विष्णु सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’

हिमाल प्रेस ९ मंसिर २०८० २०:४१
66
SHARES
विष्णु सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’

काठमाडौँ – राजनीतिमा कलम चलाउँदै शासक र प्रशासकहरूलाई प्रश्न गर्दै आएका विष्णु सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’ शनिबार प्रज्ञाप्रतिष्ठानको डबलीमा लोकार्पण भएको छ। कार्यक्रममा सापकोटा स्वयं र साहित्यकार मञ्जुश्री थापाले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

लेखक सापकोटा साहित्यका विद्यार्थी हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट साहित्यमा एमफिल गरेका हुन्। उनी दर्शन र सिद्धान्तमा रुचि राख्छन्। यतिबेला उनी अन्तराष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिका रहेर कम्बोडियामा विकाससम्बन्धी काममा कार्यरत छन्। उनी अमेरिकाका विश्वविद्यालयमा भिजिटिङ फेलो पनि हुन।

सापकोटाले उपन्यास लेख्छु भनेर थालनी नगरिएको बताए। उनले भने, ‘मेरो सपनामा एक चिज आयो त्यो स्मरणमा रहिरहने भयो । त्यसलाई अन्त्य गर्न मैले उपन्यास लेख्नैपर्ने भयो र लेखेँ। आजबाट पात्रलाई बिदा गरेको छुु,’ उनी भावुक भएर भने।

सापकोटाले अंग्रेजी साहित्यसँग सम्बन्धित लेखहरू अंग्रेजी दैनिक  रिपब्लिका र दि काठमाडौँ पोस्टमा प्रकाशति भएका छन् भने नेपालीमा उनले विदेशी पुस्तकको समीक्षा गरेको अर्काइभमा पढ्न सकिन्छ। पछिल्लो समय उनले नेपाली दैनिकमा राजनीतिक लेख लेख्न थाले। उनको लेखहरु सबै तन्तु जोडिएको हुन्छ। त्यसैले उनको पहिचान राजनीतिक विश्लेषकका रूपमा रहेको छ।

सापकोटाले अंग्रेजी साहित्य पढ्ने विद्यार्थीलाई धोका दिएझैँ लागेको भए पनि उनले ढिलै भए पनि एउटा खुराक दिएका छन्। त्यही खुराक उनलेअन्यले झैँ राजनीतिकर्मी वा कोही हस्ती ल्याएर होइन आफ्नै समकालीनबाट सार्वजनिक गराए।

लेखक थापाले उनको पुस्तकबारे भनिन्, ‘विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो। उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो। तर पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर नजिकबाट लेख्न मिल्छ। प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट उपन्यासमा दर्साउन उहाँ सफल हुनुभएको छ।’

बौद्धिक तहका युवाको एउटा पुस्ताको चित्रणका रूपमा उपन्यासलाई पाएको उनले बताइन्। पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको पाइन्छ। ‘क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो। यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवापुस्ताले खोजेको परिवर्तन र उनीहरूमा रहेको दुविधाको राम्ररी चित्रण गरिएको छ,’ थापाले भनिन्, ‘हाम्रो समाज कति तरल छ भनेर त्रिविका माध्यमबाट देखाइएको छ।’

पत्रकार एवं लेखक नारायण वाग्लेले यस उपन्यासमा प्रेममा राजनीति र राजनीतिमा प्रेमको चित्रण रहेको प्रस्ट पारे। ‘पात्रहरू सबै एउटै तरिकाले बोल्छन् भन्नु यो उपन्यासको एउटा आलोच्य पक्ष होला, तर यो कथाको यो पनि एउटा शैली साबित हुन पुग्नेछ,’ उनले भने, ‘यसमा कीर्तिपुरको गजब चित्रण छ, जो भोगेर मात्र लेख्न सकिन्छ।’

प्रकाशित: ९ मंसिर २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =