इटहरीको भूमिमा भारतीय रंगकर्मीको नाटक, थामिएन आँसु

विवेक विवश रेग्मी १९ कार्तिक २०८० २०:०९
220
SHARES
इटहरीको भूमिमा भारतीय रंगकर्मीको नाटक, थामिएन आँसु

इटहरी- आइतबार साँझ इटहरीको किरात राई यायोख्या ‘तायारिप्ची’ भवनभित्र विभिन्न स्थानबाट आएका कलाकार, साहित्यकार, बुद्धिजीवीहरू एकाएक गर्दै पसे। कोहीकोही भने नाटक कतिबेला सुरु हुन्छ भनेर छट्पटिरहेका थिए। हलभित्र पसेको केहीबेरमै नाटक सुरु भयो। तर, विडम्बना थियटर भएको भए नाटक प्रस्तुत गर्न र हेर्न छुट्टै मज्जा हुने थियो। इटहरीमा भने नाटक घर नहुँदा कार्यक्रम हलभित्र कुर्सीको आवाज शान्त हुनै केही समय लाग्यो।

इटहरीमा आइतबारदेखि तीनदिने अन्तरदेशीय नाटक महोत्सव सुरु भएसँगै पहिलो दिन भारतको पश्चिम बंगालका कलाकारहरूले नाटक प्रस्तुत गरेका छन्। कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुतिमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो। जसको अर्थ हो, ‘आगो देऊ’। शुभ्रा रोयद्वारा निर्देशित नाटक महिलाको आर्तनादको कथा भएकाले सबै कलाकारहरू पनि महिला नै छन्।

नाटकमा शुभ्रा रोय, तानया दत्त, तनिमा सिंह रोय, मधुपूर्ण बनेर्जी, दीपा विश्वास, सुस्मिता विश्वास, मनिषा विश्वास, रिमा मण्डल, सञ्चिता हल्देर, पूजा देवनाथ, पायल बराइ, सिर्जन पल र ग्रेसी ओराओनले अभिनय गरेका छन्।

पौराणिक कालदेखि एक्काइसौँ शताब्दीसम्मको इतिहासमा महिलाहरूले भोग्नुपरेको अपमान, दुर्व्यवहार र चरम बेवास्तालाई नाटकमा मिहीन ढंगले प्रस्तुत गरिएको छ। नाटकमा आगोलाई उल्लेख गर्नुको अर्को अर्थ पीडाको आगो पनि भन्ने बुझिन्छ। पीडा मात्रै नभएर रोदनको आगो, विरोधको आगो, प्रेमको आगो र न्यानोपनको आगोलाई झल्काउने गरी नाटक प्रस्तुत गरियो। उक्त नाटक हेरिसकेपछि विभेद, हिंसा र अन्धकारविरुद्ध चेतना जगाउने विश्वास लिएको दर्शकहरूले सुनाए।

नाटक सकिएपछि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि जसराज किरातीले रंगकर्मीहरूलाई रुद्राक्षको मालासहित सम्मान गरे। भर्खरै नाटक प्रस्तुत गरिसक्दा रंगकर्मीहरूका आँखा ओभाइसकेका थिएनन्, कवि किरातीले सम्मान गर्दा त उनीहरू पटकपटक भक्कानिए। लामो समयसम्म रंगकर्मीहरूका आँखाबाट आँसु थामिएनन्।

निकै बेरसम्म दर्शकदीर्घबाट तालीको आवाज गुञ्जिएको हलले सन्देश दिइरहेको थियो कि, कलाको कुनै सिमाना हुँदैन। त्यसैले त, भारतको भूमिबाट आएर इटहरीको भूमिमा नाटक प्रस्तुत गरियो।

‘अन्तरदेशीय नाटक महोत्सवले एउटा ऊर्जावान र सकारात्मक सन्देश जाने विश्वास लिएको छु,’ किरातीले भने, ‘कला, साहित्य, संगीत भएमात्र आफू बसेको ठाउँ जीवन्त हुन्छ। यो नाटक महोत्सवले इटहरीलाई जीवन्त राख्ने विश्वास लिएको छु।’

भनिन्छ कला, साहित्य, संगीतको सिमाना हुँदैन। सिमाना हुन्छ त केवल मान्छेहरू हिँडेको गोरेटोमा। यसैको उदाहरण बनेको छ, इटहरीमा अन्तरदेशीय नाटक महोत्सव।

कलालय इटहरीको आयोजनामा सुरु भएको नाटकमा तीन दिनसम्म चार नाटक प्रस्तुत हुने अध्यक्ष सोनु जयन्तीले बताए। अब कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ। उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन्। सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ। उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन्।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ। उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन्। यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको छ। दुईदिनसम्म चलेको नाटकमा भने ‘हाउसफुल’ भएको छ।

कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलोपटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो। त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो। प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहे पनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको कलालयका अध्यक्ष जयन्तीले बताए।

प्रकाशित: १९ कार्तिक २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =