राजनीतिमा लागे बंगलादेश क्रिकेटका कप्तान हसन

हिमाल प्रेस ३ मंसिर २०८० १३:३२
32
SHARES
राजनीतिमा लागे बंगलादेश क्रिकेटका कप्तान हसन

काठमाडौँ- बंगलादेश क्रिकेट टिमका कप्तान समेत रहेका सुपरस्टार शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा लागेका छन्। आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ दल बंगलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामांकन माग गरेका छन्।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामांकन फाराम लिएका छन्। प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन्।

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, ‘उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ।’ शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ। नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने माग गरेका छन्।

पछिल्लो १५ वर्षदेखि १७ करोड जनसंख्या भएको बंगलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ। यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेमा उनी चौथोपटक सत्तामा फर्कने करिब करिब निश्चित छ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गर्न सफल भएकी छन्। तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन्। साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्।

क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन। यद्यपि खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो।

पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिामा प्रवेश गरेका थिए। सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए। राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ विश्वकपमा बंगलादेशको नेतृत्व गरेका थिए।

तीन वटै ढाँचामा बंगलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन्। सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृंखला छोड्न बाध्य बनाएको छ। उनलाई विश्वकपमा श्रीलंका विरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो।

सोही प्रतियोगितामा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए। उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलो पटक टाइम आउट भएका थिए।

प्रकाशित: ३ मंसिर २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =