बढ्दै चिसो, आकाशमुनि जाजरकोटवासी

हिमाल प्रेस १९ कार्तिक २०८० ८:३४
4
SHARES
बढ्दै चिसो, आकाशमुनि जाजरकोटवासी फाइल तस्बिर : हेमन्त केसी/रासस

जाजरकोट- शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका-३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँझायो। उनले भूकम्पको त्यो धक्काको त्रास सम्झिएर शनिबार राति पनि आनन्दले सुत्न पाइनन्।

उनको परिवारमा भूकम्पको त्रास छ। बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ। उनको परिवार खुला आकाश मुनि रात बिताइरहेको छ। उनको परिवारका कोही सदस्य अस्पतालमा बिरामी (घाइते) कुरुवा बसेका छन्।

उनीहरूको पनि त्रास हटेको छैन। पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए। राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकमा सरेको छ। पटकपटक गइरहेका पराकम्पले सडकमा पनि उनी त्रसित देखिन्छन्।

यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्कोपट्टि उनीलगायत थुप्रै परिवार सुतिरहेका छन्। कात्तिकको चिसोले उनीहरूलाई सताइरहेको छ।

त्यही चिसोमा खलंगालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास छ। कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताए। घरभित्र बसीसाध्यै छैन, उनले भने, ‘पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ।’

जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिकाका वडा नम्बर १ देखि ८ सम्म, भेरीका वडा नम्बर १, ३ र ४ का अधिकांश घरमा क्षति पुगेको छ। त्यस्तै छेडागाड, कुशे र बारेकोटका अधिकांश घरमा क्षति पुगेको छ।

यहाँका सर्वसाधारणका घर बस्नयोग्य छैनन्। मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ। नलगाडमा मात्र भूकम्पका कारण ५२ जनाको ज्यान गएको छ। त्यस्तै भेरी नगरपालिकामा ४२ जनाको ज्यान गएको छ।

छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइतेलाई बाहिर सुविधा सम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य घाइतेको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ। केहीले उपचार नपाएको समेत बताएका छन्। छेडागाड-७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी नै बताउँछन्। त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए।

त्यस्तै गाउँगाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अनुमान गरिएको छ। पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो। अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन्।

भौतिक रूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्यांक आउन सकेको छैन। अधिकांश मृतकको सनाखत अझै हुन सकेको छैन। अहिलेसम्म पालिकाको नाम र संख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिएका छन्।

शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ। राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उनले बताए। प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =