राजतन्त्र फर्किने आसमा उपत्यका छिरेकाहरू [भिडियोसहित]

रमेश भारती ७ मंसिर २०८० १६:३३
808
SHARES
राजतन्त्र फर्किने आसमा उपत्यका छिरेकाहरू [भिडियोसहित]

काठमाडौँ- महोत्तरीका ६८ वर्षीय चन्द्रकान्त झालाई अझ पनि नेपालमा राजतन्त्र फर्किने आस छ। उनी यही विश्वासमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरेको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका छन्। बल्खुचोकमा बिहीबार आयोजित विरोध प्रदर्शनमा भेटिएका झाले नेपालमा चाँडै राजतन्त्र फर्किने बताए।

‘नेपालमा राजतन्त्र आउनुपर्छ र आउँछ जस्तो लाग्छ। लोकतन्त्रले देश र जनतालाई पीडामा मात्र दियो। ढिलै भए पनि दुर्गा प्रसाईले राजतन्त्र र हिन्दु राज्यको मुद्दा उठाएर ठिक गरेका छन्।’ उनले आफूलाई गणतन्त्रभन्दा राजतन्त्र मन पर्ने बताए। नेपालका लागि हिन्दू राज्य आवश्यक रहेको उनको भनाइ छ। ‘नेपाल हिन्दू राज्य हुनुपर्छ। यसैका लागि प्रसाईको आन्दोलनमा आएको हुँ।’

प्रदर्शनमा भेटिएका मोरङका बिर्खे कामी पनि नेपालको अवस्था बिग्रिएकाले राजतन्त्र र हिन्दू राज्य फर्काउने आन्दोलनमा सहभागी भएको बताउँछन्। राजनीतिक दलका नेताले भष्टाचार मात्र गरेकाले राजतन्त्र चाहिने उनले बताए।

‘हिन्दू राज्य नेपाललाई नेताले कसरी खाए? हामीलाई थाहा छ’, उनले भने। आफ्नो धार्मिक अधिकार खोसिएको गुनासो उनको छ। सोही कारण पनि आन्दोलनमा आउनुपरको उनको दाबी छ।

‘नेपाल राजतन्त्र भएको देश हो। राजा जिउँदै छन्। गणतन्त्र त नाम मात्रको छ। हामीले स्वीकारेका छैनौँ। अब आन्दोलनबाट राजतन्त्र आउँछ’, उनले भने। लोकतन्त्र आएपछि आफूले भोटसमेत नहालेको कामीले बताए।

प्रदर्शनस्थलमा भेटिएका ललितपुरका वीरबहादुर क्षेत्री पनि राजतन्त्र र हिन्दू राज्य फर्किनेमा ढुक्क देखिएका थिए। उनले नेपालमा राजतन्त्र आवश्यक भएको बताए। ‘लोकतन्त्रमा जनताले दुःखमात्र पाए। धेरै राजा भइरहेका छन्। जनताले कति राजा पाल्न सक्नु? त्यही भएर एउटा राजा भएकै ठिक छ’, उनले भने, ‘नेपालको परिचय भनेकै हिन्दू राज्य र राजतन्त्र हो।’ धेरै गणतन्त्रवादी नेतासमेत राजतन्त्र र हिन्दू राज्य आवश्यक छ भन्न थालेको उनको दाबी छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का नाममा प्रसाईले काठमाडौँको बल्खुमा बिहीबारदेखिमा विरोध प्रदर्शन सुरु गरेका छन्।

आन्दोलनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट समर्थकहरू राजधानी आएका छन्। बिहीबारको प्रदर्शनमा करिब ३० हजार समर्थक सहभागी भएको प्रहरीको अनुमान छ। प्रसाईको आन्दोलनमा महिला र बूढापाकाको संख्या धेरै देखिन्थे। प्रदर्शनमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि पुगेका थिए।

प्रकाशित: ७ मंसिर २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =