बीपी स्मृति भवनलाई जुट्यो तीन करोड

हिमाल प्रेस २१ कार्तिक २०८० ९:५९
14
SHARES
बीपी स्मृति भवनलाई जुट्यो तीन करोड

बागलुङ- बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बीपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ। बीपी स्मृति भवन निर्माणका लागि हालसम्म झन्डै तीन करोड रुपैयाँ सहयोग रकम संकलन भएको छ।

बीपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ। सहयोग संकलन गरिएको तीन करोड रुपैयाँमध्ये ७५ लाख रुपैयाँ सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ। गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ।

अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ। हालसम्म भवन निर्माणमा झन्डै एक करोड रुपैयाँ खर्च भइसकेको अध्यक्ष आचार्यले बताए।

उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट ५० लाख रुपैयाँ, बागलुङ नगरपालिकाबाट २० लाख रुपैयाँ र जैमिनी नगरपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ। यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट एक करोड ५९ लाख रुपैयाँ र जापानबाट ५० लाख रुपैयाँ संकलन भएको छ।

‘सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ’, अध्यक्ष आचार्यले भने, ‘अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ।’ नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग संकलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताए।

प्रकाशित: २१ कार्तिक २०८० ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =