वर्तमान व्यवस्थाको चित्रण गरिएको नाटक- ‘नेता जी’

विवेक विवश रेग्मी २० कार्तिक २०८० २०:१०
178
SHARES
वर्तमान व्यवस्थाको चित्रण गरिएको नाटक- ‘नेता जी’

इटहरी- इटहरीमा जारी ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को दोस्रो दिन सोमबार साँझ नाटक ‘नेता जी’ प्रस्तुत गरिएको छ।

कलालय इटहरीको आयोजनामा आइतबारदेखि सुरु भएको नाटकको दोस्रो दिनको तेस्रो नाटक ‘नेता जी’ प्रस्तुत गरिएको हो। इटहरीस्थित किरात राई यायोख्या ‘तायारिप्ची’ भवनमा उक्त नाटक प्रस्तुत गरिएको हो।

नाटकले वर्तमान राज्य व्यवस्थाको चित्रण गरेको छ। देशमा रोजगारीको सिर्जना नहुनु, महंगी दिनानुदिन वृद्धि हुनु, भ्रष्टाचार व्याप्त हुनु, देशमा जताततै असुरक्षा हुनु र यही बीचमा नेताको चाकडी गरिएको दृश्यलाई नाटकमा देखाइएको छ। खासगरी नाटकले वर्तमान अवस्थाको राजनीति र जनताले भोगिरहेको अवस्थालाई चित्रण गरेको छ।

नेपथ्यबाट झ्याम्टा बज्छ, ठूलो आवाजमा। एकएक गर्दै कलाकारहरू भेटिन्छन्, मञ्चमा। नाटक प्रस्तुत भइरहे पनि साँच्चिकै दृश्य हो कि भन्ने अनुभूत हुन्छ। कलाकारहरूले नाटक गरे पनि पैसा नपाएको र कलाकारमध्येको नेताले आफूहरूलाई ‘हेपेको’ दृश्य देखाइन्छ।

तर, पटकपटक नाटक गर्न कलाकार खोजी गरे पनि कलाकार नभेटिनु र कथा उपयुक्त छनोट हुन नसकिएको दृश्यलाई नाटकमा प्रस्तुत गरिएको छ।

बेलाबेला चर्को स्वरमा रोजगारी सिर्जना गर!, भ्रष्टाचार नियन्त्रण गर!, सुरक्षा कायम गर!, महंगी नियन्त्रण गर!, नेता जी मुर्दाबाद!, नेता जी जिन्दावादजस्ता नारा प्रस्तुत हुन्थे। यसबीचमा कलाकारहरूले प्रस्तुत गरेका संवादले दर्शकको ध्यान खिच्यो।

नाटकमा दीक्षा चौधरी, दीपा पोखरेल, प्रदीप दाहाल, रबिन चिमरिया, निशान राई, अतीत निरौला, नीरज कार्की, समीक्षा दाहाल, अशोक गौतम र सुरेश बिद्रोहीले अभिनय गरेका छन्।

नेपथ्यमा सबिन भट्टराई र विकास पराजुली रहेका छन् भने नाटकलाई भरत कार्कीले निर्देशन गरेका छन्। उक्त नाटक आरोहण गुरुकुलले प्रस्तुत गरेको हो। मैथिली नाटकार रामभरोस कापडी ‘भ्रमर’को नाटक ‘आवैछेको’ अर्थात् नेताजीले समाजमा भएगरेका समसामयिक विषयवस्तुलाई उठान गरेको छ।

इटहरीमा आइतबारदेखि सुरु भएको दोस्रो अन्तरदेशीय साझा रंगमञ्चको पहिलो दिन भने भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए। कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो।

सोमबार बिहान दमक थियटरको प्रस्तुतिमा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत गरिएको छ। प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको थियो।

नाटक महोत्सवको अन्तिम दिन मंगलबार (कात्तिक २१ गते) बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ। उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन्।

यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =