किन बढिरहेको छ सुनको मूल्य?

मस्त केसी १३ मंसिर २०८० १८:१८
18
SHARES
किन बढिरहेको छ सुनको मूल्य? सांकेतिक तस्बिर।

विश्व बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ। ‘कमोडिटी मार्केट’का जानकारहरू आगामी वर्ष मूल्य झन् बढ्ने बताउँछन्। किन त?

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको छ। यो मूल्य आजसम्मको सबैभन्दा धेरै हो। मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७०० मा कारोबार भएको थियो। यसरी हरेक दिन सुनको मूल्यले रेकर्ड राख्दै गएको छ। मंसिरमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० बढेको छ। मंसिर १ गते १ लाख १५ हजार ५०० मा कारोबार भएको थियो।

बुधबार अपराह्नसम्म विश्व बजारमा सुनको मूल्य प्रतिऔँस २०४४.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ। एक औँसमा २८.३४ ग्राम सुन हुन्छ। १३ नोभेम्बर (कात्तिक २७ गते) विश्व बजारमा सुन प्रतिऔँस १९३६.५४ अमेरिकी डलरमा कारोबार भएको थियो। सरी विश्व बजारमा सुनको मूल्य तीव्र रूपमा बढिरहेको छ। जसको असर नेपालमा देखिएको हो। नेपालमा प्रयोग हुने शतप्रतिशत सुन आयातित हो।

विश्वबजारमा सुनको मूल्य किन बढिरहेको छ त?

पछिल्लो दुईतीन वर्षमात्रै विश्व अर्थतन्त्रले विभिन्न किसिमका अवरोध खेप्यो। कोरोना महामारीले लामो समय विश्व अर्थतन्त्र ठप्प रह्यो। त्यसलगत्तै युक्रेन-रसिया र इजरायल-प्यालेस्टिन युद्ध सामना गरिरहेको छ। बैंक ब्याजदर उकालो लाग्यो। आपूर्ति प्रणाली प्रभावित बन्यो।

जसले गर्दा लगानीकर्ता अन्य व्यवसायभन्दा सुनमा आकर्षित भएका छन्। लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रको रूपमा अंगाल्दै लगानी बढाएका छन्। युद्धले प्रत्यक्ष असर नगर्ने र सुरक्षित ‘कमोडिटी’ भएका कारण सुन खरिद गर्नेको संख्या बढ्दो छ।

डच बैंक आईएनजीकी कमोडिटी विभाग प्रमुख इवा म्यान्थ्योले फाइनान्सियल टाइम्ससँग भनेकी छन्, ‘अमेरिकी बजारले सुनको मूल्य बढी प्रभावित गर्छ। डलरको मूल्य, बैंकको ब्याजदर, युद्धलगायत कारण अहिले अमेरिकीहरू अन्य क्षेत्रभन्दा सुनमा लगानी गरिरहेका छन्।’ उनले सन् २०२४ को पहिलो त्रैमाससम्म सुनको मूल्य बढिरहने प्रतिक्रिया दिएकी छन्।

अर्को कुरा भारतजस्तो ठूलो देशमा विवाहको सिजन सुरु भएको छ। जसले सुनको माग एसिया क्षेत्रमा उच्च छ। चीनमा नयाँ वर्ष र क्रिसमसका कारण पनि सुनको खपत बढेको छ। अर्थशास्त्रको नियमले भन्छ- माग बढेपछि मूल्य स्वतः बढ्छ।

अन्तर्राष्ट्रिय वित्त प्रणालीमा ‘डी-डलराइजेसन’ का कारण पनि सुनको मूल्य बढाएको छ। पछिल्लो समय ठूलो अर्थतन्त्र भएका र राजनीतिक रूपमा पनि शक्तिशाली देशहरू वैदेशिक व्यापारका क्रममा अमेरिकी डलरको विकल्पमा आफ्नै मुद्राको प्रयोग गर्ने तयारीमा छन्। रुस, चीन, इरान, ब्राजिल, भारतलगायत देश डलरको विकल्पमा आफ्नै मुद्रा चलाउनुपर्ने तीव्र ‘लबिङ’मा छन्।

आफ्नै मुद्रामा अहिले धेरै देशले इन्धनको कारोबार गरिरहेका छन्। विश्व पूर्ण रूपमा ‘डी-डलराइजेसन’ मा गयो भने त्यसले सुनको भाउलाई अझै प्रभावित पार्न सक्ने देखिन्छ। जसले गर्दा भोलि बढ्ने आसले खरिदकर्ताहरू सुनमा खनिएका छन्।

नेपालजस्ता देशमा सुनको मूल्य बढ्नुको कारण आन्तरिक मुद्राको अवमूल्यनले पनि हो। नेपालको विदेशी मुद्रा विनिमय दर लगातार घट्दो छ। बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य १३३.६४ रुपैयाँ कायम गरेको छ।

सुनको मूल्य लगातार उकालो लागे पनि नेपाली बजारमा यसको खपत घटेको छैन। भन्सार विभागका अनुसार साउन महिनामा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको करिब दुई सय किलो सुन आयात भएको छ।
भदौमा झन्डै तीन गुणाले बढेर ४ अर्बभन्दा बढी मूल्यको करिब पाँच सय किलो सुन आएको छ। साउन-कात्तिकको अवधिमा मात्रै १० अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको देखिन्छ।

प्रकाशित: १३ मंसिर २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =