हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

हिमाल प्रेस ७ मंसिर २०८० १२:११
6
SHARES
हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

धादिङ- आज हरिबोधनी एकादशी। काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो।

काठमाडौँका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएका देखिएको थियो।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु भगवान् आज ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।

चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ। मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगारेपछि फूलको माला लगाइदिएर तुलसीको विवाह गर्ने गरिन्छ।

तुलसीलाई विष्णुप्रिया पनि भन्ने गरिएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा रहिआएको हो। विष्णु भगवानको प्रतिकका रूपमा तुलसीको तुलसीको मठको नजिकै पारेर निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ।

हरेक वर्षको कात्तिक महिनाभर देवीदेवता तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ। हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ।

यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ। नारायणको पूजा गरी आजको दिन भक्तजनहरु फलाहार गर्ने गर्दछन्। आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रूपमा खाने गरिन्छ।

प्रकाशित: ७ मंसिर २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =