इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर अस्ट्रिया प्रस्थान

हिमाल प्रेस १० मंसिर २०८० १०:२७
48
SHARES
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर अस्ट्रिया प्रस्थान

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अस्ट्रिया प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन आज आइतबार बिहान कुँवर अस्ट्रिया प्रस्थान गरेका हुन्।

इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म महासभा संचालन हुँदैछ।

सभामा सहभागी हुन कुँवरसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीसमेत त्यसतर्फ प्रस्थान गरेका छन्।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन्।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ। साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिवबिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रमसमेत रहेको छ।

कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित: १० मंसिर २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =