भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई सरकारले १० करोड रुपैयाँ सहायता उपलब्ध गराउने

हिमाल प्रेस १८ कार्तिक २०८० १४:५०
4
SHARES
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई सरकारले १० करोड रुपैयाँ सहायता उपलब्ध गराउने

काठमाडौँ- सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुमपश्चिमलाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच-पाँच करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

त्यसका लागि सरकारले आवश्यक निर्णय गरिसकेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको हो।

कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रदेश सरकार र जिल्ला व्यवस्थापन समितिलाई भनिएको पनि बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले बताए।

‘जिल्ला विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रबाट आवश्यक सम्पूर्ण जनशक्ति खटिइएका छन्। संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पीडितको खोजी, उद्धार र राहतका काम अगाडि बढाइरहेका छौँ,’ उनले भने। भूकम्पका कारण अवरुद्ध सडक केही घन्टाभित्रै खुलाउने गरी सडक विभागलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।

भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचारका निम्ति चिकित्सक प्रभावित क्षेत्रमा पुगिसेकेको, स्वास्थ्य सामग्रीका साथै औषधि प्रभावित क्षेत्रमा पुगिसकेको उनको भनाइ छ। ‘थप सामग्री आवश्यक परेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै व्यवस्था गर्ने निर्णय भएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।

मृतकको शव व्यवस्थापनका लागि विशेष टोली खटिइएको जानकारी दिँदै उनले सो टोलीले मुचुल्कासहित आवश्यक सदगत्को व्यवस्था गर्ने बताए। उद्धारका लागि सबै सुरक्षा निकाय खटिइएको, थप सुरक्षा बल त्यसतर्फ पठाइने उनले जानकारी दिए।

जाजरको र रुकुम पश्चिममा गएराति गएको भूकम्पमा परी हालसम्म १३६ जनाको मृत्यु तथा १६१ जना घाइते भएको विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: १८ कार्तिक २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =