाका लागि छुट्याइनुपर्छ,’ हसिना प्रस्ट पार्छिन्।

हसिना सरकारले साइबरसम्बन्धी नयाँ ऐन ल्याएको छ। विपक्षी दलहरूले जसको चर्को आलोचना गरिरहेका छन्। यसमा हसिना स्वयं पनि रक्षात्मक भएकी छन्। ‘सरकारले जे गरे पनि एउटा समूहले विरोध गर्छ नै,’ हसिना भन्छिन्। आफू र सरकारमाथि भइरहेको आलोचना हसिना तत्कालै खण्डन गरिहाल्छिन्। कतिपय आलोचनाको खण्डन गरिरहँदा उनी आफ्नो परिवारले गरेको योगदान बिर्सन नहुने बताउँछिन्।

टाइमसँगको अन्तर्वार्तामा पनि उनले आफ्नो पिताको हत्याको विषय पटकपटक उप्काएकी छन्। राष्ट्रपिता मानिने मुजिबलाई नायक बनाउने प्रयास उनी हरबखत गर्छिन्। सरकारी वेबसाइटदेखि कार्यालयसम्ममा मुजिबको तस्बिर छुटेको छैन। ढाकाको अन्तर्राष्ट्रिय टर्मिनलमा एउटा ठूलो स्क्रिन राखिएको छ, जहाँ मुजिबका अभिव्यक्ति गुञ्जिरहन्छन्। ‘म मेरा पिताको सपना साकार पार्न चाहन्छु,’ हसिना भन्छिन्।

मुजिबले बंगलादेशका लागि केके सपना देखेका थिए? लोकतान्त्रिक बंगलादेश भने उनको सपना पक्कै थिएन। किनभने आफ्नो हत्या हुनु ६ महिनाअघि उनले बंगलादेशका सबै राजनीतिक दल खारेज गरिदिएका थिए। एकल पार्टी व्यवस्थाको स्थापना गर्दै देशमा संकटकाल लगाएका थिए। मुजिबले स्थापना गरेको त्यो व्यवस्थालाई बक्सल भनिन्थ्यो।

हाल मुजिब पुत्री हसिनाले बंगलादेशमा बक्सलको दोस्रो अध्याय सुरु गर्न चाहेको आरोप लगाइँदैछ। यस्तो आरोप हसिना आफैँले दिएको अभिव्यक्तिका कारण पनि बलियो भएको हो। उनी बंगलादेशको लोकतन्त्र ‘ग्रे जोन’ मा रहेको बताउँछिन्। ‘लोकतन्त्रको व्याख्या सर्वमान्य हुँदैन देशअनुसारको हुन्छ,’ हसिनाको तर्क छ।

कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो तर्क दिए झसंग हुनैपर्छ। त्यसमाथि बंगलादेश त निर्वाचनमा होमिँदै गरेको देश हो। हसिना अवश्य पनि जित्नैपर्ने लक्ष्य बोकेर निर्वाचनको मैदानमा उत्रनेछिन्। विपक्षी दलहरू मौका पर्खिएर बसेका भएर पनि हसिनाका लागि चुनावी असफलता विकल्प होइन। ‘लोकतान्त्रिक व्यवस्थाभित्र रहेर मलाई मिल्काउन सजिलो छैन। मेरो हत्या गरे भिन्दै कुरा,’ हसिना भन्छिन्, ‘फेरि म डराउने मान्छे पनि होइन। म आफ्नो देश र जनताका लागि मर्न तयार छु।’

[अमेरिकी म्यागजिन टाइममा प्रकाशित सामग्रीको भावानुवाद]

इमरानलाई नफापेको ‘हाइब्रिड शासन’

प्रकाशित: २१ कार्तिक २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =