अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा नेपाली खेलाडी विजयी

विजय नेपाल ९ मंसिर २०८० २१:३१
2
SHARE
अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा नेपाली खेलाडी विजयी

पोखरा- ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल उद्देश्य साथ पर्यटकीय नगरी पोखरामा शनिबार अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन्।

विभिन्न ४ इभेन्टमा भएको दौडमध्ये टिम इभेन्टमा नेपाली खेलाडी पहिलो, दोस्रो र तेस्रो हुँदा चिनियाँ टिम चौथो भयो। सुमन कुलुङ, रमेश लिम्बू र इन्द्रकला नेम्वाङ सम्मिलित टिम पहिलो भएको हो। दोस्रो वसन्त थारू, मुकेश थारू र श्रेवी महर्जनको टिम भयो।

नेपालकै श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगरको समूह तेस्रा हुँदा चीनका ली काइछी, यान चुनजेन र जो किङको समूह चौथो बन्यो। नेपालका गजेन्द्र राई, गोपाल तामाङ र ज्ञानु चौधरीको समूह पाँचौँ भयो।

 

फेवाताल किनार वाराहीघाटदेखि सुरु भएको ४० किमि निर्धारित दूरीअन्तर्गत धावकले दौड, साइक्लिङ र डुंगादौड पूरा गरेका हुन्। जसमा वाराहीघाटदेखि सुरु दौड बिरौटा, फ्रुसेखोला, मट्टिखान रिसोर्ट, कुभिण्डे भन्ज्याङ उल्लेरी, भुम्दी, ओख्लेडाँडा, लुकुन्स्वाँरा, पुम्दीकोट, शान्तिस्तूप गौरी प्रावि, फेवाताल पारि लिचीबोट हुँदै वाराहीघाटसम्मको रुट तय भएको थियो।

प्रतियोगितामा १४ समूहमा ४२ जनाले भाग लिएका थिए। सो इभेन्टका विजेतालाई शनिबार राति आयोजित समापन समारोहमा पहिलो हुनेलाई तीन लाख ६० हजार, दोस्रोलाई दुई लाख ८८ हजार, तेस्रोलाई दुई लाख १६ हजार र चौथोलाई एक लाख ४४ हजारसहित पुरस्कृत गरियो।

७६ जनाले भाग लिएको व्यक्तिगत इभेन्टतर्फ नेपालका होमलाल श्रेष्ठ पहिला भए। उनले निर्धारित ३८ किमि दूरीको दौड २ घण्टा ३३ मिनेट ४२ सेकेन्डमा पूरा गरेका हुन्। दोस्रो वेदबहादुर सुनार र तेस्रामा तीर्थबहादुर तामाङ भए। करण रावल चौथो हुँदा चीनका म जाओजिन पाँचौँ भए।

महिलातर्फ नेपालकै मञ्जु रावतले निर्धारित ३८ किमि दूरी ३ घन्टा २४ मिनेट २० सकेन्डमा पूरा गर्दै पहिलो भइन्। दोस्रो पदमकुमारी सुनुवार हुँदा चीनकी चेङ जुनेइ तेस्रो भइन्। सिर्जना कुलुङ चौथो र चीनकी जोन सुही पाँचौँ भए। दुवैतर्फ १० सम्म परेकालाई नगदसहित पुरस्कृत गरियो।

व्यक्तिगततर्फ पुरुष तथा महिला विजेताले जनही एक लाख ४४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे उपविजेताले एक लाख आठ हजार, तेस्रो हुनेले ५४ हजार र चौथौदेखि सातौँसम्मले १८ हजार र आठौँदेखि दसौँसम्मले नौ हजार रुपैयाँ पुरस्कार पाए।

चार सय ३० भन्दा बढी सहभागी विद्यार्थी दौडमा कुमदिनी होम्स पोखराका कृष्ण परियार र छोरेपाटन माविकी नारायणी भण्डारी पहिला भए। उनीहरूले जनही २५ हजार प्राप्त गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय फ्रेन्डसिप सिरिज् लिगका रूपमा फेवाताल किनार वाराहीघाट खेल मैदानमा आयोजित समारोह गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले संयुक्त उद्घाटन गरेका थिए।

वारहर्स नेपाल–पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड कम्पिटिसन नाम दिइएको सो दौड नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त आयोजना गरेका हुन्। पोखरा होटल संघ यसको सहआयोजक हो ।

प्रतियोगितामा टिम, इन्डिभिजुअल, विद्यार्थी र ह्याप्पी रन गरी चार विधामा आयोजना गरिएको क्रस कन्ट्रीका संस्थापक समेत रहेका विश्वशंकर पालिखेले बताए। चिनियाँ धावक हिमालय एयर चार्टर्ड गरी बिहीबार पोखरा विमानस्थल उत्रिएका थिए।

प्रकाशित: ९ मंसिर २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =